
काठमाडौं। रिभ्याम्प नेपालको चौथो फेस्टिभ संस्करण आगामी असोज ८ गते शनिबार ठमेलको छायाँ सेन्टरमा हुने भएको छ। फाइब्रो नेपाल र आइडिया जार डिजिटलद्वारा संयुक्तरूपमा आयोजित यस कार्यक्रमका लागि आवेदन फारम खुला गरिएको छ।
यस कार्यक्रममा ६५ भन्दा बढी विभिन्न प्रोडक्ट तथा सेवाहरू प्रदान गर्ने स्टार्टअपहरु साथै प्रमुख व्यापारिक संस्थाहरूको सहभागिता रहने छ। हालसम्म ३५ वटा स्टार्टअपहरूले कार्यक्रममा सहभागिताका लागि नाम दर्ता गरिसकेको आयोजक सुरजराज पाण्डेले बताए।
स्टार्टअपहरूको लागि दर्ता शुल्क ३ हजार रुपैयाँ छ भने कार्यक्रमको एक हप्ताअघि दर्ता हुनेलाई ५ हजार शुल्क लिइने छ। यद्यपि अवलोकनकर्ताहरूको लागि भने प्रवेश नि:शुल्क गरिएको छ।
रिभ्याम्प नेपालको यस फेस्टिभ संस्करण दसैंको बजारलाई लक्षित गर्दै आयोजना गरिएको उनी बताउँछन्। सुरज भन्छन् ‘हाम्रो कार्यक्रम घटस्थापनाको दुई दिन अगाडि हुने लागेको छ। त्यतिबेला मनिसहरूसँग पैसा पनि हुन्छ र त्यो समय भनेको खर्च गर्ने समय पनि हो । खर्च कपडाहरू किन्न खोज्छन्, समानहरू जोड्न खोज्छन्। यही अवसरलाई सदुपयोग गर्न हामीले यस फेस्टिभ संस्करण आयोजना गर्दै छौं। ग्राहकहरूलाई पनि एकै ठाउँबाट ६० बढी प्रोडक्ट तथा सेवाहरुको बारेमा थाहा पाउने तथा छान्ने अवसर हुन्छ। त्यस्तै स्टार्टअपहरूले पनि राम्रो बजार पाउँछन्।’
बिहान १०:३० देखि ६:३० बजेसम्म चल्ने यस कार्यक्रममा ६५ बढी स्टार्टअपहरूले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नुका साथै रिभ्याम्प नेपालको फ्ल्यास मोब, विभिन्न खानाका परिकार, खेलहरुदेखि लाइभ संगीत लगायतका कार्यक्रमहरु पनि आयोजना हुने सुरज बताउँछन्। आयोजक टोलीले यस कार्यक्रममा ६ हजारभन्दा बढी अवलोकनकर्ताहरूको उपस्थितिको अपेक्षा गरिएको जनाएको छ।
महामारीबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानलाई प्रेरित गर्नका लागि २०२१ को सुरूमा रिभ्याम्प नेपालको अवधारणा गरिएको थियो। रिभ्याम्प नेपाल कार्यक्रम सन् २०२१ फेब्रुअरीमा बज क्याफेमा भैतिकरूपमा आयोजना गरिएको थियो भने सन् २०२१ अगस्टमा दुई दिनका लागि भर्चुअल रूपमा आयोजना गरिएको थियो।
त्यस्तै गत अप्रिलमा यस कार्यक्रमको तेस्रो संस्करण सम्पन्न भएको थियो। पहिलो संस्करणमा जम्मा १० स्टार्टअपहरू सहभागी भएका थिए दोस्रोमा १०० बढि र तेस्रोमा ७० बढि स्टार्टअपहरू,बैंक, इन्टरनेट सेवा प्रदायक, बिमा कम्पनी लगायतका संस्थाहरूको सहभागिता रहेको सुरज बताउँछन्।
पहिलो संस्करणबाट करिब ४ लाख तथा तेस्रो संस्करणबाट कारब २० लाखको कारोबार भएको सुरज बताउँछन्।
रिभ्याम नेपालले सहभागीहरूलाई प्रत्यक्ष रुपमा सम्भावित ग्राहकहरू र साझेदारहरूसँग अन्तरक्रिया गर्न र आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्न मद्दत गर्ने प्लेटफर्म प्रदान गरेर हालको संघर्षरत बजारलाई मद्दत गर्ने आयोजकहरूले विश्वास राखेको छन् ।