वीरगंजमा ६ करोडको लागतमा फनपार्क खुल्यो, चाचान समूहको नारायणी रिफाइनरीभित्र संचालन



२०७९ भदौ २३ गते १४:०० | Sep 8, 2022


वीरगंज। वीरगंजमा बालबालिका तथा युवाहरूको लागि इन्टरटेनिङ जोनको रूपमा फन पार्क सञ्चालनमा आएको छ ।  थ्रील फ्याक्ट्री नामले सञ्चालनमा आएको उक्त फन पार्कमा वीरगंजको चाचान समुहले लगानी गरेको हो ।

Tata
Global Ime

वीरगंज पथलैया औद्योगिक कोरिडोरको चैनपुर बारामा रहेको चाचान समूहको नारायणी रिफायनरी उद्योगभित्रै ६ करोड रूपियाँको लागतमा उक्त फन पार्क सञ्चालनमा ल्याइएको फन पार्कका सञ्चालक निखिल चाचानले जानकारी दिए ।

बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालनमा रहने फन पार्कमा टेंमप्लिङ पार्क, रूफ कोर्स, जिप लाइन, जिप साइक्लिङ, ३६० डिग्री साइक्लिङ, बुल कार्टिङ, ह्युमेन जैरो, सुटिङ, क्रिकेट, जम्पिङलगायत १५ वटा गतिविधि गर्नको लागि खेल सामग्रीहरूको प्रबन्ध मिलाइएको छ ।

एकसय रुपैयाँदेखि ६ सय रूपैयाँसम्मको गतिविधिहरूको लागि शुल्क निर्धारण गरिएको बताइएको छ । सय जनाभन्दा बढीले एकै साथ सेवा लिन सक्ने फन पार्कमा खानपिनको लागि रेस्टुराँ एवं बर्थडेलगयत सेलेब्रेशनको लागि हल पनि रहेको छ।

१० कट्ठा जग्गामा निर्माण गरिएको उक्त फन पार्क वीरगंजमा अहिलेसम्मकै ठूलो फन पार्कमा सञ्चालनमा आएको हो । फन पार्कको लागि आवश्यक खेल सामाग्री भारततथा चीनबाट भित्र्याइएको छ।

वीरगंजका बालबालिका तथा युवाहरूको लागि आधुनिक युगमा मनोरञ्जन तथा खेलकुद गर्नको लागि आधुनिक फन पार्कको आवश्यकता महसुस गरी यो फन पार्क सञ्चालनमा ल्याइएको चाचान समूहले बताएको छ ।

यसअघि वीरगंजमा बालबालिका तथा युवाहरूको लागि मनोरञ्जनको लागि विशेष फन पार्कको व्यवस्था थिएन।