
काठमाडौं। महिलाहरु गरगहना लगाएर झपक्क हुने भएकाले तीजको बेला बर्सेनि सुनचाँदीको कारोबार उच्च हुने गरेको हो। तर यो पल्ट बिक्री सिजनमा व्यवसायीको अपेक्षाअनुसारको व्यापार छैन। तीज आउनु २/३ साता अघिदेखि नै कारोबार बढ्नेमा यो पटक उल्टो छ।
अघिपछिका तुलनामा तीजमा कारोबारले गति नलिएको व्यवसायी बताउँछन्। हरेक वर्ष तीजको समयमा करिब ४० केजीभन्दा बढी सुनको माग हुने गरेको थियो। तर कोभिडयता बजारमा तीजको समयमा सुनको मागसँगै कारोबार आधै घटिरहेको छ।
तरलता अभावसँगै सेयर बजार र घरजग्गाको कारोबार घटेपछि सुनको व्यापार प्रभावित भएको हो। सेयर र घरजग्गामा कमाएको पैसा केही सुनतिर आउने गर्थ्यो।
यसले गर्दा बजारमा माग अनुसारको सुन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसपालीको तिजमा सुनको माग निकै कम रहेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए।
'तीज सुरु भएपछि बजारमा दैनिक २० देखि २५ केजी सुनको माग हुनु स्वाभाविक हो,' उनले भने, 'अहिले माग, आयात र कारोबार सबै घटेको छ।' केही महिनायता बजारमा दैनिक १० केजी सुनको खपत छ। 'तीजमा माग नबढेको होइन। तर, व्यवसायीको अपेक्षाअनुसारको माग उच्च छैन,' उनले भने।
महासंघले तीजभरी दैनिक ३० केजीभन्दा बढी सुन खपत हुने अनुमान गरेको थियो। अहिले सुनको आयात पनि कम छ। दैनिक १० किलो आयात हुने भए पनि केही दिनदेखि सुन आयात नियमित छैन। यसले कारोबारमा थप असर गरेको उनले बताए।
यतिबेला गहना बनाउन चाहनेले खोजेको परिमाणमा सुन झट्ट किन्न पाउने अवस्था छ। तर ग्राहकसँग पैसा भएको जस्तो देखिएको छैन। आवश्यक पर्ने ग्राहकले मात्र थोरै परिमाणमा सुन खरिद गरिरहेको महासंघले जनाएको छ।
तीजको सुनको कारोबार करिब ५० प्रतिशतभन्दा कम भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। कोभिड अघि तीजको समयमा सुनको कारोबार दैनिक ४० केजीभन्दा बढी हुने गरेको थियो। अहिले भने दैनिक थयसको आधाभन्दा कम रहेको उनले बताए।
'मान्छेको क्रय शक्ति नै घटेको जस्तो लाग्छ। सुनप्रति आकर्षण घट्दो छ,' उनले भने। तीजका लागि सुन अर्डर आउने समयमा मूल्य प्रतितोला ९३ हजारबाट ९८ हजार पुगेको थियो। मूल्य घटबढ हुँदा ग्राहकले सुन किन्ने आँट नगरेको उनको भनाइ छ। यसकारण सुनको व्यापार कम र बजार सुस्त रहेको हो।
उनका अनुसार माग कमजोर हुँदा व्यवसायीहरुसँग भएको स्टक र फिर्ता आएको सुनले पुगिरहेको छ। 'सबैतिर सुनको माग न्यून रहेको जानकारी आइरहेको छ। अघिल्ला वर्ष भन्दा सुनको डिमाण्ड घट्दै गएको हो,' उनले भने, 'कच्चा सुनको धेरै नहुँदा आएको अर्डर पनि लिन नसकेको अवस्था छ।'
बजारमा भिडभाड बढे पनि सुनको कारोबार गत वर्षको हाराहारीमै भएको पूर्व अध्यक्ष शाक्यले बताए। गत वर्ष कोभिडको असरले गर्दा सुनको कारोबार २० देखि २५ केजीको हाराहारीमा भएको उनको भनाइ छ।
तीजमा सुनको माग धेरै नआउनु यो व्यवसायका लागि राम्रो संकेत नभएको जे जे ज्वेलर्सका संचालक पवन सोमानियाले बताए। 'सुनको सिजन चलिरहे पनि कारोबार उल्लेख्य छैन,' उनले भने, 'यतिबेला ग्राहकले मागे जति सुन पनि दिन सकिने अवस्था छैन।'
तीजका लागि ग्राहकले फिर्ता आएको र रेडिमेड सुन बिक्री भइरहेको छ। कच्चा सुन नपाएपछि धेरै ग्राहकले पुरानो एक्सचेन्ज गरेर गहना बनाएर राखेको सुन लगेका हुन्। 'ग्राहकसँग अन्य विकल्प छैन। फिर्ता आएको सुन बनाएर भए पनि ग्राहकको माग पुरा गरेका छौं,' उनले भने। तरलताको कमीले सुनको आयातसँगै तीजमा अपेक्षा अनुसारको कारोबार नभएको व्यवसायीहरुको ठहर छ।
गत वर्षको भन्दा आधा घट्यो आयात
चालु आर्थिक वर्षको पहिलो महिनामा करिब २ लाख ६ हजार ग्राम सुन आयात भएको छ।
जुन १ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरको हो। गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ४ लाख ५८ हजार ५ सय ग्राम सुन आयात भएको थियो। यो ३ अर्ब १६ करोड रुपैयाँ बराबरको रहेको भन्सार विभागले जनाएको छ ।