बुटवलमा बहुतले पार्किङ निर्माणका लागि अध्ययन, परामर्शदाता कम्पनीसँग सम्झौता



२०७९ भदौ १५ गते २०:४३ | Aug 31, 2022


बुटवलमा बहुतले पार्किङ निर्माणका लागि अध्ययन, परामर्शदाता कम्पनीसँग सम्झौता


बुटवल। बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ। बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बिचमा डीपीआर तयारका लागि सम्झौता भएको छ।

Tata
Global Ime

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबिच सम्झौता भएको हो।

सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभित्र बहुतले कार पार्किङका लागि लगानी र डिजाइनको काम गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

बस टर्मिनल क्षेत्रको दक्षिणपट्टिको भागमा बहुतले पार्किङ भवन बनाउनका लागि लागत र डिजाइन तयार भइसकेपछि पुनः निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाउने उनले अताए। नगर विकास कोषको ९० प्रतिशत लगानी र बुटवल उपमहानगरपालिकाको १० प्रतिशत लगानी हुने गरी बुटवलमा बहुतले पार्किङ तयार हुने उनको भनाइ छ।

परामर्शदाता कम्पनीले ४ महिनाभित्र बहुतले पार्किङको डिजाइन स्टिमेट र टेण्डर डकुमेन्टसमेतको काम गर्ने शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए। बुटवलमा बढ्दो शहरीकरणका कारण बढ्दै गएको ट्राफिक व्यवस्थापनका लागि बहुतले पार्किङस्थल उपयोगी हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

उनले बुटवलमा बहुतले पार्किङ आवश्यक भएकाले नगर विकास कोष र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा आधुनिक पार्किङ भवन निर्माण हुने बताए।