जीबीआइएमा आजबाट दैनिक अन्तर्राष्ट्रिय उडान, जजिरा एयरवेजको साताको सातै उडान



बिजमाण्डू
२०७९ भदौ ३१ गते १५:०४ | Sep 16, 2022


जीबीआइएमा आजबाट दैनिक अन्तर्राष्ट्रिय उडान, जजिरा एयरवेजको साताको सातै उडान


काठमाडौं। भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको सात अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। जेठबाट साताको तीन उडान गर्दै आएको कुवेतको जजिरा एयरवेजले शुक्रबारदेखि सात उडान सुरु गरेको हो।

Tata
Global Ime

'आजबाट जजिराले साताको सातैवटा उडान सुरु गरेको छ। पछिल्लो समय यात्रु माग वृद्धि भएसँगै कम्पनीले आफ्नो उडान संख्या विस्तार गरेको हो,' विमानस्थल कार्यालय प्रवक्ता सुवास झाले भने,'श्रमको कार्यालय संचालनमा आएसँगै यात्रु माग अझै वृद्धि हुने देखिएको छ।'

यो सँगै आउँदो अक्टोबर ३० बाट अबुधाबी बेस रहेको विज एयरले पनि जिबीआइएमा नियमीत उडान गर्ने अनुमति पाइसकेको विमानस्थलका प्रवक्ता झाले बताए। उक्त कम्पनीले टिकट बुकिङ लिनका लागि केही दिनअघि नागरिक उड्डयन प्राधिकरणबाट 'नो अब्जेक्सन लेटर' पाइसकेको उनले जानकारी दिए। उडान तालिका भने निश्चित हुन बाँकी नै छ।

जजिराले जेठ २ गतेबाट साताको तीनवटा उडान गर्दै आएको थियो। यो विमानस्थलबाट आउजाउ गर्ने यात्रुलाई जजिराले त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थल (टीआइए) को भन्दा २० प्रतिशत सस्तो भाडादरमा सेवा दिँदै आएको छ। दुई वर्षअघि टीआइएमार्फत नेपाल उडान सेवा सुरु गरेको जजिराको जीएसए सोसाइटी ट्राभल हो।

सञ्चालनमा आएको तीन महिनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ११ हजार यात्रुले उडान अवतरण सेवा लिइसकेका छन्। यो विमानस्थलबाट ६० प्रतिशत यात्रु तराई क्षेत्रबाट वैदेशिक रोजगारका लागि जाँदै आएका छन्।

प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा विस्तारका लागि विमानस्थल सेवा शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ भने नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिइसकेको छ।