
काठमाडौं। काठमाडौं महानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर कार्यभार सम्हालेको सय दिन पूरा भएको अवसरमा सुनिता डंगोलले यो अवधि गरेका कामको सूची सार्वजनिक गरेकी छन्।
महानगरपालिकामा उपप्रमुख डंगोल एमाले र प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएर कार्यभार सम्हालेका हुन्। यो अवधिमा महानगरका सबैजसो योजनामा जनप्रतिनिधिहरु सँगसँगै देखिएका छन्।
डंगोलका अनुसार पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको छ। साथै ५१ वटा विवाद किनारा लागेको छ। यस्तै फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल गरेको पनि उनले बताएकी छन्।
'महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरेडाँडा, टेकुस्थित 'ट्रान्सफर स्टेसन' लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको वस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन्,' उनले भनिन्, 'पटक-पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ। दीर्घकालीन व्यवस्थापनका लागि छिमेकी नगर थिमि लगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै आवश्यक कार्यहरु अघि बढाएका छौं।'
यस्तै वडास्तरीय महिला सेल गठन भएको छ। उनका अनुसार हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा समस्या समाधान गर्न महानगरका सबै वडामा 'महिला सेल गठन' गर्ने पहिलो निर्णय भएको छ। साथै आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार पारेको बताइन।
'काठमाडौं महानगरपालिकाको विकास र समृद्धि हामी सबैको साझा सपना हो। यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक-अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचित होइन र हुँदैन,' उनले भनिन, 'त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ।'
डंगोलले मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास समेत गरिएको बताइन। मानव बेचबिखन ओसारपसार नियन्त्रण नगरस्तरीय समितिको संयोजक रहेर वडा नं. ६-२६ गरी जम्मा १० वटा वडामा वडा समिति गठन भइसकेको उनले बताइन।
यसैगरी डंगोलले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी विद्यार्थीहरुलाई प्राविधिक सीप, विद्यार्थी लकर कार्यक्रम, सुविधायुक्त शौचालय, पूर्वाधार निर्माण, डिजिटल शिक्षा, सुत्केरी बिदामा बसेका महिला शिक्षकको कक्षा व्यवस्थापनको लागि सट्टा कक्षा व्यवस्थापन लगायतका कार्यक्रमहरु अघि सारिएको बताइन। स्थानीय भाषाको अध्ययन-अध्यापनलाई निरन्तरता दिंदै नेपालभाषाका केही डिजिटल शब्दकोष जस्ता सन्दर्भ सामग्री तयार पार्ने क्रममा रहेको उनको भनाइ छ।
सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकतामा राखेर काम गरिएको उनले बताइन। यस्तै राजस्व परामर्श समिति गठन र कार्यान्वयनमा समेत काम भइरहेको उनले सुनाइन। उनका अनुसार राजस्व परामर्श समितिको गठन गरी आर्थिक वर्ष २०७९/८० का लागि राजस्व सम्बन्धि नीति तर्जुमा गरिनुका साथै राजस्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरी नगर कार्यपालिका मार्फत नगरसभामा पेस गरिएको छ।
पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तारमा पनि काम गरेको डंगोलले बताइन। 'काठमाडौं महानगरको दिगो विकासका लागि सहकार्यको प्रयास गर्ने हेतूले विभिन्न मुलुकका राजदूतहरुसँगसँगै युएनडीपी, आईएलओ, युनिसेफ, वर्ल्ड बैंक र एसियन फाउण्डेसन लगायतका प्रतिनिधिसँग छलफल गरी अनुभव आदानप्रदान गर्ने, पारस्परिक सम्बन्ध विस्तार गर्ने कार्यको थालनी गरिएको छ,' उनले भनिन्।
दरबार हाइस्कूल र कन्या माविलाई राष्ट्रियस्तरको नमूना विद्यालयको रुपमा विकास गर्ने जस्ता कार्यक्रम पनि अघि बढाइएको उनले बताइन। घरजग्गा बहालमा लिनेदिने व्यक्तिहरुका बीच हुने विवादलाई समाधान गर्न र बहाल कर असुलीलाई प्राथमिकता दिन बहाल व्यवस्था कार्यविधि तर्जुमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजस्व परामर्श समितिले कारवाही अघि बढाएको पनि उनको भनाइ छ।
उनले करको दायरा वृद्धि गरी वैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजस्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजीकरण भइरहेको बताएकी छन्। उनका अनुसार सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको छ।