
काठमाडौं। मेलम्ची नगरपालिकामा पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ। काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल र मेलम्चीका नगर प्रमुख आइतमान तामाङले शनिबार संयुक्तरूपमा भोटेचौर एकीकृत पर्यटकीय पूर्वाधार निर्माणको शिलान्यास गरेका छन्।
भगिनी सम्बन्ध भएका नगरसँग सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धनमा साझेदारी कार्यक्रम सञ्चालन गर्ने क्रममा पर्यटकीय पूर्वाधार निर्माणका लागि काठमाडौं महानगरपालिकाले लागतमा साझेदारी गर्ने भएको हो।
मेलम्ची नगरपालिका र काठमाडौं महानगरपालिका बीच भगिनी सम्बन्ध छ। २०७७ पुस २१ मा दुई नगरबीच भगिनी सम्बन्ध स्थापना सम्झौता भएको थियो। महानगरले सम्बन्ध स्थापनापछि मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग सम्झौता गरेको थियो। २०७८ असार १ गते नदीमा आएको बाढीले बजार क्षेत्रमा क्षति पु¥याएपछि राहत तथा पुनर्स्थापना व्यवस्थापन गर्न २ करोड रुपैयाँ उपलब्ध गराएको थियो।
शिलान्यासपछि प्रमुख अतिथि डंगोलले भगिनी सम्बन्ध आर्थिक लेनदेनका लागि मात्र नभइ, सांस्कृतिक आर्थिक विकासका पक्षमा अनुभव तथा सिकाइ आदानप्रदानका लागि पनि भएको बताइन। 'मेलम्चीले काठमाडौँलाई पानी दिएको छ। कृषिजन्य उत्पादनबाट काठमाडौँलाई टेवा पुर्याएको छ। यसरी काठमाडौंलाई सहयोग दिइरहेको मेलम्चीसँग भगिनी सम्बन्ध गाँसिएकोमा हामी हर्षित छौं,' उनले भनिन्।
मेलम्चीका नगर प्रमुख तामाङले भोटेचौर पर्यटकीय पूर्वाधारले काठमाडौं र मेलम्ची बीचको सम्बन्धलाई पछिल्लो पुस्ताले हेर्न पाउने बताए। 'यो १८ करोड ३५ लाख लागतको परियोजना हो। पहिलो चरणमा २ करोड २० लाख लागत बराबरको काम गर्दैछौँ,' उनले भने। अनुमान गरिएको लागतमा बोलपत्रबाट २ करोड ४ लाख ५६ हजारमा काम हुने जानकारी उनले दिए
नगर साझेदारी कार्यक्रमअन्तर्गत यस अघि मेलम्ची सिटी पार्क निर्माण कार्य थालिएको थियो। मेलम्चीका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीले सिटी पार्कलाई पुनर्स्थापना गर्न नसकिने गरी क्षति पुर्याएपछि भोटेचौर पर्यटकीय पूर्वाधारमा योजना सारिएको जानकारी दिए।
मेलम्चीले साझेदारी कार्यक्रमअन्तर्गत अगाडि बढाएको परियोजनामा प्राविधिक सहयोग आवश्यक भए काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउनेछ। कार्यक्रममा महानगरको पूर्वाधार निर्माण विभागका प्रमुख राम थापाको भनाइ थियो ।
मेलम्ची नगरको वडा १ र २ को खाल्टे, पाताल गुफा, तपोचुली डाँडा र चिया बगानसम्मको क्षेत्रलाई समेटेर पार्क निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको छ। यो भोटेचौर केदारेश्वर मन्दिर पछाडिपट्टिको भूभागमा पर्छ।
साढे ४ किलोमिटर क्षेत्रको व्यवस्थित पद मार्ग योजनाको मुख्य विशेषता हो। यसका लागि भिरालो जमिनमा बनाइने १ हजार ६ सय सिँढीसहितको ७ हजार ५२ फिट (२ हजार १५० मिटर) लामो यात्रा मार्ग बनाइनेछ। यात्राका क्रममा यात्रुलाई आवश्यक पर्ने आराम गर्ने पाटी, दृश्यावलोकनका लागि भ्युटावर निर्माण गरिनेछन्।
वन क्षेत्र भएकाले वनभोज स्थल बनाइनेछ। त्यस्तै शिव र बुद्धको मूर्ति, मेलम्चीको कृषि उपज देखाउन किवी र चियाका बिम्बहरु, रक क्लाइम्बिङ पर्खाल बनाइने डिजाइनमा छ।