
काठमाडौं। टाटाले आगामी तीन वर्षमा प्यासेन्जर सवारीको बिक्रीको २० प्रतिशत विद्युतीय सवारी साधनबाट हुने अनुमान गरेको छ। टाटासँग हाल नेक्सन इभी र टिगोर इभी छन्। केही दिनमा टाटाको टियागो इभी पनि थपिँदै छ।
नयाँ दिल्लीमा सियामको ६२औं वार्षिक सम्मेलनमा टाटा मोटर्सका प्यासेन्जर भेहिकल र इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेश चन्द्रले नेक्सन इभी र टिगोर इभीलगायत टाटाको पोर्टफोलियोमा रहेका सबै इभीको बिक्री यो वर्ष ५० हजार युनिट पुग्ने अनुमान गरेका छन्।
उनका अनुसार गत वर्ष टाटाले लगभग ५ प्रतिशत इभी बजारको हिस्सा ओगटेको थियो। यसैगरी चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको हिस्सा करिब १० प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।
'तर माग जति धेरै भएपनि ब्याट्री आपूर्तिमा समस्याहरू अझै छ। अहिले सेमीकन्डक्टरको अभाव केही हदसम्म कम भए पनि यो अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन,' चन्द्रले भने।
टाटाले सेप्टेम्बर २८ मा आफ्नो तेस्रो विद्युतीय गाडी टियागो इभी ह्याचब्याक लन्च गर्दैछ। यसबाहेक, टाटाले आगामी दुई वर्षमा कर्भ एसयुभी अवधारणाको उत्पादन संस्करण पनि लञ्च गर्ने अपेक्षा गरिएको छ।
मिडसाइज एसयूभी कुपले टाटाको जेनेरेसन टु इभी आर्किटेक्चर प्रयोग गर्नेछ। जसमा विभिन्न बडी स्टाइलहरू र पावरट्रेनहरू समायोजन गर्न डिजाइन गरिएको छ। यद्यपि यो पहिले इभीको रूपमा लञ्च हुनेछ भने त्यसपछि इन्धनबाट संचालित इन्जिनको संस्करणमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ।