पोलिसी सरेन्डर निरुत्साहित गर्न बीमा समितिले अभिकर्ताको लाइसेन्स परीक्षा, अनलाइन लिन सफ्टवेयर



२०७९ भदौ ८ गते १२:०० | Aug 24, 2022


काठमाडौं। 'सरेन्डर' संख्या बढेर कार्यक्षमतामा प्रश्न उठ्न थालेपछि बीमा समितिले अभिकर्तालाई नियमन गर्ने नीति लिएको छ। इन्स्योरेन्स कम्पनीहरु आफू-आफूले गर्दै आएको नियुक्तिको चलनलाई निरुत्साहित गर्दै परीक्षा लिएर मात्रै लाइसेन्स दिने भएको हो।

Tata
Global Ime

अभिकर्ताले बीमा कम्पनीहरुका पोलिसी खरिदकर्ता खोज्छन्। सुविधा र फाइदाबारे बुझाएपछि बीमा गर्नेहरु बढ्दा उनीहरुलाई कमिसनमा राम्रै फाइदा हुन्छ। तर केही वर्षयता बीमितले बीचैमा पोलिसीलाई निरन्तरता दिन छाडेर सरेन्डर गर्ने बढेका छन्। यसले बीमा बजारमा कम्पनीहरुको बिजनेसमा असर गरेको छ।

अभिकर्ताको काम गर्न चाहनेले अब समितिले लिने लाइसेन्स लिन अनलाइन परीक्षा दिनुपर्ने छ। यसका लागि सफ्टवेयर तयारी भइरहेको समितिले जनाएको छ। 

चालु आर्थिक वर्षभित्रै सफ्टवेयर प्रयोगमा ल्याउने तयारी गरिरहेको समितिका प्रवक्ता राजुरमण पौडेलले बताए। 'अभिकर्ता लाइसेन्सका लागि सफ्टवेयर तयार हुँदैछ। तयार भएपछि प्रयोगमा आउँछ,' उनले बताए।

पहिले बीमा कम्पनीहरुले आफैं अभिकर्ता लाइसेन्स दिने गरेका थिए। समितिले  डिजिटल फर्म्याटबाट परीक्षा लिएर लाइसेन्स दिन खोजेको हो। अभिकर्ताले अनलाइनबाट परीक्षा दिएर लाइसेन्स पाउने व्यवस्था गर्न लागिएको समितिको भनाइ छ। 

'अब अभिकर्ताको संख्याभन्दा गुणस्तर हेरेर मात्र लाइसेन्स दिन खोजेको हो,' प्रवक्ता पौडेलले भने। उनका अनुसार अभिकर्ताले लाइसेन्स लिनका लागि अनलाइनबाट परीक्षा दिएर तोकिएको पास नम्बर ल्याउनुपर्ने हुन्छ।  जसले पास नम्बर ल्याउँछ, समितिले सिफारिस गरेर लाइसेन्स दिन्छ।

अहिलेका लागि कति जनालाई लाइसेन्स दिने भन्ने भएको तोकिएको छैन। परीक्षा दिएर पास भएका अभिकर्ताहरुलाई लाइसेन्स दिने समितिले जनाएको छ। अभिकर्ता लाइसेन्स एसईई पास गरेकाहरुले पनि  लिन पाउने छन्।

यस अघि समितिले अभिकर्ता इजाजतपत्र केही समय तालिम दिएर मात्र दिने गरेको थियो। पछिल्लो समय करिब १२ सय जनालाई अभिकर्ता तालिम दिएको थियो। कम्पनीले तालिम दिएको भरमा मात्र लाइसेन्स दिँदा अभिकर्ताको संख्या मात्र धेरै हुने र गुणस्तर कमजोर हुँदै आएको थियो। जसले गर्दा बीमा व्यवसायमा विभिन्न अपराधिक घटना देखापरेको बीमा विश्लेषकहरुको भनाइ छ। 

कति छन् अभिकर्ता ?
नेपालको बीमा क्षेत्रमा करिब ३ लाख हाराहारी अभिकर्ता कार्यरत रहेको बीमा समितिले जनाएको छ। नेपालमा ३ लाखभन्दा बढी अभिकर्ता कार्यरत भए पनि हाल समितिमा नयाँ दर्ता भएका र अभिकर्ता लाइसेन्स नवीकरण गरेको संख्याका आधारमा २ लाख ९६ हजार ४ सय ३ जना छन्।

पछिल्लो समय अभिकर्ताको संख्या बढ्दै गएको हो। अघिल्लो वर्ष करिब २ लाख ५० हजार अभिकर्ताहरु थिए। बीमा क्षेत्रमा विभिन्न सेवा सुविधा र कमिसन राम्रो पाइने भएपछि अभिकर्ताको पेसाप्रति लगाव बढ्दै छ। तर बीमाबारे राम्रोसँग बुझाउनेको भने कमी देखिएको 'सरेन्डर'का संख्याले देखाएको छ।

बीमा सरेन्डर बर्सेनि बढेको छ। गत आर्थिक वर्ष नेपाल लाइफ इन्स्योरेन्सका २६ हजार ६ सय ३ बीमा सरेन्डर भए। यो संख्या इन्स्योरेन्स कम्पनीहरुमध्ये सर्वाधिक हो। सरकारी कम्पनी राष्ट्रिय बीमा संस्थानको १६ हजार ९ सय १७, लाइफ इन्स्योरेन्स कर्पोरेसन  ९ हजार ८ सय ६८ र नेशनल लाइफ इन्स्योरेन्सको ७ हजार ५ सय ६६ बीमा सरेन्डर भए।