काठमाडौं। दसैं आउन करिब सवा महिना बाँकी छ। अघिल्ला वर्ष यतिबेला व्यवसायीहरुले चाडपर्वका लागि भन्दै एक महिनाअघि नै चिनियाँ सामानहरु आयात गर्थे।
दसैं सुरु हुनुभन्दा १० देखि १५ दिनअघि विभिन्न जिल्लाहरुमा बिक्री समेत गरिसक्थे। यतिबेला उत्तरी दुई नाका करिब ९ दिनदेखि बन्द छ।
तिब्बतमा कोभिड संक्रमण बढेको भन्दै चीनले २ साताका लागि तातोपानी र केरुङ नाका बन्द गरेको हो। जसको असर नेपाली व्यवसायीहरुलाई पर्न गएको छ। नेपालमा चिनियाँ सामाग्री धेरै आयात हुन्छ। अन्य देशभन्दा चीनबाट आयात गरिने वस्तुहरु सस्तो पर्ने भएकोले नेपाली बजारमा यसको हिस्सा धेरै हुने गरेको छ।
हरेक वर्ष नेपालमा उत्तरी नाका भएर करिब ८ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात हुँदै आएको थियो। कोभिडपछि आयात बारम्बार असहज भएको छ। तैपनि करिब ४ देखि ५ अर्ब रुपैयाँको दसैंका लागि चिनियाँ सामान आइरहेको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।
अहिले पनि उक्त नाकामा करिब ३ देखि ४ अर्ब रुपैयाँको सामानहरु रोकिएको छ। यस अघि चाडपर्वको लागि करिब १२ सयभन्दा बढी कन्टेरमा सामान आउने गरेको थियो। यतिबेला चिनियाँ सामान बोकेका करिब ४ सयभन्दा बढी कन्टेनर नाकामै रोकिएका छन्। उत्तरी नाका लामो समय बन्द नहुने हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोकुमार श्रेष्ठले बताए। यसपटक दुई साताका लागि भन्दै बन्द भएको हो। दुवै नाकाबाट दैनिक १५ वटा भन्दा कन्टेनरहरु भित्रिइरहेका थिए।
अहिले नाका ठप्प भएको छ। यसले गर्दा आयात भएका करिब ३ सय भन्दा बढी कन्टेनरहरु नाकामा रोकिएको उनले बताए।
'अब चाडपर्वको लागि बाइसिप र बाइ एयर सामान ल्याउन सकिदैन,' उनले भने। त्यसरी ल्याए ढुवानी लागत महँगो हुने भएकाले सबै व्यवसायीहरुले ल्याउन नसक्ने उनले बताए।
'ढुवानी महँगो पर्दा बजारको माग अनुसार सामान आयात गर्न सकिदैन। लागत बढ्दा सामान पनि महँगिन्छ, बिक्दैन। व्यापारीहरु डुब्छन्। त्यसैले उत्तरी नाका नै खुल्नु पर्छ,' श्रेष्ठले भने।
'चिनियाँ नाका बन्द हुँदैमा बजारमा सामान सर्टेज हुन्छ भन्ने होइन। चाडपर्वका लागि बजारमा आपूर्तिमा असर पर्छ, उपभोक्तालाई महँगो पर्न जान्छ,' उनले भने।
त्यस्तै, नेपाली व्यवसायीहरुले यो दसैंका लागि आवश्यक सामानहरु ठूलो परिमाणमा उत्तरी नाकाबाटै आयात गरेको हिमाल सीमापार संघका वरिष्ठ उपाध्यक्ष रामहरि कार्कीले बताए। उत्तरीनाका खुल्ला रहेकोले व्यवसायीहरुले यतैबाटै सामान आयात गरेका थिए।
