चिनियाँ कम्पनीले गर्न खोजेको ‘फ्रड’, चार्जिङ स्टेसनका लागि आएका ट्रान्सफर्मर गुणस्तरहीन



२०७९ भदौ १५ गते १३:०७ | Aug 31, 2022


काठमाडौं। १५ वर्षअघि ७ अर्बमा किनेको ट्रान्सफर्मरजस्तै चिनियाँ कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई फेरि गुणस्तरहीन ट्रान्सफर्मर बेचेको फेला परेको छ।

Tata
Global Ime

प्राधिकरणले निर्माण गर्न लागेको चार्जिङ स्टेसनका लागि ल्याएको ५० वटा ट्रान्सफर्मर परीक्षण गर्दा १५ वर्ष अघिजस्तै गुणस्तरहीन भेटिएको हो। प्राधिकरण स्रोतका अनुसार १५ वर्षअघि चिनियाँले बेचेको ट्रान्सफर्मर र अहिले चार्जिङ स्टेशनका लागि ल्याएको ट्रान्सफर्मरमा देखिएको समस्यामा समानता छ।

झन्डै ७ अर्ब खर्चेर खरिद गरिएका ४ हजार ६ सय ५७ ट्रान्सफर्मरमध्ये अधिकांश गुणस्तरहीन पाइएपछि कम्पनी प्रतिनिधि, प्राधिकरणका उच्च अधिकारी, पूर्व उच्च अधिकारीसहित ५० भन्दा बढी कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा परेको थियो।

२०६४ सालपछि लैनचौर, हेटौंडा लगायतका वर्कशपमा ल्याइएका लाखौं पर्ने ट्रान्सफर्मरहरुबाट बढी चुहावट हुने, चाँडै बिग्रने, जल्ने, फुल लोड नधान्ने समस्या आएपछि छानबिन समिति गठन गर्दा दोषी देखिएको थियो। तर अहिले भने प्राधिकरणको नेतृत्वले भने बेलैमै गल्ती पत्ता लगाएर ट्रान्सफर्मर फिर्ता पठाएको छ।

यो पनि पढ्नुहोस्

अर्बौं रुपैयाँ घोटाला भएको गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा मिरर न्युजको एक्सक्लुसिभ

चिनियाँ कम्पनीसँग ३७ करोडको ठेक्का

प्राधिकरणले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मरको ठेक्का आह्‍वान गर्‍यो। त्यो टेन्डरमा चिनियाँ कम्पनी वानब्याङ डिजिटल इनर्जीले ठेक्का पायो। प्राधिकरण र इनर्जीबीच ३७ करोड ७९ लाख रुपैयाँमा सम्झौता भएको थियो।

कम्पनीले चीनबाट ५० वटा ट्रान्सफर्मर ल्यायो। ट्रान्सफर्मर ल्याएपछि प्राधिकरणको वर्कशप हेटौंडामा परीक्षण गरिएको थियो। एक महिना अघि परीक्षण गर्दा ५० वटै ट्रान्सफर्मर गुणस्तरहीन रहेको फेला परेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

ट्रान्सफर्मरमा तोकिएको भन्दा धेरै लस(नोक्सानी)आएकोले फिर्ता पठाइएको उनको भनाइ छ। ‘उहाँहरुले चीनबाट ल्याएका ट्रान्सफर्मरमा लस धेरै आयो। हाम्रो स्ट्याण्डर्ड अनुसार नभएपछि राख्ने कुनै भएन,’ उनले बिजमाण्डूसँग भने,’चीनबाट पुन: ल्याएर राख्छौं भनेका थिए। ढिला हुने भएर हामीसँग भएका ट्रान्सफर्मर तत्कालका प्रयोग गरेका छौं। उताबाट आएपछि रिप्लेस हुन्छ।’ 

तर कम्पनीले चार्जिङ स्टेसनका लागि ल्याएको २०० केभी क्षमताका ट्रान्सफर्मरहरु फेल भएपछि प्राधिकरणले आफैंसँग भएका ट्रान्सफर्मर प्रयोग गरेर चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।

भएको के हो ?

