विद्युतीय गाडीबाट लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? मुलुकका यी ठाउँमा छन् चार्जिङ स्टेशन



बिजमाण्डू
२०७९ असोज १६ गते १०:५७ | Oct 2, 2022


विद्युतीय गाडीबाट लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? मुलुकका यी ठाउँमा छन् चार्जिङ स्टेशन


काठमाडौं। विद्युतीय गाडीको बिक्री बढ्दै गएपछि सवारी बिक्रेता कम्पनीले आवश्यक पूर्वाधार विस्तारमा ध्यान दिन थालेका छन्। त्यही भएर नेपालभरी तीब्र रुपमा चार्जिङ स्टेसन विस्तार भएका छन्। 

Tata
Global Ime

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ इभीको पूर्वाधार विस्तारमा आक्रामक देखिएको छ। यसको इभी नेपालमा सबै भन्दा धेरै रुचाइएको छ। धेरै बिक्री भएको देखिन्छ।

पेट्रोल-डिजल इन्जिनका गाडीहरुका लागि निश्चित दुरीमा पेट्रोल पम्प छन्, अब चार्जिङ स्टेशन बढ्दै गए इभी प्रयोगकर्तालाई धेरै सजिलो हुनेछ। 

सिप्रदीले हाल काठमाडौंसहित पोखरा, इटहरी, भैरहवा, नरायणघाट, धार्के, मुल्कोट, हेटौडा, चुम्लिङटार र ढल्केवरमा यस्तो स्टेशन संचालनमा ल्याइसेको छ। यी गन्तव्यका चार्जिङ स्टेशनबाट इभी प्रयोगकर्ताले गाडीका लागि फास्ट चार्जरको सुविधा लिइरहेका छन्।

एक वर्षको अवधिमा १६ फाष्ट चार्जिङ क्षमतासहितको चार्जर स्थापना गरेको छ। यस्तै मल र रेष्टुरेन्ट लगायतका सार्वजनिक स्थानमा १ सय २० भन्दा बढी एसी चार्जर जडान गरिसकेको सिप्रदीले जनाएको छ।

दसैंमा विद्युतीय गाडीमा घर जानेहरुले टाटाले स्थापना गरेको यी ठाउँहरुमा चार्ज गर्न सक्नेछन्। कम्पनीले बुटवल-पोखराबीच वालिङ, नारायणगढ, लमही, कोहलपुर, अत्तरिया र पूर्वतर्फ लहानमा चार्जिङ स्टेशन विस्तार गरिरहेको छ। यसैगरी कम्पनीले ८ ठाउँमा एसी चार्जर पनि निर्माण गरिरहेको छ। यो दसैं-तिहारसम्म संचालनमा ल्याउने तयारी गरेको छ।

यस्तै कम्पनीहरुले आफ्नै लगानीमा विभिन्न बजार तथा लामो दुरीका लागि भनेर होटेलहरुमा चार्जिङ स्टेसन बनाएको छ।

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालको विभिन्न ४० ठाउँमा आफ्नो चार्जिङ स्टेसन राखेको छ। ­­­­­­­­­­­उपत्यकाको हुन्डाईका शोरुम र सर्भिस सेन्टरका साथै लबिम महल र होटल मेरियटमा राखिएको छ। काठमाडौंमा सिनामंगल, धापासी, कुपन्डोल, थापाथली, नक्साल, तीनकुने, पुलचोक (लबिम मल), नागपोखरी (होटल मेरियट) गरि ८ स्थानमा चार्जिङ सेन्टर रहेको छ।

यस्तै उपत्यका बाहिर पोखराको बाराही सर्भिस, वाटरफ्रन्ट रिसोर्ट, होटल बाराही र होन्डाई शोरुम पोखराका ४ स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ। काठमाडौं र पोखरामा गरि कम्पनीले १२ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिसकेको छ।

यसैगरी कम्पनीले बिर्तामोड-इटहरी, इटहरी-विराटनगर, इटहरी-जनकपुर, जनकपुर-वीरगंज, वीरगंज-नारायणघाट, नारायणघाट-बुटवल, बुटवल-भैरहवा, बुटवल-दाङ, दाङ-नेपालगञ्ज, नेपालगञ्ज-धनगढीसम्मको प्रत्येक २ सय किलोमिटरमा विद्युतीय चार्जिङ स्टेसन बनाएको छ।

अर्को बिवाइडीको १६ स्थानमा चार्जिङ स्टेसनहरु चलिरहेका छन्। कम्पनीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरी ९ वटा र बाहिरी जिल्लामा ७ वटा सहित कुल १६ चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ। उपत्यका बाहिर पोखरा, बुटवल, लुम्बिनी, हेटौडा, बर्दिबास, चितवन र इटहरीमा चार्जिङ स्टेशन सञ्चालन भैरहेका छन्।

कियाले पनि सात वटा ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ। कम्पनीले उपत्यकामा ३ सहित बाहिर ४ गरी कुल ७ वटा यस्ता स्टेशन निर्माण गरेको हो। उपत्यका बाहिर चुम्लिङटार, भरतपुर र पोखरामा एसी चार्जर राखेको कम्पनीले कुरिन्टारमा भने डिसी चार्जर राखेको छ।