बिदाको समय बाहिर गएर खानपिन गर्दै हुनुहुन्छ? दसैंमा पनि काठमाडौंमा खुल्छन् यी रेष्टुरेन्ट



२०७९ असोज १६ गते ०९:३३ | Oct 2, 2022


बिदाको समय बाहिर गएर खानपिन गर्दै हुनुहुन्छ? दसैंमा पनि काठमाडौंमा खुल्छन् यी रेष्टुरेन्ट


काठमाडौं। दसैंले काठमाडौं सुनसान छ। सवारी साधन नगन्य मात्रामा चलेका छन्। विभिन्न पेशा/ व्यवसाय गरेकाहरु आफ्नो गाउँ फर्किएका छन्। त्यही भएर काठमाडौंका अधिकांश पसलदेखि रेष्टुरेन्टसम्म बन्द भएका छन्।

Tata
Global Ime

यति हुँदाहुँदै पनि काठमाडौंका केही रेष्टुरेन्ट भने सधै खुल्ला हुने भएको छ। दरबारमार्गको हार्ड रक, ठमेलको एलओडी, त्रिशारा, ओरियन्ट, रोड हाउस, नर्थफिल्ड लगायत क्लब र रेष्टुरेन्ट भने खुल्ला हुनेछन्।

दरबारमार्ग स्थित हार्ड रक क्याफेले दसैं विदाभर आफ्नो सेवा दिने भएको छ। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै काठमाडौंमा दसैं मनाउने र विदेशी पर्यटकको चहलपहल उल्लेख्य रहने संचालक सञ्जीव तुलाधारले बताए।

'अन्तर्राष्ट्रिय फ्रेन्चाइज भएका कारण हामी ३६५ दिनै सेवा दिन्छौं। अहिले पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको चहलपहल उल्लेख्य रहेको छ। हामीले यही कुरालाई मध्यनजर गर्दै जनशक्ति व्यवस्थापन गरिसकेका छौँ,' उनले बिजमाण्डूसँग भने।

ठमेल स्थित लर्ड अफ ड्रिङ्क्सले तीन वर्षपछि दसैं विदामा आफ्नो सेवा निरन्तर दिने भएको छ। 'काठमाडौंमै दसैं विदा मनाउने सर्वसाधरणलाई मध्यनजर गर्दै क्लब खोल्ने निर्णय गरेका हौं। यो सँगै नेपाल भ्रमणमा आउने पयर्टकका लागि पनि नाइट लाइफको अनुभव पनि दिनुपर्छ,' संचालक रवीन श्रेष्ठले भने।

लाजिम्पाट स्थित त्रिशारा रेष्टुरेन्ट दसैं विदामा खुल्ने संचालक शोभन वीर मालाकारले जानकारी दिए। उनका अनुसार टिकाको दिनमा पनि रेष्टुरेन्ट खुल्ला हुनेछ।

काठमाडौंस्थित दरबारमार्ग र लाजिम्पाट, ठमेल, नयाँ बानेश्वर, बखुण्डोलमा संचालित पेरोस पिजाको आउटलेट पनि खुल्ने उनले जानकारी दिए। मालाकारका अनुसार कर्मचारीलाई अतिरिक्त पारिश्रमिक दिएर आउटलेट संचालनमा ल्याएको जानकारी दिए।

दरबारमार्गको ओरियन्ट क्याफेले टिकाको दिन बाहेक सबै दिन खुल्ला हुने जनाएको छ। करिब एक वर्ष अगाडि संचालनमा आएको यो रेष्टुरेन्टले सेवा निरन्तर दिन कर्मचारी व्यवस्थापन गरिसकेको फुड एण्ड वेभरेज म्यानेजर रेवन्त कुमार क्षेत्रीले बताए।

रेष्टुरेन्टमा थाइ, जापनिज, इण्डियन सँगै कन्टिनेन्टल परिकारको सेवा लिन सक्ने उनले बताए।रोडहाउस क्याफेले दसैं विदाभर आफ्नो सेवा निरन्तर दिने बजार प्रमुख तानिया अग्रवालले बताइन्।

भाटभटेनी, ठमेल, बौद्ध, पुल्चोक, दरबारमार्ग, भैंसेपाटी, बत्तिसपुतली, दरबारमार्ग र बसन्तपुरमा रहेको सबै आउटलेट दसैं विदा अवधिभर खुला रहने उनले जानकारी दिइन्।

'दसैंमा हाम्रो सबै आउटलेट खुला हुन्छ। टिकाको दिन भने समय हेरफेर हुने सम्भावना रहेको छ। हामीले यसका लागि स्टाफ म्यानेज गरिसकेका छौँ,' उनले भनिन्,'ग्राहकले यो समयमा पनि हाम्रो नियमित मेनुको स्वाद लिन सक्नुहुनेछ।'

ठमेल स्थित नर्थफिल्ड क्याफेले दसैं विदामा पनि खुल्ला हुने जानकारी दिएको छ। आन्तरिक र वाह्य पर्यटक दुवैलाई मधयनजर गर्दै रेष्टुरेन्ट खुल्ने एक कर्मचारीले बताए।