विस्तार नहुने भयो विराटनगर विमानस्थल, रोक्का राखेको जग्गा चार वर्षपछि फुकुवा गर्‍यो सरकारले



बिजमाण्डू
२०७९ असोज २ गते १७:१७ | Sep 18, 2022


विस्तार नहुने भयो विराटनगर विमानस्थल, रोक्का राखेको जग्गा चार वर्षपछि फुकुवा गर्‍यो सरकारले


काठमाडौं। सरकारले विराटनगर विमानस्थल विस्तारका लागि रोक्का राखेको स्थानीयको जग्गा फुकुवा गरेको छ। उक्त विमानस्थल विस्तारका लागि अधिग्रहण गर्ने भनेर बेचबिखन रोक्का गरिएको १ सय २६ बिघा जग्गा शुक्रबारको मन्त्रिपरिषद् बैठकले फुकुवा गर्ने निर्णय गरेको हो।

Tata
Global Ime

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विमानस्थल विस्तार गर्ने भन्दै जग्गा रोक्का राखिएको थियो। सरकारले मुआब्जा वितरणका लागि बजेट व्यवस्था नगरेपछि स्थानीय बासिन्दा आन्दोलित  थिए।

नागरिक उड्डयन प्राधिकरणसँग पैसा नभएकाले विमानस्थल विस्तारको प्रक्रिया तत्कालका लागि रोकिएको प्रवक्ता जगन्ननाथ निरौलाले बताए।

'१ सय २६ बिघा जग्गा अधिग्रहण गर्नका लागि सूचना पनि निकालिएको थियो। जग्गाको बजार मूल्य विचार गर्दा मुआब्जा वितरणमै मात्र करिब १७ अर्ब रुपैयाँ लागत लाग्ने देखियो। यसकारण हाललाई रोक्का राखिएको जग्गा फिर्ता गर्नका लागि क्याविनेटमा पठाइएको थियो,' प्रवक्ता निरौलाले बिजमाण्डूसँग भने, 'तत्कालका लागि यो प्रक्रिया रोकिएको हो।'

तत्कालका लागि प्राधिकरणले हाल रहेको १५ सय मिटरको धावनमार्गलाई अहिले भएकै जग्गामा थप अढाइ सय मिटर विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए। 

प्राधिकरणले चार वर्ष अगाडि विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजना अगाडि सारेको थियो। त्यतिखेर सरकारले विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि योजना अघि बढाएको थियो।

त्यतिखेर विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्ने उद्देश्यले १ अर्ब ३५ करोड बजेट नै विनियोजन गरिएको थियो।

प्राधिकरणले यो योजना अन्तर्गत धावनमार्गलाई कम्तीमा २ हजार ५०० मिटरमा विस्तार गर्ने योजना बनाएको थियो।