काठमाडौं। सन् २०१७ मा सुरजराज पाण्डे नेपाल-बंगलादेश युथ एक्सचेन्ज कार्यक्रमका लागि बंगलादेश पुगेको थिए। पाँच दिने त्यो कार्यक्रममा उनको भेट अहमद फहिमसँग भयो।
उनीहरू बीच लामो कुराकानी भयो। फहिमको परिवार करिब एक शताब्दीदेखि गार्मेन्ट उद्योग संचालन गरिरहेको छ। कार्यक्रम सकेर फहिमले सुरजलाई ढाकास्थित आफ्नो गार्मेन्ट कारखाना डेल्टा कम्पोजिट निटिंग इन्ड लिमिटेड भ्रमणको निम्तो दिए। कारखाना सुरजले सोचेको भन्दा निकै ठूलो थियो। पुरै उद्योग घुम्न एक दिन नै लागेको उनी सम्झन्छन्।
त्यस अघिसम्म सूचना-प्रविधिका विद्यार्थी सुरजलाई गार्मेन्ट तथा कपडा उद्योगको बारेमा रुची कम थियो। कारखानामा एक सिफ्टमा नै करिब आठ हजार कामदारहरूले गार्मेन्ट तयार परिरहेको दृश्य सुरजको मष्तिस्कमा पर्यो। सो उद्योग चौबिसै घण्टा संचालन हुन्थ्यो।
सुरज भन्छन्, ‘त्यो स्केलमा गार्मेन्ट उत्पादन भएको देख्दा म छक्क परेको थिए।’ त्यहाँ उत्पादन भएको केही गार्मेन्ट नेपाल निर्यात हुने/नहुने बारेमा फहिमसँग जिज्ञासा राखे। आफ्नो उद्योगमा उत्पादित गार्मेन्ट नेपाल निकासी भइरहेको उनले जानकारी दिए। फहिमले आफ्ना उत्पादन नेपालमा बिक्री गर्न प्रस्ताव समेत गरे। तर सुरजले कुनै जवाफ दिन सकेनन्।
सुरज नेपाल फर्किएपछि भने गार्मेन्टको बारेमा सोच्न थाले। नेपालमा तयारी पोशाक आयात र उत्पादनका बारेमा अध्ययन गर्न थाले। 'तीन दशक अघिसम्म नेपालको तयारी पोशाक अमेरिकादेखि युरोपसम्म पुगेको रहेछ। ग्याप, जेसिपेनी लगायतका ब्राण्ड यही उत्पादन हुने रहेछ,' उनले बिजमाण्डूसँग भने, 'तर एकाएक कोटा खारेज भएपछि अमेरिका निकासी घट्न थाल्यो। सँगै यहाँ भएका ठूला तयारी पोशाक उद्योग धमाधम बन्द भए। त्यहाँ रहेका दक्ष जनशक्ति विदेशिन बाध्य भए।'
विदेशी बजार गुमाउनुका पछाडि आफ्नै ब्राण्ड स्थापित गराउन नसक्नु रहेको उनको निष्कर्ष रह्यो। सबै अध्ययनपछि उनले स्वदेशी ब्राण्ड बनाउन कम्मर कसे। सन् २०१८ को नोभेम्बरमा नेपाली बजारलाई लक्षित गर्दै स्मार्ट-क्याजुवल पोशाक ब्राण्ड फाइब्रो बजारमा लन्च गरे। २५ वर्षीय सुरजले चुनौति झेल्दै चार वर्षको अवधिमा फाइब्रोलाई काठमाडौं उपत्यकामा स्थापित बनाइसकेका छन्।
.jpg)
यो क्लोथिङ स्टार्टअपले हाल ३५ डिजाइनका ज्याकेट, टि-सर्ट, पोलो टि-सर्ट, डाउन ज्याकेट, हाफ ज्याकेट, र सर्टहरू उत्पादन गर्दै आएको छ। फाइब्रोले मौसम अनुसारको पोशाक निकाल्ने गरेको छ। जसको मुल्य रु १२०० देखि ५,००० सम्म पर्छ।
सुरुवाती लगानी जम्मा १० हजार
काठमाडौंको सामान्य परिवारका सुरजले ठूलो रकम लगानी गर्ने अवस्था थिएन। तर आफूले जेनतेन गरेर जोगाएको पैसा १० हजार रुपैयाँ लगानी गरेर उनले फाईब्रो सुरु गरे। फाइब्रो सुरु गर्नु अघि उनले आफ्नो परिवार तथा साथीभाईसँग पनि सुझाब लिए।
उनी भन्छन्, ‘सबैबाट सकारात्मक प्रतिकृया नै आयो। यसले मलाई अघि बढ्न झन् उर्जा मिलेको थियो।’
जाडोको मौसम भएकोले फाइब्रोले आफ्नो सिग्नेचर ब्ल्याक विन्टर फर ज्याकेटका ४० वटा पिस साथ बजारमा ल्यायो। उत्पादन तयार भयो। तर सुरजको अगाडि एउटा ठुलो चुनौती बजार थियो। कहाँ बेच्ने कसलाई बेच्ने? कसरी बेच्ने भन्ने अलमल उनीमा थियो।
