रिट्ठेपानी डाँडा काट्न क्यानले गर्‍यो ठेक्का आह्‍वान, निस्कने ढुंगा-माटोले ल्याण्डफिल पुर्ने



२०७९ भदौ १९ गते १२:०३ | Sep 4, 2022


रिट्ठेपानी डाँडा काट्न क्यानले गर्‍यो ठेक्का आह्‍वान, निस्कने ढुंगा-माटोले ल्याण्डफिल पुर्ने


 

Tata
Global Ime

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छेउमा रहेको रिट्ठेपानी डाँडा कटानका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्का आह्‍वान गरेको छ।

७२ लाख रुपैयाँको यो ठेक्का प्राप्तिका लागि इच्छुक कम्पनीले आउँदो अक्टोबर ११ सम्ममा दर्खास्त दिन सक्ने प्राधिकरणले जनाएको छ। डाँडा कटानको काम आउँदो कात्तिक दोस्रो साताबाट सुरु हुने प्रवक्ता जगन्नाथ निरौलाले बताए।

'हामीले टेण्डर आह्वान गरेका छौं। एक महिनाभित्रै एउटा कम्पनी छनोट गर्छौं। त्यसपछिको एक महिनामा काम सुरु हुनेछ,' उनले भने, 'त्यसपछि बढीमा एक महिनामा डाँडा कटानको काम सकिनेछ।'

१४ मिटर डाँडा कटानको काम सकिएलगत्तै क्यालिब्रेसन फ्लाइटको काम अगाडि बढाइहाल्ने योजना रहेको उनले जानकारी दिए।

हाल भएको ल्याण्डफिल साइट पुर्नका लागि रिठ्ठेपानी डाँडा कटानबाट निस्किएको ढुंगा-माटो काम लाग्ने प्रवक्ता निरौलाले बताए। डाँडा कटानबाट निस्कने ढुंगामाटो ल्याण्डफिल साइट पुर्न उपयोग गर्ने योजना छ। 

विमानस्थल सय्चालनका लागि पोखराको ल्याण्डफिल साइट स्थान्तरण गर्नैपर्ने भएको छ। यसका लागि विमानस्थल निर्माण आयोजनाले महानगरपालिकासँग समन्वय गरिरहेको छ।

निर्माणको अन्तिम चरणमा पुगेको यो विमानस्थल सञ्चालनमा ल्याउनका लागि नजिकको डाँडा कटान र ल्याण्डफिल साइट सार्नुपर्ने सुझाव प्राविधिकको छ। प्राधिकरणले डाँडा कटानका लागि रुख कटानको काम पुरा गरिसकेको आयोजना प्रमुख विनेश मुननकर्मीले बताए। यसका लागि वन मन्त्रालयको स्वीकृति लिएर ६ सयवटा रुख कटान गरिसकेको उनले जानकारी दिए।

काटिएका रुख वन विभागलाई हस्तान्तरण गर्ने तयारी छ। डाँडा कटानको ठेक्का टुंगो भइसकेको छैन। कुल ४० मिटर डाँडा कटान गर्न लागिएको यो विमानस्थलको फ्लाइट क्यालिब्रेसनका लागि १४ मिटर डाँडा काटे पुग्ने उनले बताए।

रिट्ठेपानी डाँडाको ३८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा छ। यो डाँडा काट्न १२ करोड रुपैयाँ लाग्ने अनुमान छ। यो विमानस्थलमा नियमित उडान संचालनका लागि पूर्वअवस्था अवलोकलनका लागि बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ्स् नेपाल (बार्न), अध्यागमन, भन्सार, सेना, प्रहरी, आयल निगम, वायुसेवा निगम, श्रम तथा रोजगार कार्यालयसँगै सम्बद्ध सरकारी निकायका प्रतिनिधिले अवलोकन गरिसकेको उनले बताए।

९८.५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने कुल लागतको ७५ प्रतिशत खर्च भइसकेको छ।

विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भइरहेको हो। कुल २२ अर्ब रुपैयाँ लागत रहेको यो विमानस्थलमा न्यारोबडी जहाज उडान संचालन हुने बताइएको छ। क्षेत्रीय स्तरका वायुसेवाहरु यस विमानस्थलमा सेवा स‌ंचालनका लागि जोडिने विश्वास गरिएको छ।