सवारीसाधनमा भएको एयर ब्याग के हो ? दुर्घटनामा ज्यान बचाउन कसरी काम गर्छ ? यो फेर्न कति खर्च लाग्छ



२०७९ साउन २२ गते ०६:४२ | Aug 7, 2022


सवारीसाधनमा भएको एयर ब्याग के हो ? दुर्घटनामा ज्यान बचाउन कसरी काम गर्छ ? यो फेर्न कति खर्च लाग्छ


काठमाडौं। नेपालमा सडकको स्थिति र भौगोलिक बनोट अरु देशको भन्दा फरक छ। सडक पूर्वाधार निर्माण भइरहेका छन्। हाम्रो जस्तो देशमा सवारी प्रयोग गर्दा होस वा खरिद गर्दा होस् सुरक्षाका यस्ता कुराहरुलाई धेरै महत्त्वपूर्ण छ।

Tata
Global Ime

गाडीमा भएको सबैधन्दा धेरै सुरक्षाको दृष्टिकोणले हेरिएको भनेको एयर ब्याग नै हो। सिट बेल्टलाई पनि प्रथामिकताका साथ हेर्ने गरिन्छ। भारतमा हाल सबै प्यासेन्जर सवारीमा ६ वटा एयर ब्याग अनिवार्य गरिएको छ। अब गाडी उत्पादक कम्पनीहरुले पनि साना प्यासेन्जर सवारीमा ६ वटा एयर ब्याग हाल्नु पर्नेछ।

यस्तै नेपालमा पनि भारत र चीनबाट धेरै सवारीसाधन खरिद गर्ने भएकाले भारतबाट अब आउने सवारी सबैमा ६ वटा एयर ब्याग उपलब्ध हुन्छन्।

किन सिक्स एयर ब्याग भारतले अनिवार्य गरेको छ भन्दा यसमा पनि कारण छ। ६ वटा एयर ब्याग भयो भयो गाडीको दुवै साइडमा कुनै पनि गाडी वा सामान ठोकिएमा एयर ब्यागले यात्रुलाई चोट लाग्नबाट जोगाउँछ। एउटा प्यासेन्जर सवारीसाधानमा ६ वटा एयर ब्याग हुनु भनेको ४ वटा ड्राइभर र प्यासेन्जरको सिटहरुमा हुन्छ। यस्तै बाकी दुई वटा एयर ब्याग गाडीको दुबै साइडमा हुन्छ। जसलाई कर्टेन्स अर्थात पर्दा जस्तै एयर ब्याग भनिन्छ। यसले गर्दा सबै साइडबाट प्यासेन्जरहरु सुरक्षित हुन्छन्।

यस भन्दा अगाडिका प्राय: जसो सबै गाडीमा २ वा ४ वटा एयरब्याग मात्र राखिएका छन्। यसमा पनि लक्जरियस गाडीहरुमा भने प्रशस्त एयर ब्याग राखिएका हुन्छन्।

सुरुमा चालकको सुरक्षाको लागि प्रयोगमा ल्याइएको एयर ब्याग प्रभावकारी भएपछि अटोमोवाइल कम्पनीहरुले एउटै गाडीमा सबै यात्रुका लागि भन्दै २-६ वटासम्म एयर ब्याग प्रयोग गरेका पाइन्छन्। विकसित देशहरुमा अधिकांश साना तथा प्यासेन्जर गाडीमा एयर ब्याग प्रयोग अनिवार्य छ। नेपालमा पनि यस्ता एयर ब्यागहरु धेरै भएका गाडीहरु खरिद गर्ने धेरै बढेका अटो व्यवसायीहरुको भनाइ छ।

नेपालमा अटोमोबाइल क्षेत्रमा काम गरिरहेका मेकानिकल इन्जिनियर दिग्विजय आचार्यका अनुसार एयर ब्याग कटनले बनेको बलुन हो। जसले दुर्घटना हुने वित्तिकै फुल्छ र यात्रु र चालकलाई चोटपटक लाग्नबाट जोगाउँछ।

