
काठमाडौं। नागढुंगा-मुग्लिन सडक विस्तार अन्तर्गत तेस्रो खण्डमा पर्ने मलेखुदेखि मुग्लिनसम्म ४० किलोमिटर ठेक्का लागेको छ। यसका लागि आह्वान गरिएको ठेक्कामा ३५ वटा कम्पनीहरु प्राविधिक रूपमा छनोट भएका थिए।
प्राविधिक प्रक्रियाको मूल्यांकन जेठ ५ गते सकिएको थियो। आवेदन दिनेहरुमा पहिलो दुई खण्डका ठेक्का पाउने जेभी कम्पनीहरु लगायत भारतीय, नेपाली, जापनिज कम्पनीहरुको सहभागिता थियो।
यस खण्डको शर्मा-जेडआईसीजी जोइन्ट भेन्चरले ४ अर्ब ८० करोड रुपैयाँमा सडक विस्तार ठेक्का पाएको नागढुंगा-मुग्लिन सडक विस्तार आयोजनाले जनाएको छ। मलेखुबाट मुग्लिनसम्मको खण्डका लागि साढे ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो।
तर उक्त निर्माण कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ कम आर्थिक प्रस्ताव गरेकाले ठेक्का पाएको हो। नेपालको सावजनिक खरिद ऐनअनुसार सबै भन्दा कम अंकको आर्थिक प्रस्ताव पेस गर्ने निर्माण व्यवसायीलाई ठेक्का दिने व्यवस्था छ।
आयोजना प्रमुख किरण कार्कीका अनुसार कात्तिकसम्म यो खण्डको पनि सम्झौता गरिने र त्यसपछि निर्माण कार्यको सुरु गरिने छ। त्यसपछि निर्माण कम्पनीले पूर्व तयारीका कामहरु सम्पन्न गरी निर्माणको कार्य ३ वर्षभित्र सक्नुपर्ने उनले बताए।
यसैगरी निर्माण सम्पन्न भएको अवधिले ५ वर्षसम्म मर्मतसंभारको काम निर्माण व्यवसायी आफैंले गर्नुपर्ने हुन्छ।
पहिलो दुई खण्डमा क्याम्प निर्माण र साइट क्लियरको काम धमाधम
आयोजना प्रमुख कार्कीका अनुसार हाल आयोजनामा पूर्व तयारीका कामहरु सम्पन्न भएर निर्माण कम्पनी र आयोजनाको जोइन्ट सर्भे भइरहेको छ। आयोजनाको कन्स्ट्रक्सनका लागि साइडमा क्याम्प निर्माण गर्नेदेखि साइट क्लियर गर्ने काम भइरहेको छ।
यसैगरी आयोजनाको पहिलो खण्ड नागढुंगा-नौबिसेसम्म र दोस्रो खण्ड नौबिसे-मलेखुसम्मका लागि परामर्शदाता र ठेकेदार कम्पनीका लागि अफिस निर्माण गर्ने काम भइसकेको छ। कार्कीका अनुसार आयोजनामा कुन-कुन क्षेत्रको जनशक्ति आवश्यक पर्छन्, सोही अनुसार कामदार आउन थालेका छन्।
'अहिले सबै एकैचोटि आएर पूर्ण रुपमा काम गर्न सकिने अवस्था छैन,' उनले भने, 'साइट क्लियर भएपछि मात्र फुलफेजमा काम गर्न सकिन्छ।'
निर्माण व्यवसायी र आयोजनाबीच भइरहेको जोइन्ट सर्भेमा डिजाइन जाँच र समीक्षा गर्ने काम पनि भइरहेको उनले बताए। भौतिक निर्माणको लागि पोइन्ट राख्ने, इन्जिनियरिङ, विद्युतका पोल र रुखहरु हटाउने कामहरु भइरहेको छ।
