यो दसैंलाई एक हजार गाडीले पुग्छ ? देखिएन अटोमोबाइल व्यवसायीमा चाडबाड रौनक



२०७९ भदौ ५ गते ०६:२६ | Aug 21, 2022


यो दसैंलाई एक हजार गाडीले पुग्छ ? देखिएन अटोमोबाइल व्यवसायीमा चाडबाड रौनक


काठमाडौं। अधिकांश वस्तुका लागि अत्यधिक व्यापार हुने सिजन दसैं हो। त्यसैले व्यापारीहरुका लागि दसैंले दोब्बर खुशी लिएर आउँछ। खाद्यान्यदेखि गाडीसम्मको व्यापार गर्नेहरु यस चाडको प्रतीक्षामा हुन्छन्।

Tata
Global Ime

दसैंमा धेरै बिक्ने महंगो वस्तुमा सवारीसाधन पर्दछ। मोटरसाइकल र कार यतिबेला अत्यधिक बिक्री हुन्छन्। यसपटक आयातमा बन्देज खेपिरहेको यो क्षेत्रले के गर्छ? बजारको अवस्था के होला? यो सहज अनुमान हुने स्थिति छैन।

अब त मध्यम वर्गले समेत कारमा आँखा लगाउन थालेका छन्। पछिल्लो समय ९० प्रतिशत ग्राहकलाई बैंकले ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यो समय धेरै बैंकहरुले ब्याजमा छुट दिने खालका स्किमहरु ल्याइरहेका हुन्छन्। यसले गर्दा गाडीहरु खरिद गर्नेको संख्या नेपालमा बढ्दो छ।

पछिल्लो समय नेपालमा चारपांग्रे सवारीको बजार निकै फराकिलो भएको छ। भारतमा र तेस्रो मुलुकमा उत्पादन हुने आधुनिक गाडी अहिले नेपाली बजारमा सजिलै उपलब्ध हुन्छन्। हुन्डाइ, टाटा, सुजुकी र मारुती, टोयटा, होन्डा, किया, एमजी, बिवाइडी, फोर्ड लगायत विश्वका चर्चित ब्रान्डले यहाँको बजार र उपभोक्ताको माग पूरा गरेको छन्। जसरी बजारमा गाडीका नयाँ-नयाँ मोडल भित्रिएका छन्, त्यस्तै ग्राहक तथा उपभोक्ताको माग र रोजाई फेरिँदै गएको छ।

नयाँ मोडलका कार किन्ने संख्या दिनहुँ बढ्दै गएको यस क्षेत्रका व्यवसायी बताउँछन्। तर यस पालि पैसा हुने ग्राहकहरुले पनि आफ्नो रोजाइका गाडीहरु खरिद गर्न नपाउने नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले जनाएको छ। सवारी विक्रेताहरुको वर्ष दिनको व्यापार ४० प्रतिशत दसैंको सेरोफेरोमै हुने गरेको नाडा नेपालको भनाइ छ।

आर्थिक वर्ष २०७७/७८ को साउन, भदौ र असोजमा मात्र ८३ हजार २ सय १४ सवारी साधन आयात भएको भन्सारको तथ्यांकले देखाएको छ। त्यसमा सबैभन्दा बढी दुईपांग्रे छन्। तीन महिनामा ७० हजार २ सय ६० थान मोटरसाइकल/स्कुटर आयात भएको थियो। त्यसैगरी, कार, जीप, भ्यान पनि ठूलो संख्यामा आयात भएको थियो।

तर अहिले भने वैशाख १३ गतेदेखि आयात ठप्प छ। वैशाख १३ भन्दाअघि एलसी खोलिएका गाडीको संख्या पनि विभिन्न कम्पनीहरुको जम्मा ८ सय ५० वटा मात्र छ। यसले दसैंमा कसरी गाडी बिक्री गरेर आफ्नो व्यवसायलाई निरन्तर दिन सकिन्छ भनेर आफूहरु चिन्तित हुन थालेको अटो व्यवसायीहरु बताउँछन्।

हाल अटो व्यवसायीहरुसँग भन्सारमा ८ सय ५० र भित्रीइसकेका डेढ सय गरी करिब एक हजारवटा चारपांग्रे सवारीसाधान स्टकमा छन्। तर यसमा पनि भन्सारमा भएका गाडीहरुमा पनि एउटै कम्पनी कियाको ४०० भन्दा धेरै गाडीहरु रहेको एक व्यवसायीले बताए। उक्त कम्पनीले एलसी खोल्न प्रतिबन्ध लगाउने सूचना चुहावट गरेर कम्पनीले ६३० वटा गाडीको एलसी खोलेको आरोप पनि लागेको थियो।