प्राधिकरणले ट्रान्सफर्मर किनेपछि प्रत्येकलाई आफ्नै प्रयोगशालामा परीक्षण गरेर मात्रै लिन्छ। प्राधिकरणका एक उच्च अधिकारीका अनुसार केन्द्रिय वर्कशपमा ५० वटा ट्रान्सफर परीक्षणका लागि चिनियाँ कम्पनीले लगेको थियो।

२०० केभीए क्षमताका ट्रान्सफर्मर भनेर ल्याए पनि १०० केभीए साइजका थिए। सोही कारण प्राधिकरणका अधिकारीहरुले साइज सानो भएको भन्दै शंका व्यक्त गरेका थिए। कम्पनीका प्रतिनिधिले चीनमै परीक्षण भइसकेको बताएपछि पुन: परीक्षण गरिएको थियो।

ती अधिकारी अनुसार दुईवटा ट्रान्सफर्मर परीक्षण भयो। परीक्षण गर्दा नोक्सानी दोब्बरभन्दा बढी देखियो। प्रयोगशालामा ‘लोड लस’ र ‘नो लोड लस’ गरि दुई थरी परीक्षण गरिन्छ। २००केभीए ट्रान्सफरको २१०० वाटभन्दा बढी लस आउनु हुँदैन। प्राधिकरणका एक प्राविधिकका अनुसार कम नोक्सानी आएमा मात्रै ट्रान्सफर्मर राम्रो मानिन्छ। ती प्राविधिकका अनुसार सबै ट्रान्सफर्मरको नोक्सानी ४६ सय भन्दा बढी आयो। उनका अनुसार ‘नो लोड लस’ ३६५ वाटसम्म आउनुपर्नेमा ५२० वाट हाराहारी आएको छ।

ट्रान्सफर्मरको क्षमता तापक्रम परीक्षण गरेर पत्ता लगाउन सकिन्छ। त्यसपछि प्राधिकरणका अधिकारीहरुले तापक्रम परीक्षण गर्ने तयारी गरे। ‘लसपछि हामी टेम्प्रेचर परीक्षण गर्छौ। हामीले उहाँहरुलाई तापक्रम परीक्षण गर्दा आधा क्षमताको भन्दै जल्ने चेतावनी दियौ,’ प्राधिकरणका ती अधिकारीले भने, ‘उहाँहरुले परीक्षण गर्नै मान्नु भएन। त्यसपछि हामीले फेल भएको परीक्षण सर्टिफिकेट लिनुस् भन्यौ। तर, उहाँहरुले मान्नु भएन।’

केन्द्रीय वर्कशपमा दुईवटा छुट्टा छुट्टै ल्याब छन्। ‘हामीले दोस्रो ल्याबमा पनि परीक्षण गरेर हेर्‍यौं। त्यसमा पनि फेल देखियो। पहिलो ल्याबमा जस्तो विवरणहरु आएका थिए। त्यही नै देखिए,’ उनले भने।

ती अधिकारीहरुले समान साइज र रेटिङको भएकाले सबै फेल हुने अवस्था रहेको बताए। त्यसपछि चिनियाँ कम्पनीका प्रतिनिधिहरुले निजी ल्याबमा पनि परीक्षण गर्न लैजादा समेत फेल भयो। ती ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तारसमेत आधाभन्दा कम प्रयोग भएको भेटिएको छ।

२०० केभीए ट्रान्सफर्मरको परीक्षणका लागि ५००० रुपैयाँ र भ्याट तिर्नुपर्छ। ५० वटै ट्रान्सफर्मरको परीक्षणका लागि लाग्ने शुल्क पहिले नै बुझाउनुपर्छ। कम्पनीको तर्फबाट उक्त शुल्क समेत बुझाइएको थियो। ‘दुईवटा ट्रान्सफर्मर हामीले परिक्षण गरिसकेका छौं। त्यसको शुल्क कटाएर ४८ वटा  ट्रान्सफर्मको पैसा फिर्ता लैजान आग्रह गरेका छौं। उहाँहरुले मान्नु भएको छैन,’ प्राधिकरणका ती अधिकारीले भने।