मोरिमोटोको यो पेसा जुन हुनसक्छ धेरैको ‘ड्रिम जब’, काम नै नगरी पाउँछन् आकर्षक पारिश्रमिक



२०७९ भदौ २५ गते १४:४६ | Sep 10, 2022


मोरिमोटोको यो पेसा जुन हुनसक्छ धेरैको ‘ड्रिम जब’,  काम नै नगरी पाउँछन् आकर्षक पारिश्रमिक


जापानका एक युवकको पेसाबारे थाहा पाउँदा आश्चर्यचकित नहुने कोही नहोला। उनको उक्त पेसा धेरै जनाको लागि ‘ड्रिम जब’ पनि हो। किनकी उनले वास्तवमा केही काम नै नगरी पारिश्रमिक पाउँछन्।

Tata
Global Ime

टोकियोका ३८ वर्षीय शोजी मोरिमोटो एक्ला मानिसहरुलाई साथमा बसिदिन्छन् र उनीहरुसँग एकपटक बुकिङ गरेको १० हजार येन (करिब ८ हजार ८ सय रुपैयाँ) शुल्क लिन्छन्। उनको काम अरुको साथमा बसिदिने मात्रै हो।

‘वास्तवमा, मैले आफैंलाई भाडामा लगाउँछु। मेरो काम भनेको मेरा ग्राहकहरूले मलाई जहाँ चाहन्छन् त्यहाँ हुनु हो र मैले केही गर्न पनि पर्दैन,’ मोरिमोटोले रोयटर्सलाई भने। उनले विगत चार वर्षमा ४ हजार ग्राहक बनाएको बताए।

अग्लो, दुब्लो र सामान्य देखिने मोरिमोटोले ट्‍वीटरमा लगभग साढे २ लाख फलोअर कमाएका छन्, जहाँ उनले आफ्ना धेरैजसो ग्राहकहरू भेट्टाउँछन्। तिनीहरूमध्ये लगभग एक चौथाइ जति पुराना ग्राहकहरू हुन्छन्। एकजना यस्ता ग्राहक पनि छन् जसले मोरिमोटोलाई २७० पटकसम्म ‘हायर’ गरिसकेका छन्।

उनको पेसाले उनलाई कहिले ‘ढिकी-च्याउँ’ खेल्न चाहने ग्राहकको साथ पार्कसम्म पुर्‍याएको हुन्छ। कसैले आफ्नो बिदाइ गरिदियोस् भन्ने चाहने एक अपरिचित व्यक्तिलाई उनले रेलको झ्याल बाहिरबाट हात हल्लाएर बिदा पनि गरेका छन्।

आफैंलाई भाडामा लगाउनुको मतलब यो होइन कि उनी जे पनि गर्न तयार हुन्छन्। उनले फ्रिज सार्ने र कम्बोडिया जाने प्रस्ताव अस्वीकार गरेका छन् भने यौनजन्य प्रकृतिका कुनै पनि अनुरोधलाई उनले स्वीकार गर्दैनन्।

गत हप्ता, मोरिमोटोले सारी लगाएकी २७ वर्षीया डाटा विश्लेषक अरुणा चिडालाई साथ दिएका थिए। चिडालाई सार्वजनिक स्थानमा सारी लगाउन मन थियो तर उनी आफ्ना साथीहरूलाई लज्जित पार्न चाहन्नथिन्। त्यसैले उनले आफ्नो साथी बन्नको लागि मोरिमोटोलाई बोलाइन्।

‘साथीहरूसँग हुँदा मैले उनीहरूलाई मनोरञ्जन गर्नुपर्छ भन्ने महसुस गर्छु, तर मोरिमोटोसँग मलाई कुराकानी गरिराख्नु पर्ने महसुस गर्दिनँ,’ चिडाले भनिन्।

यो ‘ड्रिम जब’ गर्नुअघि मोरिमोटो एक प्रकाशन कम्पनीमा काम गर्थे जहाँ ‘केही नगरेको’ भन्दै उनलाई प्रायः गाली गरिन्थ्यो।

‘मैले 'केही नगर्ने' आफ्नो यो क्षमता ग्राहकहरूलाई सेवाको रूपमा प्रदान गरेँ भने के होला भनेर सोच्थेँ,’ उनले भने।

साथी बन्ने व्यवसाय मोरिमोटोको एकमात्र आम्दानीको स्रोत हो, जसबाट उनले आफ्नी श्रीमती र बच्चा पालिरहेका छन्। उनले अहिले दिनमा एक वा दुई ग्राहकलाई साथ दिन्छन्। कोभिड-१९ महामारीअघि उनले दैनिक तीन वा चार जनाको साथमा हुन्थे।

रोयटर्समा प्रकाशित सामाग्रीको भावनुवाद