अघिल्ला वर्षझैं चीनले एक्कासी नाका बन्द गर्दा यसको गम्भीर असर परेको छ। ५ अर्ब बराबरको सामान रोकिएको छ। कतिपय व्यवसायीको थोरै सामान आइसकेको छ भने बाँकी नाकामा छ। 'अर्डर गरेको केही सामान कसरी ल्याउने भन्ने भइरहेको छ,' उनले भने। 'चिनियाँ सामान बाइसिपबाट ल्याउन खर्च बढ्छ। यो वर्ष धेरै व्यवसायीले बजारको माग भन्दा कम सामान आयात गरेका छन्,' उनले भने, 'दुई कन्टेनर ल्याउनेले एक कन्टेर आयात गरेका छन्। धेरै ल्याएर बिक्री हुँदैन।'
अहिले केरुङतर्फ ३ सयभन्दा बढी र तातोपानीतर्फ करिब ४० वटा कन्टेनर रोकिएको जानकारी आएको उनले बताए। नाका तत्काल खुल्ने सम्भावना छैन। व्यवसायीहरुका अनुसार उत्तरी नाकामा आइपुगेका सामान फर्काएर समुद्र मार्ग भारत हुँदै बाइसिप ल्याउन निकै नै महँगो पर्छ। ठुला चाडबाड सुरु हुन समय पनि कम भएकाले व्यवसायीहरु अलमलमा छन्। नाका नखुल्दा व्यवसायीहरुको गुनासो धेरै आइरहेको संघले जनाएको छ।
चिनियाँ सामान समुद्रमार्गबाट आयात गर्ने घटे
ढुवानी लागतसँगै समय धेरै लाग्ने भएपछि नेपालमा समुद्रमार्गबाट चिनियाँ मालवस्तु आयात गर्नेहरु घटेका छन्। कोरोनाकालका दुई वटा दसैंमा व्यवसायीले अपेक्षाअनुसार सामान ल्याउनै पाएनन्। कतिपयले कोलकाता बन्दरगाहको बाटो भएर ल्याए। ढुवानी बढ्दा अपेक्षित फाइदा कमाउन सकेनन्।
करिब २ वर्ष यता उत्तरीनाका असहज हुँदा तयारी कपडा, जुत्ता-चप्पल र ब्याग लगायतका वस्तुहरु कम आयात भइरहेको छ। यति बेला चीनले दुई वटै नाका ठप्प पार्दा दसैंतिहारलाई असर पर्ने देखिएको हो। चिनियाँ फलफूल तातोपानी नाकाबाट बढी आउँछ। रेडिमेड सामान र कच्चा पदार्थहरु केरुङबाट नै धेरै आयात हुन्छ। चाडपर्वका लागि एकै व्यवसायीले करौडौ रुपैयाँको सामान आयात गर्छन्। यसले गर्दा व्यवसायीहरुले अब धमाधम अर्डर गरेर सामान आयात गर्न थालेका थिए।
केही व्यवसायीले चाडपर्वको लागि उत्तरी नाका र बन्दरगाह हुँदै चिनियाँ सामान आयात गर्दै आए पनि पछिल्लो समय ढुवानी महँगो भएपछि बन्दरगाह हुँदै ल्याउने व्यवसायी घट्दै गएका छन्। चिनियाँ सामान आयात गर्न उत्तरी नाकामा १५ देखि २० दिन लाग्छ। सुक्खा बन्दरगाह हुँदै ल्याउदा करिब ३० दिनभन्दा बढी समय लाग्छ। यसपालि चाडपर्व चाडै भएकाले बाहिरी मुलुकबाट सामानहरु आयात गर्न पर्याप्त समय छैन।
चिनियाँ नाका भन्दा बाइसिपबाट आयात गर्दा महँगो पर्ने व्यवसायीहरुले बताएका छन्। गत वैशाखदेखि व्यापार घटेकाले चाडपर्वका लागि यसपटक पोहोरभन्दा झन्डै ५० प्रतिशत कम सामान आयात गरेको व्यवसायी हरि गौतमले बताए। उनको करिब २ करोड बराबरको सामान केरुङमा अड्किएको छ।
'बाइसिपबाट खर्च धेरै हुन्छ। अहिले पैसा म्यानेज गर्न गाह्रो छ। बाइसिपबाट आयात गर्न जोखिम बढी हुन्छ। त्यसैले उत्तरी नाकाबाट सामान ल्याएको हो,' उनले भने, 'दसैंसम्म आइपुग्ने आशा छ।'


