
काठमाडौं। कुमारी बैंकका ग्राहकहरुले बैंकको मोबाइल एपबाट पहिलोपटक फोनपेको क्यूआरमार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्म वा बढीमा तीन सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन्। भुक्तानी प्रणाली सञ्चालक फोनपे र बैंकले उक्त सुविधा प्रदान गर्न सम्झौता गरेका छन्।
सम्झौता पत्रमा बैंकका डिजिटल बैंकिङ प्रमुख अनिश श्रेष्ठ र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो योजना असोज ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने फोनपेले जनाएको छ। महान चाड दसैंमा किनमेल गर्न केही सुलभ होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको बताइएको छ।
फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्ता लक्षित विभिन्न योजना सञ्चालन गर्दै आएको छ। फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेको कम्पनीले जनाएको छ। १ करोड ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा दिँदै आएको छ।