.jpg)
काठमाडौं। चौधरी समूहको रियल इस्टेट कम्पनी सीजी हिल्स प्रालिको रेटिङ घटुवा भएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले बैंकिङ कर्जाका लागि यसअघि दिएको रेटिङ घटुवा गरेको छ।
८५ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि यसअघिको रेटिङ एनपी एल डबल बीलाई घटुवा गरेर एनपी एल डबल बी माइनस दिएको छ। यसअघि कम्पनीले ५५ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको थियो। अहिले त्यसलाई कम्पनीले ३० करोड रुपैयाँ बढाएर रेटिङ पाएको छ।
यस्तै, ५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि कम्पनीले यसअघि पाएको एपपी ए फोर प्लस रेटिङ घटुवा भएर एनपी ए फोर पाएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव चर्किएसँगै कम्पनीको रेटिङमा पनि त्यसको असर परेको देखिन्छ। निर्माण सामग्रीका साथै अन्य खर्च बढ्दा परियोजनाको लागत समेत २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
सिजी हिल्सले अहिले ललितपुरको भैंसेपाटीमा प्रिमियम हिल्स हाउजिङ परियोजना निर्माण गरिरहेको छ। ५२ वटा घरहरु उक्त परियोजनामा निर्माण भइरहेको छ। सन् २०१८ बाट परियोजना निर्माण थालिएको थियो।
२०२१/२२ सम्म परियोजनाको वित्तीय प्रगति ४३ प्रतिशत पुगेको छ। जग्गा खरिद र जग्गा विकासको काम धमाधम भइरहेको कम्पनीले जनाएको छ।
१४-१५ वटा घर निर्माणका लागि सब-सर्फेसको काम अन्तिम चरणमा पुगेको रेटिङ विवरणमा उल्लेख छ। कम्पनीले काठमाडौं रेसिडेन्सी, माउन्ट भ्यू रेसिडेन्सी र सिजी हिल्स हात्तीगौडा परियोजना निर्माण सम्पन्न गरिसकेको छ। कम्पनीमा ५० प्रतिशत स्वामित्व सिजी डेभलपर्स प्रालिको छ।


