सिद्धबाबा सुरुङमार्गको निर्माण पुसबाट मात्र थालिने, डिजाइनको काम सक्न अझै ३ महिना लाग्ने



२०७९ भदौ १२ गते १७:५८ | Aug 28, 2022


सिद्धबाबा सुरुङमार्गको निर्माण पुसबाट मात्र थालिने, डिजाइनको काम सक्न अझै ३ महिना लाग्ने


काठमाडौं। सिद्धबाबा सुरुङमार्ग निर्माणको काम पुसबाट मात्र थालिने भएको छ। सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर सौरव बज्रचार्यका अनुसार अहिले यस आयोजनामा डिजाइन बनाउने काम भइरहेको छ।

Tata
Global Ime

सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाको जिम्मा अहिले विकास केन्द्रले नै लिएको छ। बज्रचार्यका अनुसार ५ वर्षको ठेक्का अवधिमा ९ महिना डिजाइनलाका लागि छुट्याइएको हो।

'निर्माण कम्पनीले अहिले डिजाइनको काम धमाधम गरिरहेको छ। यसको समय हाम्रो योजना अनुसार नै चलिरहेको छ,' उनले भने, 'निर्माण कम्पनीले डिजाइन सम्पन्न गर्ने समयावधि ९ महिनाभित्र नै सक्ने छ। अब ३ महिना जति मात्र समय बाँकी रहेको छ।'

तर निर्माण व्यवसायीले ठेक्का सम्झौता भएको दुई महिनापछि डिजाइनको काम सुरु गरेको हो। सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी ठेक्का पाएको थियो।

यसको ठेक्का इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा भएको हो। यसमा डिजाइनको काम निर्माण व्यवसायीले नै प्राविधिकमार्फत गरेर विकास केन्द्रलाई बुझाउनु पर्छ। विभागले डिजाइन स्विकृत गरेपछि मात्र निर्माणको काम अघि बढ्न बाटो खुल्छ।

बज्रचार्यका अनुसार सुरुङसम्बन्धी मापदण्ड बनेकाले त्योअनुसार डिजाइनको काम भएरनभएको हेरेर मात्र निर्माणको काम अघि बढाउन दिइनेछ। तर डिजाइनमा केही परिमार्जित गर्नुपर्ने आवश्यक भएमा फेरी डिजाइन बनाउन समय आवश्यक पर्ने बज्रचार्यले बताए।

यस आयोजनाको ठेक्का सम्झौता गत फागुन २६ गते भएको थियो। सम्झौता अनुसार डिजाइनको लागि अझै समय बाँकी रहेको छ। निर्माण व्यवसायीले ५ वर्षभित्र उक्त सुरुङमार्गको निर्माण कार्य सम्पन्न गर्नुपर्ने र त्यसपछि ५ वर्षसम्मको मर्मतसंभारको पनि जिम्मा लिनुपर्ने गरी सम्झौता भएको हो।

मूल सुरुङमार्ग ११ सय २६ मिटर लम्बाइको हुने केन्द्रले जनाएको छ। निर्माण कम्पनीसँग गरिएको ठेक्का सम्झौता अनुसार माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्म १ हजार १ सय २६ मिटर लम्बाइको सुरूङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ।

अहिले रहेको सडक करिब ५ किलोमिटर लामो रहे पनि पहाडको बीचबाट छेडेर सुरूङमार्ग निर्माण गर्दा दूरी घट्ने छ।