काठमाडौं। सरकारले विदेशी मदिरा र मोबाइल आयातमा प्रतिबन्ध खोल्ने भएको छ। आयात प्रतिबन्धपछि अवैध मदिरा र मोबाइल छ्यापछ्याप्ती भएपछि सरकारले प्रतिबन्ध खुला गर्न लागेको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमार्जित आयात प्रतिबन्ध प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ। विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले १० वस्तुको आयातमा चार महिनादेखि प्रतिबन्ध लगाउँदै आएको छ। यो प्रतिबन्धको अवधि मंगलबार सकिँदैछ।
आयात व्यवस्थापन गर्न एक समिति बनेको छ। यो समितिमा राष्ट्र बैंकका गर्भनर, महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामेश्वर दंगाल, वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल लगायत छन्।
प्रत्येक पटक प्रतिबन्धको प्रस्ताव गर्दा यो कमिटीले नै प्रस्ताव गर्छ। कमिटीका एक सदस्यका अनुसार आयात प्रतिबन्धलाई संशोधन गर्न लागिएको छ।
वाणिज्य मन्त्रालयका एक कर्मचारीले भने ‘आयातमा प्रतिबन्ध लगाउनुको प्रमुख उद्देश्य विदेशी मुद्रा सञ्चिति बढाउनु हो। तर यहाँ केही वस्तुमा आयात प्रतिबन्ध लगाउँदा अवैध रुपमा ती सामान भित्रिएर राजस्व असुली समेत प्रभावित भयो। त्यही भएर मदिरा र मोबाइल आयात खुकुलो गर्न खोजिएको हो।’
अहिले तीन सय अमेरिकी डलर माथिका महँगा फोनहरु बजारमा सजिलै पाइन्छ भने यस्तै मदिराको पनि कुनै अभाव भएको छैन। भारतबाट भन्सार छलेर नेपालमा मदिरा भित्र्याउने र प्रयोग भइसकेका अन्त:शुल्क स्टिकर प्रयोग गरी पुनः प्रयोग गरी बिक्री गरेको समेत भेटिन थालेको छ।
विश्व बजारमा लोकप्रिय आइफोनले नेपाल सरकारलाई नै पत्राचार गरी आयातमा प्रतिबन्ध नलगाइदिन आग्रह गरेपछि मोबाइलमा प्रतिबन्ध खुलाउन दबाब बढेको हो। मन्त्रालयले १५० सीसी क्षमताका मोटरसाइकलमा भने प्रतिबन्ध यथावत गर्ने तयारी गरेको छ। यस्तै महँगा गाडी आयातमा पनि प्रतिबन्ध यथावत राख्ने तयारी गरेको छ।
प्रतिबन्धले साउनमा १२ प्रतिशतले आयात घटेको छ।


