महिन्द्राको विद्युतीय गाडी एक्सयुभी-४०० सार्वजनिक, एक पटक चार्ज गर्दा ४०० किलोमिटर चल्ने



२०७९ भदौ २६ गते ०९:२० | Sep 11, 2022


काठमाडौं। सवारीसाधन उत्पादक भारतीय कम्पनी महिन्द्राले विद्युतीय गाडीमा आफ्नो नयाँ मोडल एक्सयुभी-४०० सार्वजनिक गरेको छ। यो विद्युतीय गाडी आगामी डिसेम्बरदेखि बजारमा ल्याइने कम्पनीले जनाएको छ।

Tata
Global Ime

कम्पनीले डिसेम्बरभरि शोरुमहरुमा टेस्ट ड्राइभ गर्ने र २०२३ को जनवरीबाट गाडी डेलिभरी गरिने जनाएको छ। यसको मूल्य पनि सोही समयमा तोकिने कम्पनीले जानकारी दिएको छ।

यो गाडीले एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ। यो गाडीमा भएको ३९.४ किलोवाट ब्याट्री फुल चार्ज गर्न फास्ट चार्जरले एक घन्टाको समय लगाउने कम्पनीले जनाएको छ। एसी चार्जरबाट गर्दा ६ घन्टाको समय लाग्छ। यसमा १५० हर्षपावर क्षमताको विद्युतीय मोटर छ।

यसले ३१० एमएमको टर्क उत्पादन गर्न सक्छ। यसको टप स्पिड १५० किलोमिटर प्रति घण्टा छ। यसको सबै डिजाइन इएक्सयुभी ३०० कन्सेप्ट मोडलको जस्तै छ। यो एक्सयुभी ३०० मोडलको भन्दा २०५ एमएम लामो छ। साथै १६ इन्चको अलोय व्हीलको साथ २६०० एमएम व्हीलवेसको टायर रहेको छ। यसमा महिन्द्राको नयाँ लोगो ट्विन पिक पनि राखिएको छ।

यसमा ३ वटा फन, फास्ट र फिअरलेस ड्राइभिङ मोडहरु उपलब्ध छन्। यसले स्टेरिङ आफ्नो आवश्यकता अनुसार मिलाउन मिल्छ भने अर्को रिजेनेरेटिङ ब्रेकिङको लेभल पनि मिलाउन सकिने कम्पनीले जनाएको छ।

यसको प्रोफाइलमा हेर्दा धेरै हदसम्म एक्सयुभी-३०० सँग मिल्दोजुल्दो देखिन्छ। यो गाडीको पछाडिको भागमा टेल ल्याम्पहरूमा एरोहेड आकारको इन्सर्टहरूसहित नयाँ छन् तर टेल गेटको समग्र डिजाइन र पछाडिको बम्पर भने एक्सयुभी ३०० सँग मिल्दोजुल्दो छ।

यो गाडी  पाँच वटा कलर विकल्पहरूमा उपलब्ध हुनेछ। यसमा आर्कटिक नीलो, एभरेष्ट ह्वाइट, ग्यालेक्सी ग्रे, नेपोली ब्ल्याक र इन्फिनिटी ब्लू लगायतका कलरमा उपलब्ध छ।

इन्टेरियरमा  एक्सयुभी-४०० को समग्र ड्यासबोर्ड डिजाइन यसको इन्धनमा आधारित मोडलसँग मिल्दोजुल्दो छ। यसैगरी एक्सयुभी-३०० मा देखिएका हल्का रङहरूको तुलनामा यसको एसी भेन्टहरू र केही स्वीच गियरहरू वरिपरि सबै कालो थिममा आधारित बनाइएको छ। साथै यसको ड्यासबोर्ड र स्टेयरिङ ह्वीलमा नयाँ ग्लोस ब्ल्याक इन्सर्टहरू छन्।

सबै स्वीच गियरहरू, डिजिटल एनालग इन्स्ट्रुमेन्ट क्लस्टर र ७.०-इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली पनि एक्सयुभी -३०० मा भएको जस्तै राखिएको छ। यस सिस्टममा महिन्द्राको नयाँ एड्रेनो एक्स इन्फोटेनमेन्ट सफ्टवेयर चलाउँन सकिने कम्पनीले जनाएको छ।

यसमा डुअल-जोन क्लाइमेट कन्ट्रोल, सिंगल-पेन सनरुफ, क्रुज कन्ट्रोल, एन्ड्रोइड अटो, एप्पल कारप्ले र ओभर-द-एयर अपडेटहरू सहित जोडिएको कार टेक्नोलोजी समावेश छ।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्यागहरू, चारै पाङ्ग्राहरुमा डिस्क ब्रेक, ब्याट्री प्याकको लागि आईपी ६७ रेटिङ पाएको छ। आईपी ६७ रेटिङले आगो नलाग्ने वा ब्याट्रीबाट कुनै समस्या नहुने ग्यारेन्टी गर्छ।

यो गाडी नेपालको अग्नि समूहले नेपाल ल्याउनेछ।