सकियो विद्युतीय सवारी मेला, सबैभन्दा बढी टाटाको नेक्सन इभी बुकिङ, हुण्डाईको कोना दोस्रोमा



२०७९ असोज ९ गते २२:०९ | Sep 25, 2022


सकियो विद्युतीय सवारी मेला, सबैभन्दा बढी टाटाको नेक्सन इभी बुकिङ, हुण्डाईको कोना दोस्रोमा


काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा पहिलो पटक भएको विद्युतीय सवारी साधनमा सबैभन्दा बढी टाटाको नेक्सन इभी बुकिङ भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको चार दिने एक्स्पोमा नेक्सन इभी मात्रै १ सय ३० वटा बुकिङ भएको छ।

Tata
Global Ime

टाटाका लागि गेम चेन्जर भनेको नेक्सनको इभी नेपाली उपभोक्ताले धेरै रुचाएका छन्। अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन इभीको बनावट आकर्षक छ। मूल्य र फिचरका हिसाबले उत्कृष्ट रहेकाले पनि एक्स्पोमा समेत बढी बुकिङ भएको हो।

सप्लाइमा भएको समस्यालाई टाटाले हटाउने प्रतिबद्धता जनाएकाले बुकिङ गरेकाले छिट्टै पाउने सम्भावना छ। टाटापछि हुन्डाईको विद्युतीय गाडी धेरै बुकिङ भएको छ।

हुन्डाईको आयोनिक-५ मोडल ३ वटा र कोना ५६ वटा बुकिङ भएको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ। यस्तै बिवाइडीको ५० वटा ई-६ बुकिङ भएको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्कले जनाएको छ।

ब्लेड ब्याट्रीयुक्त यो गाडी एक पटकको फुल चार्जमा ५ सय २२ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ। यस्तै डुहानको ३० वटा गाडी बुकिङ भएको कम्पनीले जनाएको छ। दुई पांग्रे सवारी साधनमा हिरो इलेक्ट्रिकको ४० वटा स्कुटर बुकिङ भएको छ।

त्यस्तै सेग्वेको ५० वटा स्कुटर बुकिङ भएको छ। दुई पांग्रेमा टेल्जीको ८ वटा र ब्लु शार्कको नयाँ स्कुटर ३ वटा बुकिङ भएको कम्पनीले जनाएको छ। पेयोर स्कुटरको १२ वटा बुकिङ भएका छन्। यस्तै लेक्ट्रो साइकल १० वटा बुकिङ भएको छ।

यसैगरी दी गोको १० वटा पिकअप बुकिङ भएको कम्पनीले जनाएको छ। रेमोटोर्स स्कुटरको पनि ७ वटा र इभीट्रक २० वटा बुकिङ भएको छ।

एनआइयुको २८ वटा स्कुटर बुकिङ भएको छ। यो इभी एक्स्पो अवधिमा सबैभन्दा सपोर्टिङ बेस्ट स्टल अवार्ड नेपाल ड्राइभर्सले पाएको छ। यस्तै दुई पांग्रेको बेस्ट स्टल अवार्ड मार्टिन अटोमोबाइल्स प्रालिले पाएको छ। चार पांग्रेको बेस्ट  स्टल अवार्ड लक्ष्मी इन्टरकन्टिनेन्टलले जितेको छ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने प्यासेन्जर भेहिकल आयातमा प्रतिबन्ध लगाएपछि नाडाले विद्युतीय गाडीको प्रदर्शनीको आयोजना गरेको हो। यो प्रदर्शनीमा आयोनिक-५ देखि टेस्लासम्म राखिएको थियो।

नाडाका अध्यक्ष ध्रुव थापाले यो एक्स्पो सफल भएको बताए। सरकारले हाल लगाइरहेको सवारी आयातमाथिको प्रतिबन्ध हटाएका खण्डमा नाडा अटो शो पनि छिटै आयोजना हुने उनले बताए। ‘यस इभी एक्स्पोले इभीप्रति आम उपभोक्ताको रुचि रहेको देखिएको छ। नेपालमा विद्युतीय गाडीको सम्भावना धेरै रहेको प्रमाणित भएको छ,’ उनले बिजमाण्डूसँग भने। चार दिनको मेलामा ४० हजार जनाले अवलोकन गरेको थापाले बताए।

एक्स्पोमा ९ वटा ब्रान्डका विद्युतीय कार र १६ वटा ब्रान्डका विद्युतीय स्कुटर तथा बाइकले सहभागिता जनाएका थिए। यस्तै एक्स्पोमा विद्युतीय सवारी बुकिङ गर्दा विभिन्न नगद छुटसहित आकर्षक अफरहरु समेत बिक्रेताहरुले ल्याएका थिए। एक्स्पोमा ३० लाखदेखि २ करोड ४० लाख रुपैयाँसम्म पर्ने विद्युतीय गाडी र ६ लाखसम्म पर्ने स्कुटर तथा बाइकहरु एक्स्पोमा राखिएको थियो।