भृकुटीमण्डपमा विहीबारदेखि नाडा इभी एक्स्पो: बिक्रेताले दिँदैछन् आकर्षक छुट



२०७९ असोज ५ गते १७:२५ | Sep 21, 2022


भृकुटीमण्डपमा विहीबारदेखि नाडा इभी एक्स्पो: बिक्रेताले दिँदैछन् आकर्षक छुट


काठमाडौं। विहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा पहिलो पटक विद्युतीय सवारी साधनको प्रदर्शनी हुँदैछ। त्यसका लागि अहिले राती पनि स्टल बनाउने काम धमाधम भइरहेको छ।

Tata
Global Ime

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने प्यासेन्जर भेहिकल आयातमा प्रतिवन्ध लगाएपछि नाडा अटोमोबाइल एशोसिएसनले विद्युतीय गाडीको प्रदर्शनी गर्न लागेको हो। यो प्रदर्शनीमा आयोनिक-५ देखि टेस्लासम्म प्रर्दशनीमा राखिने भएको छ। नाडा अटोमोबाइल एशोसिएसनका अनुसार दुई पाँग्रेमा केही नयाँ मोडल सार्वजनिक भएपनि चार पाँग्रेमा भने नयाँ मोडल देखिने छैन।

कोभिडको कारण देखाउँदै चीनले नाका बन्द गरेकोले नयाँ मोडल सार्वजनिक नहुने भएको हो। नाका बन्द नभएको भए विवाईडीको एटो- ३ यही एक्स्पोमा सार्वजनिक गर्ने कार्यक्रम थियो। प्रदर्शनीमा ९ वटा ब्रान्डका विद्युतीय कार र १६ वटा ब्रान्डका विद्युतीय स्कुटर तथा बाइकले सहभागिता जनाउने भएका छन्।

यस्तै धेरै जसो कम्पनीहरुले नयाँ स्कुटर तथा बाइकहरु मात्र सार्वजनिक गर्ने योजना बनाएका छन्।  स्टल निर्माण तथा बुकिङको लागि कम्पनीहरुले २० लाख रुपैयाँदेखि ३० लाखसम्म खर्च गरेका छन्।

टाटाको गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङले नेक्सन इभी, नेक्सन इभी डार्क र टिगोर इभीलाई पनि प्रर्दशनीमा राख्ने जनाएको छ। कम्पनीले नेक्सन इभीमा बिक्रीमा आकर्षक योजना ल्याउने भएको छ। 

हुन्डाई गाडी बिक्री गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक दीपक थपलियाका अनुसार एक्स्पोमा कम्पनीको आयोनिक-५ नै मूख्य आकार्षणका रुपमा रहनेछ। 'भोलिबाट सुरु हुने एक्स्पोमा हाम्रो आयोनिक-५ र कोना हुनेछय,' उनले भने, 'हाम्रो मूख्य प्रथामिकता भनेको आयोनिक-५ नै हुनेछ।'

कम्पनीले एक्स्पोमा कुनै अफरहरु नरहेको र हाल संचालन भइरहेका दसैं अफरहरु यसमा पनि लागु हुने थपलियाले बताए।

 एक्स्पोमा टेस्लाले पनि आफ्नो गाडी राख्नेछ। टेस्लाको आधिकारिक बिक्रेता कम्पनीले टेस्लाको वाई मोडलको गाडी प्रदर्शनीमा राख्नेछ। एनइभी नेपाल प्रालिले ज्याक इभी एक्स्पोमा राख्नेछ। यो चिनियाँ ब्रान्डको विद्युतीय जीप हो। 

श्री इको भिजनरीले दुई वटा मोडल सिटी स्प्रिट र लङमा प्रदर्शनीमा राख्नेछ। यस्तै सिजी मोटर्सले नेटा भी प्रदर्शनीमा राख्नेछ।

