
काठमाडौं। सामसङले आफ्नो प्रिमियम ग्यालेक्सी जेड फोल्ड ४ स्मार्टफोन सार्वजनिक गरेको छ। भारतमा यो स्मार्टफोन आगामी सेप्टेम्बरबाट बिक्री सुरु हुने बताइएको छ।
नेपालमा भने सरकारले तीन सय अमेरिकी डलर माथिका फोन आयात भदौ १४ गतेसम्म प्रतिबन्ध लगाएको छ। त्यसपछि प्रतिबन्ध हट्छ वा हट्दैन भन्न नसकिने भएकाले सामसङको प्रिमियम स्मार्टफोन नेपाल भित्रिने मिति यकिन हुन सकेको छैन।
सामसङले उक्त स्मार्टफोनको ग्लोबल लञ्च मूल्य १७ सय ९९ अमेरिकी डलर (दुई लाख २७ हजार रुपैयाँ) तोकेको छ। भारतमा यो स्मार्टफोनको मूल्य १.४९ लाख भारुदेखि १.५७ लाख भारुसम्म तोकिएको छ। यसअघि सामसङले ल्याएको ग्यालेक्सी जेड फ्लिप ३ भन्दा यो फोन महँगो हुने बताइएको छ।
सामसङले स्मार्टफोनसँगै ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र ग्यालेक्सी वाच ५ प्रो पनि सार्वजनिक गरेको छ।
काउन्टरपोइन्ट रिसर्चका अनुसार मार्च २०२२ सम्म सामसङले डेढ लाख रुपैयाँभन्दा माथिका स्मार्टफोनको ८१ प्रतिशत बजार हिस्सा कब्जा गर्न सफल भएको छ।