त्यसैले उनले सुरुमा आफ्नो परिवारजन, साथीभाईलाई आफ्ना उत्पादन बेचे। उनी आफै ज्याकेट लिएर आफन्त तथा साथीभाईको घर-घर पुग्ने गर्थे। एक महिना नबित्दै सबै ज्याकेटहरू बिक्रि पनि भयो।
तर सधै यसरी कहाँ चल्थ्यो र? केहि महिनामा बिक्री शून्यमा झर्दै गयो। उनले आफ्नो ब्राण्डको दायरा आफ्नो परिवारजन तथा साथीभाईको घेराबाट वाहिर लैजान सकेनन्। त्यसपछि उनलाई लाग्यो-'व्यापार गर्न सजिलो रहेनछ।' फाईब्रोलाई नयाँ ग्राहकसम्म पुर्याउन धेरै गाह्रो भइरहेको थियो। पाण्डे भन्छन्, ‘म पूर्ण रूपमा निराश भएँ।’
उनले लगभग हार मानिसकेका थिए। तर यसै बीच उनले आशाको किरण भेटाए। एक दिन न्यूरोड घुम्दै गर्दा पाण्डेले फाइब्रो लगाएको एकजना मानिस भेटे जो उनको परिवारजन र साथीभाई भन्दा बाहिरका थिए। त्यसलाई उनले अँध्यारो सुरुङभित्र आशाको किरणको रुपमा भेटे। त्यसपछि आक्रामक बजार विस्तारमा लाग्ने निधो सुरजले गरे। त्यसपछि अनलाइन प्ल्याटफर्ममार्फत फाइब्रोको बिक्री वितरण र ब्राण्डिङको काम गर्न थाले।
बजार विस्तार बाहेक, फाइब्रो स्थापित गर्न थुप्रै अवरोधहरू पार गर्नुपरेको सुरज सुनाउँछन्। ‘नेपाली ब्राण्ड भन्ने बित्तिकै गुणस्तरहीन र महँगो हुन्छ भन्ने आमविश्वासलाई चिर्न पनि हम्मेहम्मे नै पर्यो,’ उनले भने।
त्यसैले उनले ग्राहकहरूलाई कमलपोखरीमा रहेको फाइब्रोको अफिसमा नै आएर खरीद गर्न आग्रह गर्न थाले। योसँगै ग्राहकमा पनि नेपाली ब्राण्डप्रति विश्वास भयो। त्यसपछि सुरजले पछाडि फर्किनुपरेन्।
दिनानुदिन फाइब्रोको व्यापार बढ्दै थियो। बजारमा आफ्नो पकड बनाउँदै थियो। तर कोरोना महामारीले फाइब्रोको व्यापारमा ठूलो थक्का पुग्यो। ‘हाम्रो बिक्री ९० प्रतिशतले घटेको थियो। लकडाउनले कच्चा पदार्थ आयातदेखि उत्पादन खर्च बनाउने लगायतका धेरै समस्याहरू पनि थपियो। तर हामीले हार मानेनौँ,’ सुरजले कठिन दिन सम्झिए।
ग्राहकहरूको विश्वासले गर्दा नै महामारी जस्तो विषम परिस्थिति पनि पार गर्न सहज भएको सुरजको जिकिर छ। केहि महिना अघिसम्म फाइब्रोले आउटसोर्सिङ गरेर कपडा तयार गर्थ्यो। तर आउटसोर्सिङमा आफूले भनेको जस्तो गुणस्तर नभएपछि म्यानुफ्याक्चरिङ युनिट लगाउने निर्णयमा सुरज पुगे। आठ लाख रुपैयाँ लगानी गरेर फाइब्रोले आफ्नै उद्योग स्थापना गर्यो।
हरेक दिन छ जना कामदारबाट तयारी पोशाक तयार भइरहेको छ। कुनै पनि तयारी पोशाक बजार लैजानु अघि फाइब्रोले कपडा, डिजाइन, सिलाईदेखि हरेक कुराको गुणस्तरको जाँच गर्छ। त्यही भएर कुनै पनि स्टार्टअप मेलामा राम्रो व्यापार फाइब्रोले गर्दै आएको छ।
गत रिभ्याम्प नेपालको फेस्टिभ संस्करणमा मात्रै फाइब्रोले एक दिनमा नै लाख माथिको व्यापार गरेको थियो।फाइब्रोका लागि कच्चा पदार्थ भने प्रायः चीन, भारत, थाइल्यान्ड, ताइवान, र टर्कीबाट आयात हुने उनले बताए।
अहिले फाइब्रोका पोशाकहरू नेपालका विभिन्न जिल्लादेखि अमेरिका, क्यानडा, अस्ट्रेलिया, चीन र युरोपेली राष्ट्रहरूमा अनलाइन र पसल मार्फत बिक्री भइरहेको सुरज बताउँछन्। छिट्टै फाइब्रोको आफ्नै स्टोर खोल्ने योजनामा सुरज अहिले पनि काम गरिरहेका छन्। तयारी पोशाकमा लागिरहेका उनलाई यो क्षेत्रमा कामदार अभाव भएको देखेपछि महिलालाई तालिम दिएर काममा लगाउने योजना पनि सुरजले बनाइरहेका छन्।