दुर्घटनाका बेला सम्भावित क्षतिबाट प्यासेन्जरलाई जोगाउन सेन्सरको माध्यम बाट अटोम्याटिक रुपमा हावा भरिने बलुनलाई एयर ब्याग भनिन्छ। केही समय अगाडि यसमा डिफेक्ट देखिएको भन्दै केही कम्पनीहरुले कार फिर्ता लिएर समेत पूर्ण त्यसको समस्या समाधान गरेर ल्याएका थिए।

इन्जिनियर आचार्यका अनुसार यसले गर्दा पनि क्षतिबाट प्यासेन्जरलाई जोगाउने उपकरण एयर ब्यागमा डिफेक्ट देखियो भने काम नगर्ने समस्या हुन्छ। त्यसैले आफ्नो गाडीमा भएको उक्त एयर ब्यागले काम गर्छ गर्दैन भनेर बेला-बेलामा कम्पनीसँग बुझिराख्नु राम्रो हुने आचार्य बताउँछन्।

यसरी सवारी साधन चलाउँदा सुरक्षामा ध्यान नदिनाले धेरैले अकालमै ज्यान गुमाई रहेका छन्। गाडी किन्दा धेरैले मूल्य, माइलेज र बनोटको कुरामा ध्यान दिए पनि निकै कम मानिसले मात्र सुरक्षा तथा सेफ्टीका बारेमा बुझेर गाडी खरिद गर्ने गरेको ट्राफिक प्रहरीहरुको भनाइ छ।

एयर ब्याग भएका गाडीहरु सबै भन्दा सुरक्षीत हुने जानकारहरु बताउँछन्। यसले घटना भइहालेमा पनि एयर ब्यागले बचाउने संभावना धेरै हुन्छ। हाम्रो जस्तो देशहरुमा मध्यम वर्गले किन्न सक्ने गाडीहरुमा एयर ब्याग दुई वटा भएका वा कुनैमा त ड्राइभरलाई मात्र लक्षित गरेर मात्र राखिएको गाडीहरु धेरै पाइन्छ। 'किनभने यस्तो गाडीहरु सस्तो पर्छन। तर गाडी खरिद गर्दा यस्तोमा ध्यान नदिदा धेरै जोखिम मोलिरहेका छन्,' आचार्यले भने।

केही समय अगाडिको माहोल त्यस्तो थियो। तर पछिल्लो समय भने गाडी खरिद गर्न आउने वा बिक्रीकर्ताले यस्तो सेफ्टी फिचर्सका बारेमा ध्यान दिन थालेका छन्। यसमा सरकारले समेत सुरक्षाको विषयमा यस्ता कुराहरु अनिवार्य गर्न थालेको पाइन्छ।

व्यवसायीहरुले कुनै पनि गाडीहरु नेपालमा सार्वजनिक गर्दैछन भने उनीहरुले धेरै सुरक्षाका विशेषताहरु (सेफ्टी फिचर्स)को बारेमा बर्णन गरिएको देखिन्छ। हाल गाडी उत्पादक कम्पनीहरुले सरकारले गरेको सुरक्षाको धारणाहरुलाई प्रथामिकता दिन थालेका छन्।

दुर्घटनामा ज्यान बचाउन कसरी काम गर्छ ?

