त्रिशूली रिभरसाइड रिसोर्टमा थपिए साहसिक खेल, स्काइरोप साइक्लिङ र जिपलाइनको अनुमति पायो



२०७९ भदौ १९ गते ०९:१३ | Sep 4, 2022


त्रिशूली रिभरसाइड रिसोर्टमा थपिए साहसिक खेल, स्काइरोप साइक्लिङ र जिपलाइनको अनुमति पायो


काठमाडौं। रिभरसाइड रिसोर्टले स्काइरोप साइकलिङ र जिपलाइन सेवा सञ्चालनका लागि पर्यटन विभागबाट स्वीकृति पाएको छ।

Tata
Global Ime

रिभरसाइड स्पा एण्ड रिट्रिट प्रालिद्वारा सञ्चालित रिसोर्टले साहसिक खेलमा जिपलाइन र स्काइरोप साइक्लिङ पनि थप्न पूर्वाधार तयारीसँगै अनुमति लिन प्रक्रिया अघि बढाएको थियो।

व्यवसाय सञ्चालनको इजाजतपत्र (लाइसेन्स) पाएसँगै पूर्वाधार पनि तयार रहेको सञ्चालक उद्धव कँडेलले बताए। 

‘एक दशकभन्दा लामो समयदेखि र्‍याफ्टिङ, क्यानोनिङ, कायाकिङ सञ्चालन गर्दै आएका थियौं। पछि जिपलाइन र स्काइरोप साइक्लिङ पनि सुरु गरेका हौं,' उनले भने,'नदी माथि यो नै नेपालको पहिलो स्काइरोप साइक्लिङ हो। सञ्चालनमा आएको केही समयमै यी दुई साहसिक खेल हाम्रो रिसोर्टमा सञ्चालन गर्न पर्यटन विभागबाट इजाजतपत्र पाइसकेका छौं।’

काठमाडौंबाट ७० किलोमिटर दुरीमा मलेखु नजिकै मालिङ्गामा रहेको यो रिसोर्टको स्काइरोप साइक्लिङमा २ वटा ट्रयाक रहेको उनले जानकारी दिए। उनका अनुसार एउटा ट्रयाकमा एक जना खेल्न मिल्छ भने अर्कोमा जोडी नै एकैसाथ खेल्न मिल्ने व्यवस्था छ।

दुई तर्फी दुरी ३५० मिटर रहेको साइक्लिङका लागि प्रतिव्यक्ति सात सय रुपैयाँ र फोटो भिडियोको लागि थप पाँच सय शुल्क निर्धारण गरिएको कँडेलले जानकारी दिए।

रिसोर्टमा रहेको जिपलाइनमार्फत त्रिशूली नदी वारपार गर्ने गरी तयारी गरिएको उनले बताए। रिसोर्ट परिसरबाट जिपलाइन नदी पारीतर्फ ल्यान्डिङ हुन्छ। दुई सय मिटर लामो जिपलाइन खेल्न एक हजार रुपैयाँ र फोटो भिडियो बनाउन पाँच सय लाग्ने कँडेलले जानकारी दिए।

'जिपलाइन गरेर नदी पार गर्ने पर्यटक स्काइ साइक्लिङ गरेर फर्कन सक्छन्। यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत पाउने उनी बताउँछन्,' उनले भने।

रिसोर्टले आफ्नो क्षमता विस्तार गर्ने क्रममा जिपलाइनको ल्यान्डिङ स्टेशन रहेको क्षेत्रमा २५ वटा भिल्ला, टेन्टेड क्याम्प, स्पा, साउना, स्टिम, स्विमिङ पुल तयारी सुरु गरिसकेको छ। उनका अनुसार जिपलाइन र स्काइरोप साइक्लिङको लागत करिब दुई करोड रुपैयाँ रहेको र आगामी दिनमा अन्य साहसिक गतिविधि थप्दै जाने योजना रहेको उनले बताए।