त्यही सूचनाका आधारमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले ६३० वटा कार आयातका लागि नबिल बैंकमार्फत एलसी खोलेको थियो। त्यही गाडीहरु अहिले भन्सारमा छन्। यसै विषयलाई लिएर शंकास्पद ढंगबाट सूचना बाहिरिएको दाबी गर्दै सरकारले चैत २३ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनको निर्णय समेत गरेको थियो।

यसै गरी हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भने आफूसँग थोरै मात्र गाडी स्टकमा रहेको जनाएको छ। 'गाडीहरु धेरै कम छन्। एलसी खोल्न दिइएको छैन। अब १४ गते एलसी खोलेर पनि अर्डर गरेर ल्याउने प्रक्रिया लामो छ,' कम्पनीका निर्देशक दीपक थपलियाले भने।

हुन्डाईको अरु इन्धन गाडीहरु भने स्टकमा थोरै मात्र उपलब्ध रहेको थपलियाले बताए। जसको कारण दसैंमा यो ब्रान्डको गाडी व्यापार संकटमा पर्ने थपलिया बताउँछन्।

यस्तै नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल अध्यक्ष ध्रुव थापाका अनुसार यस भन्दा अघिकै दसैंतिहारमा कम्तीमा तीन हजारवटा प्यासेन्जर सवारी बिक्री हुने गरेको थियो। अहिले व्यवसायीहरुसँग दसैंका लागि भनेर धेरै गाडीहरु स्टकमा नरहेको उनले बताए। 'हामीसँग धेरै गाडी छैन। भएको ८/९ सय गाडीमा पनि एउटै कम्पनीको ४०० भन्दा धेरै छ। गाडी भएको कम्पनीको मात्र धेरै गाडी बिक्री हुन्छ भन्ने हैन। अब पैसा भएका ग्राहकहरुलाई नयाँ गाडीहरु रोजेर किन्न भने पाउदैनन्,' उनले भने।

इभीमा आशा तर आपूर्ति थोरै 

डिजल-पेट्रोल इन्जिन ह्याचब्याक र एसयुभी आयातमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिइएसँगै नाडा नेपालले भदौ पहिलो सातादेखि गर्ने भनेको सवारी मेला ‘नाडा अटो शो २०२२’ स्थगित गरेको छ। कार आयात नै गर्न नपाएपछि अटो शो गर्नुको अर्थ नभएको भन्दै नाडाले स्थगित गरेको हो।

त्यसैको विकल्पमा नाडाले अहिले इभी इक्स्पो गर्न लागेको छ। अटो व्यवसायीहरुका अनुसार इभी एक्स्पोले अटो बजारलाई केही हदसम्म आशा जगाएको बताउँछन्। तर यसमा पनि उत्पादक कम्पनीहरुले सप्लाई राम्रोसँग दिन सकेका छैनन्। 'अब यो दसैंमा गाडी बिक्री गर्न सकिदैन। विद्युतीय आयात खुल्ला भएपनि उत्पादक कम्पनीले सप्लाई गर्न सकिरहेको छैन,' थपलियाले भने।

उनका अनुसार हाल हुन्डाईसँग दुई मोडल कोना इभी र आयोनिक ५ विद्युतीय गाडीहरु उपलब्ध छ। सरकारले किलोवाटका आधारमा कर बढाएपछि आयोनिक ५ को मूल्य ८१ लाखबाट १ करोड १६ लाख पुगेको छ। त्यसपछि यसको व्यापार कम भएको उनले बताए। यस्तै कम्पनीको इभी धेरै बिक्री हुने भनेको कोना इभी हो। तर यसको उत्पादक कम्पनीले राम्रो सप्लाई दिन नसकेको थपलिया बताउँछन्।

यस्तै टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बिक्री गरिरहेको टाटा नेक्सन इभी र टिगोर इभीको पनि सप्लाई राम्रोसँग हुन सकिरहेको छैन। कम्पनीले इभी गाडीहरु अहिले ग्राहकले अर्डर गरेको ३ महिनादेखि ७ महिनासम्मको पर्खाइमा गाडी डेलिभरी गर्ने गरिएको कम्पनीले जनाएको छ। यस्तै सिप्रदीले टाटा नेक्सन इभीको लङ रेन्ज पनि इभी एक्स्पोमा देखाउने बुझिएको छ।

यसैगरी नेपालमा धेरै बिक्री हुनेमा एमजीको गाडीहरु पनि पर्दछन्। उक्त कम्पनीको इभीहरु १०० किलोवाट क्षमता भन्दा माथिका भएकाले सरकारले फेरबदल गरेको करको प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ। यस कम्पनीको गाडी बिक्रेता पारामाउन्ट मोटर्सले अहिले बढेको करमा गाडी ल्याउन नसकिने बताउँदै आएको छ।

