काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को 'राडार' भित्र ट्रस्ट सेवा प्रदायकहरु पनि परेका छन्। कम्पनी रजिष्ट्रारको कार्यालयले नयाँ निर्देशन जारी गर्दै यस्ता सेवाप्रदायकहरुको गतिविधि हेर्ने ब्यवस्था गरेको छ।
यस्ता ट्रष्टहरुले जोखिममा आधारित प्रणालीको अवलम्वन गरी कम्पनी संस्थापना एवं शेयर खरिद विक्रीको क्रममा सीमा कारोवार तथा संकास्पद कारोवारको जानकारी दिनु पर्ने हुन्छ।
साथै कार्यहरु सम्पादन गर्ने क्रममा आवश्यकता अनुसार वास्तविक धनीको पहिचान गर्ने र कानुनले तोकेको निकायमा त्यसको जानकारी गराउनु पर्ने हुन्छ। साथै त्यसको आवधिक प्रतिवेदन पेश गर्नु पर्ने हुन्छ।
संस्थाहरुले वित्तीय जानकारी इकाईले तोकेको ढाँचा, माध्यम र समयमा ग्राहक पहिचान एवं वर्गीकरण गरी जोखिम मुल्यांकन र विश्लेषण समेतका आधारमा शंकास्पद कारोबारको सूचना दिनुपर्ने हुन्छ।
यस्तो कार्य गर्न संस्थाहरुले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन तथा नियमावलीमा भएका व्यवस्थाहरु वमोजिम संस्थागत तथा नीतिगत प्रवन्ध (अन्तरिक कार्यविधि समेत) स्वयं मिलाउनुपर्ने छ।
निर्देशन बमोजिम गर्न भनिएका कार्यको परिपालनाको विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयले समय- समयमा सम्बन्धित सेवा प्रदायकहरुको निरीक्षण, अनुगमन गर्नेछ। यसरी अनुगमन वा निरीक्षण गर्दा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन मा भएको व्यवस्था अनुसारको जिम्मेवारी र त्यसको परिपालना एवं वित्तीय जानकारी इकाईले जारी गरेको सीमा कारोबार तथा शंकास्पद कारोबार सम्बन्धी निर्देशन तथा मार्गदर्शनलाई आधार मानिने छ।
संस्थाहरुले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन र नियमावली,वित्तीय जानकारी इकाईबाट समय समयमा जारी गरिएका निर्देशन एवं मापदण्ड तथा यस निर्देशन बमोजिम तयार वा पेश गरेका शंकास्पद कारोबारको प्रतिवेदनको सूचना वा जानकारी वित्तीय जानकारी इकाई बाहेक अन्य कसैलाई दिनेदिलाउने कार्य गरेमा सजाय हुनेछ।
यद्यपि, आफुले प्रतिवेदन वा सूचना गरेकाशंकास्पद कारोवारको विवरण भने अर्धवार्षिक रुपमा कार्यालयमा पेश गर्नुपर्नेछ।