आयोजनामा पर्ने रुखहरु काट्न स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइएको छ। यसमा पनि वातावरणीय प्रभाव रिभाइज्ड गर्ने काम भइरहेको कार्की बताउँछन्। कटान स्वीकृतिको लागि सम्बन्धित निकायमा पत्र पठाइएको पनि उनले जानकारी दिए। आयोजनामा लगभग २ हजार ३ सय वटा रुखहरु कटान गर्नुपर्ने हुन्छ।
आयोजना आवश्यक पर्ने ल्याब धुनिबेंसीमा खोलिसकिएको छ। यस्ता ल्याबमा आयोजनाले गुणस्तर तथा निर्माण कार्यको प्राविधिक चेकजाँच गर्छ। जसमा इन्जिनियरहरुले ल्याबमा आर्किटेक्ट डिजाइन निर्माण गर्छन्। कन्स्ट्रक्सन ल्याबमा परियोजनाको अवधारणा र निर्माणको खाका तयार पारिन्छ। डिजाइनरले निर्माण गरेको डिजाइन र स्क्ट्रक्चर अनुसार साइटमा निर्माण कार्य गरिन्छ।
यसैगरी साइट क्लियर गर्न आवश्यक पर्ने मूआब्जा तथा क्षतिपूर्ति रकमको समेत व्यवस्थापन भइरहेको कार्कीले बताए। त्यसका लागि सरकारले लगभग ३० करोड रुपैयाँ व्यवस्थापन गर्न स्रोत सुनिश्चितता गरेको छ। यो विदेशी ऋण सहयोगमा निर्माण भएका कारण मुआब्जा तथा क्षतिपूर्ति रकम नेपाल सरकारले ब्योहोर्नुपर्ने व्यवस्था भएकाले सरकारले उक्त रकमको स्रोत सुनिश्चत गरेको कार्कीले बताए।
यसको विकल्पको रुपमा रहेको धार्के-सीतापाइला सडक निर्माण कार्य पनि अगाडि बढिसकेको छ। यो सडक एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको हो। त्यही अनुसार आयोजना निर्माण कार्य सुरु गरिएको छ।
कस्तो हुन्छ सडक
यो आयोजना विश्व बैंकको १९ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो। नागढुंगा-नौबिसे खण्ड १२.२६ किलोमिटरको ठेक्का १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा एमएस जियाङसु-सगुन जेभी र नौबिसे-मलेखु खण्ड ४३.५४२ किलोमिटरको ठेक्का शर्मा-लामा-जेडआइसीजी जेभीले ५ अर्ब ३३ करोड १९ लाखमा पाएको हो। यो सडक विस्तारको काम ३ वर्षमा सम्पन्न गरी सक्नुपर्ने छ। ५ वर्षसम्म निर्माण व्यवसायीले मर्मत सम्भारको कामका जिम्मेवारी लिनुपर्ने सम्झौतामा उल्लेख गरेको छ।
नागढुंगा-नौबिसे खण्ड ३ लेनको हुनेछ। मालबाहक सवारीलाई ठाडो उकालोमा सहजता होस् भनेर एउटा थप डेडिकेटेड लेन बिस्तार गर्न लागिएको छ। बस्ती तथा बजार भएका स्थानमा सडक ४ लेनको हुनेछ। साथै सर्भिस लेन निर्माण गरिने छ। ताकि सर्वसाधारणलाई आफ्नो साधनहरु आवतजावत गर्न सजिलो होस्।
विभागले गरेको डिजाइनअनुसार मुग्लिङ-नागढुंगा खण्डमा २१ वटा पुलको निर्माण हुनेछ। पुल सबै चार लेनको हुनेछन्। हाल सञ्चालनमा रहेका पुल नभत्काइ सडकको चौडाइ अनुसार नै छेउमा पुल निर्माण गरिने छ। बजार क्षेत्रमा स्थानीयलाई सडक पार गर्न सहज बनाउन १० वटा आकाशेपुल पनि निर्माण गरिनेछ।