दसैंमा दुई सय कमर्सियल भेहिकल बिक्री हुने, तरलता अभाव हुँदा व्यापार कम



२०७९ भदौ ९ गते १८:१२ | Aug 25, 2022


दसैंमा दुई सय कमर्सियल भेहिकल बिक्री हुने, तरलता अभाव हुँदा व्यापार कम


काठमाडौं। दसैका लागि दुई सय कमर्सियल भेहिकल(सार्वजनिक यातायातमा प्रयोग हुने गाडी) बिक्री हुने भएको छ। सरदरमा एउटा गाडीको मूल्य ५० लाख रुपैयाँका दरले अर्ब बराबरको कारोबार हुने अनुमान गरिएको छ।

Tata
Global Ime

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले दसैंका लागि दुई सय गाडी व्यवसायीले किन्ने जानकारी दिए। 'तरलता अभाव नभएको भए अझै धेरै गाडी किन्ने अवस्था थियो। तर बैंकबाट ऋण पाउन कठिन छ,' उनले बिजमाण्डूसँग भने।

उनका अनुसार कोभिड अघि व्यवसायीले दसैं अघि ६ सय वटा गाडी किनेका थिए। 'अब त्यसरी गाडी किन्न सक्ने अवस्थामा यातायात व्यवसायीहरु छैनन्,' उनले भने, 'बैंकहरुले धेरै ब्याज लिने र ऋण उपलब्ध गराउन नमान्ने खालका समस्याहरुमा यातायात व्यवसायी अल्झिरहेका छन्।'

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीका अनुसार अहिले २० वर्ष पुराना १० हजार गाडी छन्। जसमा करिब ५५ सय संचालनमा रहेको व्यवसायी स्वाँरले बताए। उनका अनुसार यसमा पनि प्रायजसो कमर्सियल गाडीहरु १५ वर्षभन्दा धेरै समय चल्दैनन्। 'त्यस्तै व्यवसायीले अब नयाँ गाडी किन्दा २० वर्ष पुरानो नचल्ने भएका गाडीहरुको बदलामा थोरै र पुरानासँग एक्सचेन्ज गर्न नयाँ गाडी किन्ने हो,' उनले भने।

कोरोनापछि बिक्री ४५ प्रतिशत कम

गाडी बिक्रेताहरुका अनुसार कोरोनापछिको दसैंमा सोचेजस्तो व्यापार छैन। उनीहरुका अनुसार पछिल्लो समय गाडी खरिद गर्ने ४५ प्रतिशत घटेका छन्।

'नेपालमा कोरोना माहामारीपछि कमर्सियल गाडीको व्यापारमा धेरै कमी आएको छ,' टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका कर्पोरेट ब्राण्ड एण्ड कम्युनिकेसन म्यानेजर रुपम श्रेष्ठले भने, 'कोरोनाको डर र बैंकहरुले ल्याएका राम्रा योजनाले दुई पाँग्रे र चार पाँग्रे सवारी साधन किन्ने बढे। त्यसले सार्वजनिक यातायातको व्यापार घट्यो। त्यसले हाम्रो व्यापार पनि नराम्रोसँग प्रभावित भयो।'

श्रेष्ठका अनुसार बिस्तारै कमर्सियल सवारी साधनको व्यापार लयमा आएपनि तरलता अभावले समस्यामा पारेको छ। 'दसैंमा पूराना गाडी साटेर नयाँ किन्ने योजनामा व्यवसायी छन्,' उनले भने, 'तर यसपाली त्यस्तो वातावरण सिर्जना हुने अवस्था छैन्। अहिले  आर्थिक मन्दीले व्यवसायी पनि समस्यामा छन्।'

अशोक लेल्यान्डको नेपालको आधिकारिक बिक्रेता आइएमई मोटर्सका मार्केटिङ तथा विजनेश डेभलपमेन्ट प्रमुख किरण आचार्यले तरलता अभावले नयाँ गाडी किन्ने घटेको बताए। उनका अनुसार तरलता अभाव नभएको भए दसैंमा राम्रो व्यापार हुने अवस्था थियो।