इन्जिनियर आचार्यले गाडीको दुर्घटना हुने बित्तिकै अगाडि भएको सेन्सरले प्रति माइक्रो सेकेन्ड प्रेसर काउन्ट गरेर आवश्यक भएको खण्डमा एयर ब्याग निकाल्ने काम गर्ने बताए। 'उक्त एयर ब्यागले अगाडि प्राय: छाती र टउकोलाई बचाउने काम गर्छ। गाडीको साइडमा पनि एयर ब्यागले काम गर्छ। यो सेन्सरबाट मात्र काम गर्ने प्रविधि हो,' उनले भने।

आचार्यका अनुसार सेन्सरको सिग्नलपछि एयर ब्यागको कन्ट्रोलरमा करेन्ट प्रवाह हुन्छ अनि उक्त कन्ट्रोलरमा भएको स्पार्कले केमिकल रियाक्सन अर्थात रासायनिक प्रतिक्रिया हुन्छ। जसले गर्दा नाइट्रोजन ग्यासलाई हावामा परिणत गर्न मद्दत गर्छ र उक्त हावा एयर ब्याग भित्र गएपछि बलुन बहिर आउछ। 'तर त्यो स्पार्क चाही इलेक्ट्रिक करेन्टबाट आउछ। तर त्यो सिंग्नल आउनको लागि गाडीमा भएको सेन्सर वरीपरी ठोकियो भने मात्र हुन्छ। नत्र भने केही प्रतिक्रिया देखाउदैन,' उनले भने।

यसमा सोडीएम एजाइम भन्ने रासायनिक तत्व प्रयोग गरिन्छ। यो रसायनिक तत्वमा कुनै कलर हुदैन र पानीमा सजिलै घुलनशील नुन हो। यो ठूलो मात्रामा उत्पादन गरिन्छ। यसले एयर ब्यागमा आवश्यक पर्ने ग्यास उत्पादन गर्ने गर्दछ।

जसले गर्दा नाइट्रोजन ग्यास एक सेकेण्डको दश गुणाभन्दा पनि कम समयमा भरिन्छ। अर्थात एक सेकेन्डको २ मिलि सेकेन्डमा सेन्सरले काम गर्छ। त्यसपछि २०-३० मिलि सेकेन्डमा उक्त एयर ब्याग ग्यासले भरिन्छ र १०० मिलि सेकेन्डभित्र एयर ब्याग बाहिर आउछ। 'त्यसपछि प्यासेन्जर त्यो एयर ब्यागमा ठोकिन्छन् र चोट लाग्न पाउँदैन। एयर ब्यागमा दुई वटा भेन्टहरु हुन्छन जसले गर्दा प्यासेन्जर एयर ब्यागमा ठोकिएपछि एयर ब्यागमा भएको हावा बिस्तारै बाहिर निस्किन्छ र बडीलाई सन्तुलन गर्ने काम गर्दछ,' आचार्यले भने।

आचार्यका अनुसार यो गाडीको स्टेरिङ वा साइड तथा अन्य स्थानमा राखिएको हुन्छ। कुनै गाडीको ड्यास बोर्डमा पनि राख्ने गरिन्छ। त्यसैले एयर ब्यागको लागि आवश्यक पर्ने सेन्सर गाडीको अगाडि बर्नेट वा साइड तिर राखिएको हुन्छ। 'उक्त सेन्सर एयर ब्यागको सिस्टमसँग जोडिन्छ। यसले गर्दा जब गाडीको बाहिर कुनै गाडी वा सामनमा गाडी ठोकिए उक्त सेन्सरले तुरुन्त गाडी भित्र एयर ब्याग खुलाउने काम गर्छ,' उनले भने, 'तर यसको पनि एउटा माध्यम छ। कति सम्मको रेन्जमा सेन्सर राखिएको छ त्यही अनुसार एयर ब्यागले काम गर्छ। साना तिना ठक्करमा एयर ब्यागले काम गर्ने हैन। ठुलो क्षति हुदा मात्र यसले काम गर्ने हो।'

