
काठमाडौं। सरकारले निजी गाडी आयात प्रतिवन्ध थप एक महिना लम्ब्याउने भएको छ। केही दिन अघि वाणिज्य सचिव डा. गणेश पाण्डेसँग अटो व्यवसायीले गरेको भेटमा एक महिनापछि आयात खोल्ने जानकारी दिएका थिए।
ती अटो व्यवसायीका अनुसार मन्त्रालयले एकै चोटी सबै कुराको आयात खोल्दा विदेशी मुद्रा संचितिमा दबाब पर्ने भएकाले एक महिना थप गर्न लागिएको जानकारी आएको छ।
'छलफलका क्रममा सचिव पाण्डेज्यूले हाल मोबाइल र विदेशी मदिराको धेरै अवैध ढंगबाट आयात भएका कारण खोलिएको बताउनुभयो,' उनले भने, ' तपाईहरु एक महिनासम्म धैर्य गर्नुपर्ने अवस्था देखिएको छ।'
उनका अनुसार कम मूल्यका गाडीको आयात खोल्न आग्रह गरिएको छ। ती व्यवसायीले गाडी आयात प्रतिवन्ध लगाएर सरकारले अन्याय गरेको आरोप लगाए। 'विदेशी मुद्रा संचितिमा गाडीले कुनै प्रभाव पारेको छैन। गाडी आयातमा एक प्रतिशत मात्रै पैसा विदेशिने हो। तर यसले राजस्वमा ठूलो योगदान गर्छ,' उनले भने।