काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-४ स्थित एक खाद्य गोदाम वाणिज्य विभागले छापा मारेको छ।
छापा मार्दा म्याद गुज्रिएका खाद्य तथा कस्मेटिक सामानहरू फेला पारेको छ।
गोदाममा कन्फेक्सदेखि चकलेटसम्मका खाद्य सामाग्री म्याद गुज्रिएको पाइएको वाणिज्य विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए। दैनिक बजार अनुगमन क्रममा म्याद गुज्रिएको सामाग्री स्टोर गरेको फेला परेको विभागको दाबी छ।
यसरी स्टोर गरेर राखिएको सामाग्रीहरू बजारमा पुग्न सक्ने आशंकामा नष्ट गरिएको छ। २१ लाख १९ हजार ५ सय रुपैयाँ बराबरका म्याद गुज्रिएको सामाग्री नष्ट गरिएको हो।
चाडपर्व नजिकिएसँगै खाद्यवस्तुको कालोबजारी, गुणस्तरहीन वस्तुको बिक्री लगायत कार्य हुने भएकाले वाणिज्यले अनुगमन तथा निरीक्षण बढाउने समेत बताएको छ।


