जडीबुटीको रातो घरमा महानगरको डोजर चलेपछि निर्माणको प्रक्रिया अघि बढ्यो, ६४ लाखमा ठेक्का आह्वान



बिजमाण्डू
२०७९ भदौ ३० गते ०९:०६ | Sep 15, 2022


काठमाडौं। काठमाडौं महानगरले जडीबुटीको रातो घरको संरचना हटाएपछि सडक विस्तारको प्रक्रिया अघि बढेको छ।

Tata
Global Ime

काठमाडौं सडक डिभिजन र सडक विभागले वर्षौदेखि हटाउन नसकेको उक्त संरचना महानगरले हटाएपछि निर्माण प्रक्रिया अगाडि बढाइएको हो। सडक डिभिजन काठमाडौंले उक्त सडक ६ लेनमा विस्तार गर्न ६४ लाखमा ठेक्का आह्वान गरेको छ।

कोटेश्वर जडीबुटी तर्फ जाने लेफ्ट साइड सडक विस्तार गर्न बाँकी आकासेपुलदेखि जडबुटी चोकसम्म मात्र रहेको छ। उक्त खण्ड निर्माण गर्नका लागि ठेक्का आह्वान भएको हो। उक्त ठेक्कामा निर्माण व्यवसायीहरुले असोज ५ गतेसम्म मात्र आवेदन दिन पाउनेछन्।

त्यसपछि आवेदन परेको निर्माण व्यवसायीको प्रस्तावहरु पनि सोही दिन खुल्ला गरिने डिभिजनले जनाएको छ। डिभिजनका अनुसार प्रस्ताव खोलिएको तीन दिनभित्र सम्झौता गरि निर्माण थालिनेछ।

सो घरका कारण ६ लेनको अति व्यस्त सडक पूर्ण रूपमा संचालनमा आउन सकेको थिएन। मूल सडकका दायाँ र बायाँ बनाइएका सर्भिस लेन निर्माणमा अवरोध हुँदा सडकमा सवारी जामको समस्या छ।

जापानी सहयोग नियोग (जाइका)को सहयोगमा २०६१ सालमा बनेको माइतीघर-सूर्यविनायक ६ लेन सडक विस्तारको काम जग्गा र कच्ची घरको पुनः मुआब्जा विवादले अवरुद्ध बनेको थियो। जग्गा धनीले जग्गाको समेत मुआब्जा रकम चाहिने भन्दै घर हटाउन अटेर गर्दै आएका थिए।