
काठमाडौं। आठौं फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ काठमाडौंमा सुरु भएको छ।
भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका छन्। एक्स्पो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार बिस्तार भईरहेको देख्दा खुसी लागेको बताए।
फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै गइरहेको भन्दै यसलाई थप तिब्रता दिनु पर्ने बताए। एक्स्पो आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले व्यवसायीको पहलले मात्र निर्यातको बाटो पहिल्याउन सजिलो नभएको भन्दै राज्यले अग्रसरता लिनुपर्नेमा जोड दिए । स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि नै एक्स्पो आयोजना गरिएको उनको भनाई छ।
नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा ५ दिनसम्म चल्ने एक्स्पोले फर्निचर तथा फर्निसिङका आयातित उत्पादनलाई प्रतिस्थापन गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ। हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकनकर्ताका लागि एक्स्पोस्थल खुल्ला गरिने एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ ।
प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु सञ्चालन गर्नेछन् । विभिन्न ब्राण्डका प्रदर्शकहरुले वस्तु तथा सेवा हेरी अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लायन्सलगायतका सेवा तथा उत्पादन अफरमा उपलब्ध गराउने छन् । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।
१०० भन्दा बढी प्रदर्शनी कक्ष रहेको एक्स्पो अवलोकनका लागि प्रवेश निशुल्क गरिएको छ। बदलिँदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ ।
किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहने छन्।
पाँच दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामाग्रीहरुको बृहत् मेला 'फर्नेक्स नेपाल' को आयोजना गर्दै आएको छ।