
काठमाडौं। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१औं महासभामा भाग लिन पर्यटन मन्त्रीसहित पाँच सदस्यीय टोली क्यानडा पुगेको छ। तीन वर्षको अन्तरालमा महासभा हुने गरेको छ।
आइकाओको सदस्य राष्ट्र भएको हिसाबले महासभाका लागि नेपालले सहभागिता जनाउँदै आएको छ। महासभामा प्राविधिक, आर्थिक, कानुनी र दुईपक्षीय सहयोग विस्तार लक्षित नियम कानुन परिमार्जन विषयमा छलफल हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
मन्त्री जीवनराम श्रेष्ठको नेतृत्वमा सहसचिव बुद्धिसागर लामिछाने, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, उपमहानिर्देशक देवचन्द्रलाल कर्ण, हवाई सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठ गएका हुन्।
महासभा मंगलबारबाट सुरु भइसकेको छ। यो अक्टोबर ७ सम्म चल्ने छ। गत अप्रिलमा आइकाओको प्रतिनिधिले गरेको अडिटमार्फत मुलुकको उड्डयन सुरक्षा कायम ७० प्रतिशतभन्दा माथिले पुष्टी भइसकेको छ।
यसअन्तर्गत आइकाओले हवाई दुर्घटना छानबिन, फ्लाइट अपरेसन, जहाजका लागि एयर वर्दिनेस, पर्सनल लाइसेन्सिङ, एयरपोर्ट, एयर नेभिगेसन लगायतका क्षेत्रको अडिट गरेको थियो।
मुलुकको उड्डयन क्षेत्रमा देखिएको कमीकमजोरीको निराकरण भए नभएको मूल्यांकन गर्न सन् २०१३ को जुलाईमा आइकाओको उडान सुरक्षा सम्परीक्षण (अडिट) नेपाल आएको थियो।