काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघपछि नेपाल चेम्बर अफ कमर्स पनि ब्याज दर वृद्धिको विरोधमा उत्रिएको छ। चेम्बरले ब्याज वृद्धि नियन्त्रण गरी व्यवसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ।
निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा ऋणको थप महँगिने भन्दै चेम्बरले बैंकहरुले असोज १ गतेबाट बढाएको ब्याजको विरोध गरेका हो। बैंकहरुले ११.०३ प्रतिशत दिँदै आएको साधारण मुद्दतीको ब्याज बढाएर १२.१३३ प्रतिशत पुर्याएका छन्। बचतको ब्याज दर पनि दोहोरो अंकमा पुगेको छ।
निक्षेपको ब्याज बढ्दा आधार दर पनि महँगिन्छ। यसले गर्दा ऋण अझ महँगो पर्न जान्छ। चेम्बरले हाल कायम स्प्रेड दर तधार आधार दरलाई व्यवस्थापन गर्न आग्रह गरेको छ। चेम्बरले राष्ट्र बैंकलाई विभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको छ।
चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ। निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साहित हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ।’
कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउन समेत चेम्बरले माग गरेको छ।
उच्च दरको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्नका लागि एकल दरको ब्याज कायम गर्न समेत चेम्बरले आग्रह गरेको छ।
बैंकहरुको आधार दरलाई यथाशक्य न्युनतम बिन्दुमा कायम गरी विगतका वर्षहरुमा जस्तो अधिकतम २ प्रतिशत प्रिमियममा थप हुने व्यवस्था गर्न चेम्बरले भनेको छ।