कोरोनापछि हेभी इक्विपमेन्टको व्यापार चौपट, मार्केट लिडरको पनि मासिक ३० वटा बिक्री छैन



२०७९ भदौ १९ गते ०९:२३ | Sep 4, 2022


काठमाडौं। कोरोनापछि हेभी इक्विपमेन्ट (निर्माण उपकरण)को व्यापार चौपट भएको छ। हेभी इक्विपमेन्ट कारोबार गर्ने व्यवसायीका अनुसार कोरोना महामारी भन्दा अघि मासिक एउटा कम्पनीको सरदर १५० युनिट बिक्री हुन्थ्यो।

Tata
Global Ime

 तर हाल ती कम्पनीहरुले मुस्किलले २ देखि १० युनिटसम्म बिक्री गर्न सकेका छन्। कोरोना अगाडि कम्पनीहरुको वार्षिक रूपमा २ हजारभन्दा धेरै हेभी इक्विपमेन्ट बिक्री हुन्थ्यो।

हाल त्यसको २०-४० प्रतिशत मात्र बिक्री हुने गरेको छ। २०७७/७८ मा सबै हेभी इक्विपमेन्टहरुको आयात २ हजार १ सय ६३ युनिट बिक्री भएको छ। त्यसपछि २०७८/७९ मा घटेर १ हजार ८ सय ७७ युनिट आयात भएका छन्।

तर हाल सबै कम्पनीले मासिक कुल ३० वटा मात्र बिक्री भइरहेको छ। हालसम्म ७ हजार २ सय ७३ युनिट हेभी इक्विपमेन्ट आयात भएका छन्। एस्काभेटरको बजार ३५ प्रतिशत छ। हालसम्म यसको आयात २ हजार ५ सय ६४ युनिट आयात भएका छन्। यसैगरी ब्याक-हो लोडर हालसम्म ३ हजार ३ सय ५३ वटा आयात भएका छन्।

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल अन्तर्गत रहेको हेभी इक्विपमेन्ट समिति तथा व्यवसायीहरुका अनुसार कोरोना अघिका वर्षहरुमा लगभग १६ अर्ब बराबरको कारोबार हुने गरेको थियो। तर हाल ९ अर्ब भन्दा कम कारोबार हुने गरेको छ।

कोरोना अघि नेपालमा विकासको कामले तीव्रता पाउदा हेभी इक्विपेन्ट भाडामा लगाउने प्रचलन पनि बढ्दै गएको थियो। एकपटक लगानी गरेर राख्ने र त्यसलाई भाडामा लगाउनेहरुको संख्या बढ्दै जाँदा व्यापार पनि फैलिदै गएको थियो।

देश संघीयतामा गएपछि कतिपय स्थानीय तहले पनि हेभी इक्विपमेन्ट किनेका छन्। यस्तै निजी क्षेत्रले विभिन्न ठूला परियोजना निर्माण गर्न थालेकाले पनि यसको आयात बढेको देखिन्छ। तर कोरोनापछि विकास निर्माणका कामले तीव्रता नपाउँदा भने यसको व्यापारमा कमी आएको व्यवसायीहरु बताउँछन्।

एमएडब्लु अर्थमुभर्स प्रालि नेपालमा हेभी इक्विपमेन्टको सबैभन्दा ठूलो आयातकर्ता हो। यसले जेसीबीका हेभी इक्विपमेन्टहरु बिक्री गर्ने गरेको छ। यो कम्पनीमा ४०० भन्दा बढी कर्मचारी छन्। कम्पनीले ब्रेक इभनमा रहिरहन पनि मासिक ८० वटा मेसिन बिक्री गर्नुपर्छ।

नेपालमा कोरोना अगाडि हेभी इक्विपमेन्टको व्यापारमा ठूलो वृद्धि भएपछि एमएडब्लु जेसीबीको 'क्लब २०००' को पहिलो सदस्य बनेको थियो। २०१७ मा उसले दुई हजारभन्दा बढी जेसीबीका हेभी इक्विपेन्टहरुको बिक्री गरेको थियो। अहिले यही कम्पनीको ८ सय १८ युनिट बिक्री हुने गरेको छ। यो ब्याक-हो लोडर, एस्काभेटर तथा अन्य मेसिनरी उपकरणहरु छन्।

जेसीबी बिक्री गर्ने रिलायबल अर्थमुभर्सका मिलनबाबु मल्लका अनुसार अहिले यही कम्पनीको व्यापार पनि संकटग्रस्त बनेको छ। उनका अनुसार हाल मुस्किलले मासिक १० युनिट बिक्री गर्न पनि कठिन स्थिति छ। 'कोरोना अगाडि वार्षिक एक हजार युनिटभन्दा माथि बिक्री हुने गरेको थियो। अहिले त्यसको २० प्रतिशत हुन पनि गाह्रो परेको अवस्था छ,' उनले बिजमाण्डूसँग भने।

मल्लका अनुसार अहिले पनि एकदम ठूलो निर्माण कम्पनीहरुले मात्र किन्ने गरेका छन्। त्यसमा पनि हाइड्रोपावर कम्पनी, 'ए' क्लासको कन्ट्रयाक्टरहरु लगायतका कम्पनीले मात्रै किन्ने गरेका छन्।