यसरी एयर ब्यागले गाडी दुर्घटना पर्दा प्यासेन्जरको टाउको र घाँटी तथा छाती जोगाउन धेरै मद्दत गर्छ। 'एयर ब्याग छ भन्दैमा सिट बेल्ट नलगाउने भने होइन। सिट बेल्ट र एयर ब्यागको छुट्टा छुट्टै काम हैन। दुई वटै मिलेर काम गरिरहेको हुन्छ,' उनले भने, 'कुनै कारमा सिट बेल्ट प्रयोग गरिएको छैन भने दुर्घटना भएको बेला सिट बेल्टले केही थोरै अगाडि गएपछि रोक्ने गर्छ। यसले गर्दा एयर ब्यागलाई मात्र भार पर्दैन र एयर ब्यागको हावा गएपछि पनि बडीलाई सन्तुलन गरेर राख्छ।'

कति लाग्छ यदी दुर्घटनामा परेर परिवर्तन गर्न परेमा

अहिले भारतमा ६ वटा एयर ब्याग अनिवार्य गरेदिख गाडी उत्पादक कम्पनीहरुले गाडीको मूल्य बढाउन थालेका छन्। नेपालमा पनि उक्त गाडीको मूल्य बढेर आउछ। यो स्वभाविक कुरा हो।

यसका लागि भारतमा अगाडि पट्टि भएको एयर ब्याग परिवर्तन गर्न एउटाको १० हजार भारुदेखि १५ हजार भारुसम्म पर्दछ। यसमा पनि कम्पनी र एयर ब्यागको साइज हेरेर मूल्य निर्धारण हुन्छ। ठुलो साइजको अलि महँगो पर्न जान्छ। साइडमा हालिने पर्दा जस्तै आकारको एयर ब्याग अलि अरु भन्दा महँगो पर्दछ। यो नयाँ गाडी निर्माण गर्दा हालिने एयर ब्यागको खर्च हो।

तर गाडी दुर्घटना परेर एयर ब्याग परिवर्तन गर्न कति खर्च लाग्छ भन्ने कुरा महत्वपूर्ण विषय हो। हाल नेपालमा अटोमोबाइल क्षेत्रमा काम गरिरहेका मेकानिकल इन्जिनियर आचार्यका अनुसार नेपालमा एयर ब्यागको सेट सबै परिवर्तन गर्न लगभग एक लाख रुपैयाँ लाग्छ। 'यसमा पनि कम्पनीले कुन खालको उत्पादन प्रयोग गरेको छ त्यसमा पनि भर पर्ने हुन्छ,' उनले भने, 'त्यसैले यो एयर ब्याग परिवर्तन गर्न लगभग एक लाख लाग्ने गरेको छ। तर त्यो भन्दा धेरै वा कम पनि लाग्न सक्छ।'

उनका अनुसार गाडी एक पटक दुर्घनामा परेको छ भने त्यसमा भएको एयर ब्यागको सेन्सर, कन्ट्रोलर र सिट बेल्ट फेर्नु पर्ने हुन्छ। तर दुर्घटना भएको बेलामा नखुलेको एयर ब्याग भने फेर्नु पर्दैन। 'एउटा एयर ब्यागको ट्युब मात्रै फेर्नु पर्दा पनि लगभग १८ हजार खर्च हुन्छ। त्यसमा पनि सेन्सर दुई वटा फेर्दा ६-८ हजारसम्म लाग्छ। यस्तै सिट बेल्टको लगाउने खर्च २० हजारदेखि माथि पर्छ।

यस्तै कन्ट्रोलर, वारिङहरुदेखि अरु धेरै कुराहरु सेटमा फेर्दा एकमुष्ठ लगभग एक लाख जति खर्च लाग्छ,' उनले भने, 'त्यसैले नखुलेको एयर ब्याग फेर्न नपर्ने भएमा त्यति बेला भने कम खर्च आउन सक्छ। एयर ब्याग कति वटा फेर्नुपर्ने हो त्यही अनुसार पनि खर्च बढ्न सक्छ।'

आचार्यका अनुसार कम्पनीहरुले पहिले नै एयर ब्याग पड्कियो भने ग्रहाकहरुले के के परिवर्तन गर्नुपर्ने हुन्छ भन्ने कुरा वर्कशप म्यान्युअलमा उल्लेख गरिएको हुन्छ।