
काठमाडौं। साउनमा अस्वभाविक रुपमा खपत घटेको पेट्रोलियम पदार्थको भदौंमा केही सुधार देखिएको छ। नेपाल आयल निगमको तथ्यांक अनुसार भदौंमा खपत बढ्न थालेको देखिन्छ।
साउनमा भन्दा भदौंमा डिजलको खपत दोब्बर भएको छ। निगमका अनुसार भदौं डिजल १ लाख २० हजार किलोलिटर खपत भएको छ। जबकी साउनमा डिजलको खपत ५७ हजार किलोलिटर मात्रै थियो।
भदौंमा पेट्रोलको खपत भने ४ हजार किलोलिटर मात्रै बढेको छ। भदौंमा ५९ हजार किलोलिटर पेट्रोलको खपत भएको छ। साउनमा ५५ हजार ५ सय २४ किलोलिटर खपत भएको थियो। भदौंमा हवाई इन्धनको खपत पनि २ हजार ८ सय २८ किलोलिटर बढी खपत भएको छ। निगमका अनुसार भदौंमा १२ हजार ८ सय २८ किलोलिटर हवाई इन्धन खपत भएको छ।
साउनमा हवाई इन्धनको खपत १० हजार किलोलिटर मात्रै थियो। भदौंमा ग्यासको खपत पनि ८ हजार टनले बढेको छ। चाडपर्व सुरु भएकोले ग्यासको खपत एकाएक बढेको हो। भदौंमा ४९ हजार टन ग्यास आयात भएको छ भने साउनमा ४१ हजार टन मात्रै ग्यास आयात भएको थियो। जाडोयाम सुरु भएपछि ग्यासको खपत बढ्न थाल्छ।
आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले डिजल र पेट्रोलको माग साउन महिनामा भन्दा भदौमा बढेको बताए। 'वर्षातको समयमा डिजलको खपत केही कम हुने नै गर्छ। तर अब विस्तारै पानी पर्न कम हुँदै गइरहेकाले इन्धनको खपत बढ्न थालेको हो,' उनले बिजमाण्डूसँग भने, 'अब यो असोजमा दसैका कारण खपत झन बढ्छ। डिजलको खपत पिक समयमा एक लाख ८० हजार किलोलिटरसम्म हुने अनुमान गरिएको छ।'
चाडपर्व नजिकिँदैछन्, त्यसैले सवारीले गर्ने खपत बढ्नेमा निगम आशावादी छ। साउन विकास निर्माणका योजनामा काम नहुनु र वर्षाले ढुवानीका साधन कम चल्नुका कारण खपत घटेको हुनुपर्ने अनुमान उनको छ। 'अब विस्तारै सबै कुराहरु चहलपहल बढ्न थालेको छ। अब यो चाडपर्वमा खपत बढ्ने अपेक्षा हामीले गरेका छौं,' गोइतले भने।
'घाटा शून्यमा नआएसम्म इन्धनको मूल्य घट्दैन'
निगमको घाटा शून्यमा नआएसम्म इन्धनको मूल्य नघट्ने निर्देशक गोइतले बताए। 'निगम अझै पनि घाटामा छ। कसरी मूल्य घटाउने ?,' उनले भने, 'जबसम्म निगमको घाटा शून्यमा झर्दैन त्यस बेलासम्म इन्धनको मूल्य घटाउन सकिने अवस्था छैन।'
उनका अनुसार पेट्रोलमा घाटा भयो भने डिजलमा मूल्य बढाउनु पर्छ। 'एउटाको घाटा अर्कोको मूल्यले पूर्ति गरेको हुन्छ। अहिले पेट्रोलमा मात्र नाफा देखेर हुँदैन। सबैतिरबाट निगमको घाटा शून्यमा आउनै पर्छ,' उनले भने, 'अहिले डिजल र एलपीजी ग्यास दुवैमा बढाउन सकिदैन। दसैंको समय छ। अहिले पेट्रोलमा नाफा भए पनि घाटा पूर्तिका लागि मूल्य घटाउन नसकिएको हो।'