जजिरा एयरवेज गन्तव्य विस्तार गर्दै, भैरहवाको गौतमबुद्धपछि कुवेत-चीन उडान सुरु गर्‍यो



बिजमाण्डू
२०७९ असोज ४ गते १७:४५ | Sep 20, 2022


जजिरा एयरवेज गन्तव्य विस्तार गर्दै, भैरहवाको गौतमबुद्धपछि कुवेत-चीन उडान सुरु गर्‍यो


काठमाडौं। जजिरा एयरवेजले गन्तव्य विस्तारका क्रममा सोमबारदेखि कुवेत-चीन दुईतर्फी व्यवसायिक उडान सुरु गरेको छ। कम्पनीले चीनको सियानमा नियमित उडान थालेको छ। 

Tata
Global Ime

कम्पनीले उक्त गन्तव्यमा छिटै दैनिक उडान गर्ने जनाएको छ। चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसंख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाएको छ।

उद्घाटन उडानमा जजिराको जहाजले किरगिस्तानको विसेकमा रिफ्युलिङका लागि प्राविधिक अवतरण गरेको छ। कम्पनीले यो गन्तव्यका लागि आफूसँग भएको १ सय ५६ सिट क्षमताको एयरबस ३२० नियो सिरिज जहाज प्रयोग गर्ने जनाएको छ।

उद्घाटन उडानका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित रामचन्द्रनले भनेका छन्, 'चीन उडान सुरु गर्नु जजिरा एयरवेजका लागि कोसेढुंगा साबित भएको छ। योसँगै हामीले चीनका विभिन्न प्रान्तमा आफ्नो व्यवसायिक उडानको योजनालाई अगाडि बढाउने छौं।'

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने जजिरा पहिलो कम्पनी हो। भैरहवाबाट उडान सुरु गरेको तीन महिनामा जजिराले करिब १२ हजार यात्रुलाई सेवा दिइसकेको छ। 

कम्पनीले गन्तव्य विस्तारका क्रममा गौतमबुद्ध पछि चीन उडान सुरु गरेको हो। हाल यो कम्पनीले जीबीआइएमा दैनिक नियमित उडान सेवा दिँदै आएको छ। उडान गन्तव्य विस्तारसँगै यो कम्पनीले दुई एयरबस ३२० जहाज थप्ने योजना बनाएको छ।