बीवाइडीका गाडीहरु पनि बीवाइडी ई ६ मात्र नेपालमा बिक्री भइरहेको छ। यसमा सरकारको करले असर नगर्ने भएकाले बिक्रीमा सहज छ। तर यो कम्पनीको ३ महिना अगाडि नेपाल ल्याउन तयारी अवस्था रहेको एटो ३ भने बिक्री गर्न सकेको छैन। केही दिन अगाडि सार्वजनिक गर्ने समय तोकिए पनि पछि यसलाई स्थगित गरिएको छ।

यिनै ब्रान्डका गाडीहरु नाडा इभी एक्स्पोमा देखा पर्नेछन्। नेपालमा हाल एक दर्जनभन्दा धेरै ब्राण्डका विद्युतीय गाडीहरु उपलब्ध छन्। तर एमजीले यस इभी एक्स्पोमा सहभागी नहुने जनाएको छ। कम्पनीका अनुसार गाडी नभएका कारण यसमा सहभागी नहुने धेरै सम्भावना रहेको जनाएको छ।

विश्व बजारमा कोरोना महामारी र युक्रेन-रुस युद्धले गर्दा चिप र गाडी उत्पादनको लागि आवश्यक पर्ने स्पेयर पार्ट्सहरुको अभाव सिर्जना भइरहेको छ। यस्तै खालको अभाव सिर्जनाले गर्दा विद्युतीय गाडीको सप्लाई सोचे जस्तो भइरहेको छैन। अटो व्यवसायीहरुका अनुसार उत्पादक कम्पनीहरुले घरेलु बजारमै विद्युतीय गाडीको माग पुरा गर्न नसकेको बताउँछन्।

'हाम्रो जस्तो देशमा अर्डर गरेर आयात गर्नुपर्ने हुन्छ। यसको लागि उत्पादक कम्पनीहरुले समय माग्ने गरेका छन्,' थपलियाले भने।

आयात प्रतिबन्ध खोल्ने विषयमा सरकारले के गर्ला? 

अहिले हरेक अटो व्यवसायीहरु सरकारले लगाएको आयात प्रतिबन्ध कहिले खुल्छ भनरे पर्खिरहेका छन्। कति अटो व्यवसायीहरु भने सरकारले यो पटक पनि आयात प्रतिबन्ध खुलाउनेमा शंका रहेको बताउँछन्।

सरकारले एउटा निश्चित मिति तय गरेपनि फेरि उक्त प्रतिबन्ध लम्ब्याउने गरेको छ। यसैले गर्दा पनि हाल दशैको लागि अफर ल्याउन समेत नसकिएको टाटाको गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङले जनाएको छ।

'अफर ल्याउनलाई पनिस आयात गर्न पाउने एउटा निश्चित मिति सरकारले तय गर्न सकेको छैन,' सिप्रदीका कर्पोरेट ब्रान्ड एण्ड कम्युनिकेसन म्यानेजर रुपम श्रेष्ठले भने, 'अफर ल्याएर के गर्ने गाडी कहिले ल्याउन पाउने हो थाहा छैन। यसमा पनि बैंकले डिओको लागि पैसा दिइरहेको अवस्था छैन्।

उनका अनुसार अरु सामानहरुको अफर ल्याउन पनि बजारमा गिफ्ट दिने सामान नै छैनन्। 'प्रायजसो सबै गाडी बिक्रेता अफरमा टीभी, फ्रिज, मोबाइल तथा बैंकिङको सुविधा प्रदान गर्ने हो। तर त्यो खालको सुविधा प्रदान गर्ननै सकिने अवस्था छैन्,' उनले भने, 'अहिले अफर गरेर गाडी ल्याउनको लागि ९ महिना लाग्यो भने ग्राहकले त यत्रो समय कुर्न सक्दैनन्। अनि पछि बुकिङ रद्द हुन थाल्ने समस्या हुन्छ।'

यस्तै हुन्डाईले पनि दशैमा ल्याउने अफरको बारेमा अहिले नसोचिएको बताएको छ। यसका लागि सरकारले भदौ १४ पछि आयात प्रतिबन्ध खुल्ला गरेमा मात्र आफुहरु अफरको योजनाहरु ल्याउन तयार हुने थपलियाले बताए।

उनले पनि सरकारले आयात कहिले खोल्ने विषयमा निश्चित मिति तोक्न नसकेकोले गाडी बिक्री गर्ने कम्पनीहरुले त्यही अनुसारको योजनाहरु बनाएर अगाडि बढ्न नसकिएको बताउँछन्।

सरकारले इन्धन सवारीको आयात लम्ब्याउन सक्ने डरमा अटो व्यवसायी चिन्तित रहेका छन्। सरकारले मंसिरसम्म आयात प्रतिबन्ध लम्ब्याउने कसरतमा रहेको एक अटो व्यवसायीले बताए।