काठमाडौं। नेपाल पर्यटन बोर्ड र अठोट नेपालको सहकार्यमा प्रिजेन्टिङ नेपाल फोटो प्रतियोगिता सम्पन्न भएको छ।
पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्री जीवनराम श्रेष्ठले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरे।
चार विधा नेचर, कल्चर, वाईल्ड लाइफ तथा लाइफस्टाइल मा करिब सात सय फोटोग्राफरका २ हजार ७ सय फोटो प्रतिस्पर्धामा थिए।
यसमध्ये नेचर विधामा टासी घलेको फोटो विजयी भयो। कल्चर विधामा रोजेन महर्जन, वाइल्ड लाइफ विधामा विनय रावल तथा लाइफस्टाइल विधामा सुशील श्रेष्ठको फोटोले जित हात पारे।
विजेताहरुलाई ५०/ ५० हजार नगद पुरस्कार दिइएको थियो।
उत्कृष्ट चारमध्ये फोटो अफ द ईयरको उपाधि टासी घलेको फोटोले पायो।
विजेतालाई पुरस्कार वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले यस्ता प्रतियोगिताहरुले पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले नेपालमा सिजनल मात्र होइन बाह्रै महिना पर्यटकहरुको आवागमन हुने गरी विविध कार्यक्रमहरु गर्नुपर्ने धारणा राखे।
अठोट नेपालका अध्यक्ष तथा प्रिजेन्टिङ नेपाल, अल नेपाल फोटो कम्पिटिसन तथा एक्जिबिसन २०२२ का संयोजक देवेन्द्रबहादुर शाहीले यो प्रतियोगितालाई आगामी वर्ष सातै प्रदेश तथा भविष्यमा अन्तराष्ट्रिय स्तरमा समेत आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर जगदीश तिवारी, वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ, पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, नबिल बैंकका नायब कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा फोटोग्राफर भरतबन्धु थापा रहेको आयोजकले जनाएको छ।