कम्पनीका अनुसार हाल कम्पनीसँग १ सय ४५ युनिटभन्दा धेरै स्टकमा छ।

५ महिनादेखि डीओको पैसा रोकियो, बैंकको लगानी शून्य

कम्पनीहरुका अनुसार बैंकहरुले ५ महिनादेखि डेलिभरी अर्डर (डीओ)को पैसा समेत दिएका छैनन्। मल्लले यो उपकरणहरु नगदमा किन्न नसकिने भएकाले तरलता अभावका सिर्जना भएपछि बैंकहरुले ऋण नदिएपछि व्यवसाय थप संकटमा परेको छ।

'यो व्यक्तिले एक्लै किन्न मिल्दैन। कम्पनीको नाममा किन्नुपर्छ। त्यसैले १०० प्रतिशत फाइनान्समा बिक्री हुन्छ। यसको मतलब सबै बैंकमार्फत कारोबार हुने हो,' उनले भने, 'बैंकले नै लगानी नगरेपछि व्यापार चौपट भएको छ। कुनै कम्पनीले आफ्नो क्रेडिट लिमिट बाँकी रहेकाले हेभी इक्विपमेन्ट किन्ने गरेका छन्।'

बर्खामा विकास निर्माणका काम नहुने भएकाले अफसिजन हो। तर कोरोनापछि एक वर्षमा चार सयवटा पनि बिक्न मुस्किल रहेको उनी बताउँछन्। मल्लका अनुसार अहिले भएका मेसिनहरु पनि सबै होल्डमा छन्।

'यो समयमा व्यवसायीले मेसिनहरु सर्भिसिङ गर्ने गर्छन्। तर अहिले उनीहरुसँग मेसिन सर्भिसिङ गर्न लाग्ने पैसा समेत छैन। एउटा हेभी इक्विपमेन्टको लागि २ लाखसम्म पैसा आवश्यक पर्छ तर त्यति पैसा समेत नहुँदा मानिसहरु मेसिन सर्भिसिङ गर्न समेत आइरहेका छैनन्,' उनले भने, 'केही दिन अगाडि एक जना सर्भिसिङ गर्न आएका थिए तर अहिले पैसा छैन भनेर मेसिन लिन पछि आउँछु भनेर फर्किए।'

केस ब्राण्डका डोजर तथा एक्जाभेटरहरु शंकर ग्रुपको जगदम्बा कन्स्ट्रक्सन सोलुसनले बिक्री गर्छ। यो कम्पनीमा १०० कर्मचारी छन्। ११ ब्रान्च अफिसको रेन्ट, कर्मचारीको तलब, अपरेशन कष्ट लगायत खर्च धान्न समेत मुस्किल हुने अवस्था सिर्जना भएको कम्पनी स्रोतले बताएको छ। ३ महिनादेखि ४५ वटा मेसिन स्टकमा रहेको कम्पनीले जनाएको छ।

किन घटिरहेको छ हेभी इक्वीपमेन्टको प्रयोग?

केस कम्पनीका व्यापार प्रमुख अभिनव प्रतापका अनुसार हेभी इक्विपमेन्टको व्यापार घट्नु कोरोना प्रमुख कारण हो भने त्यसलाई तरलताले थप संकटमा पुर्‍यायो।

'कोरोनाको समय निर्माणको काम भएन मेसिनरी पनि बिक्री भएन। तर लकडाउन खुलेपछि काम फेरि सुरु हुन थाल्यो,' उनले भने, 'तर मेसिन खरिद गर्न तरलता अभाव सिर्जनाले बैंकले ऋण दिन बन्द गर्न थाले। सबै इक्विपमेन्ट फाइनान्स गरेर किन्ने हो। जसमा ३० प्रति डाउन पेमेन्ट र ७० प्रतिशत बैंकले डीओ दिने हो। तर हाल ५ महिनादेखि बैंकले डीओ दिएका छैनन्। जुन क्रेडिटमा बिक्री भएको थियो त्यसको डीओ आएको छैन।'

उनका अनुसार कम्पनीको एस्काभेटर मासिक १० वटा बिक्री हुन पनि मुस्किल भएको छ। प्रतापका अनुसार कोरोना अघि मासिक डेढ सयवटा बिक्री हुन्थ्यो। उनले ठूला निर्माण व्यवसायीलाई समेत बैंकले ऋण नदिएको बताए। 'मंसिरमा दुवै तहको निर्वाचनको घोषणा भएको छ। त्यसैले यो वर्ष पनि विकास निर्माण हुने सम्भावना छैन,' उनले भने।

कम्पनीले कोरोना अघि वार्षिक ८०० वटा ब्याक-हो लोडर बिक्री हुने गरेको थियो। त्यस्तै एक हजार वटा स्काभेटरको बिक्री हुने गरेको थियो। कोरोनापछि यसको ४५ प्रतिशत भन्दा कम बिक्री हुने गरेको छ।

नेपालमा ब्याक-हो लोडरको मूल्य ४० लाखदेखि ५० लाखसम्म पर्छ। एस्क्जाभेटर ६० लाखदेखि १ करोड १५ लाखसम्म पर्छ। बुलडोजर ८० लाखदेखि ३ करोड मूल्यसम्मका उपलब्ध छन्।