एमजी र कियासँग गाडी छैन

यो प्रदर्शनीमा एमजी र कियाको इभी हुने छैनन्। चालु आर्थिक वर्षको बजेटमार्फत सय किलोवाट भन्दा माथिका विद्युतीय गाडीमा कर बढाएका कारण एमजीका गाडी आयात भएका छैनन्। एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले गाडीनै नभएकाले एक्स्पोमा सहभागी नभएको जनाएको छ।

कम्पनीका महाप्रबन्धक सचिन अर्यालले एक्स्पोमा सहभागी नभएको बताउँदै कर बढेपछि अर्डरनै नगरेको जिकिर गर्छन्।

'सप्लाई पनि राम्रो छैन। हामीले हाललाई इभी अर्डर नै गरेका छैनौं,' उनले भने, 'पहिलेको भन्दा ३० प्रतिशत महँगो पर्छ। त्यसैले हामीले केही समयलाई इभी ल्याउन रोकेका छौं।'

बिवाइडीको पनि यो इभी एक्स्पोमा परानै मोडल ई-६ मात्र राखिने भएको छ। बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले चीनमा कोभिडका कारण लकडाउन भएकाले नयाँ मोडल एटो ३ बिच बाटोमा अड्किएको बताएको छ। 

बिवाइडीको एटो ३ लकडाउन खुकुलो भएमा दसैंसम्मआइपुग्ने कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताईन्। अहिले भएको मोडल ई-६ गाडीमा विभिन्न अफरहरु समेत सार्वजनिक गरिने उनले बताईन्।

यसैगरी कियाले पनि विद्युतीय गाडी नभएका कारण इभी एक्स्पोमा सहभागी नहुने जनाएको छ। 

दुई पांग्रेमा धेरै नयाँ मोडल देखिने

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इमोबिलिटीले हिरो इलेक्ट्रिक स्कुटर एक्स्पोमा राख्ने जनाएको छ। कम्पनीका अनुसार हिरो इलेक्टिक स्कुटर बुकिङ गर्नेहरुका लागि अफर समेत ल्याउने जनाएको छ।

एक्स्पोमा १० हजार रुपैयाँ तिरेर हिरोका इलेक्ट्रिक स्कुटर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। यो अवधिमा हिरोको हरेक स्कुटर बुकिङ गर्दा २५ हजार बराबरको गिफ्ट ह्याम्परका साथै बम्पर लक्की ड्रमार्फत जर्मन ब्राण्ड बोस्चको बासिङ मेसिन जित्न सक्ने कम्पनीले जनाएको छ।

यस्तै सीजी मोटर्सले भारतमा परिचित ब्रान्ड ओला स्कुटर सार्वजनिक गर्ने योजना बनाएको छ। ओलाका एस -१ र एस-१ प्रो गरी दुई मोडल छन्। कम्पनीले यही मोडलको स्कुटर एक्स्पोमा सार्वजनिक गर्ने भएको छ।

सेगवेको नयाँ ई-११० मोडलको बाइक एक्स्पोमा सार्वजनिक हुने भएको छ।  डिललाइफ स्टाइलले बिक्री गर्दै आएको सुपर शोको ब्रान्डको नयाँ विद्युतीय बाइक एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरेको छ। यो एक पटकको फुल चार्जमा २०० किलोमिटर दुरी पार गर्न सक्ने नयाँ बाइक हो।

यस्तै योमा एमए ई मोटर्सले पनि नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने भएको छ। यो कम्पनीले टेल्जी ब्रान्डको स्कुटरहरु नेपालमा बिक्री गर्दै आइरहेको छ।

यसैगरी नेपालमा हाल बिक्री भइरहेका पुराना मोडलका स्कुटर तथा बाइकहरु एक्स्पोमा हुनेछन्। जसमा लेभनेङ, एनआईयु, याडिया, जीहो, डुहान, जोए, आइमा, प्युर र लेक्टो ब्रान्डका स्कुटर तथा बाइकहरु एक्स्पोमा रहनेछन्।