काठमाडौं। नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा भोलिदेखि हुन लागेको नाडा इभि एक्स्पोमा 'नाडा इभी चौतारी' सेमिनार हुँदैछ।
भृकुटीमण्डपको प्रदर्शनी हलमा भोलिदेखि सुरु हुने एक्सपोमा हरेक दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म युएसएडको सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने आयोजकले जानकारी दिएको छ।
तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने बताइएको छ।
इभी चौतारीको पहिलो दिन ७ गते इभी टेक्नोलोजी र इकोसिस्टमको बारेमा छलफल हुनेछ। यस्तै दोस्रो दिन ८ गते फाइनान्सियल एस्पेक्ट अफ इभी शिर्षकमा विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्नेछन्। यसैगरी अन्तिम दिन ९ गते पोलिसिज फर प्रमोटिङ इभी शिर्षकमा छलफल हुने बताइएको छ।
यो कार्यक्रम नेपालमा विद्युतीय गाडीहरुका प्रयोगकर्ताहरुका साथै नीतिगत तहमा कार्य गर्नेहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरी ज्ञान बाँड्ने चौतारी हुने विश्वास लिएको आयोजकको भनाइ छ।