छिमेकी भारतमा उच्च गतिको फाइभजी रोलआउट हुँदा नेपाल भने उपकरणको पर्खाइमा



२०७९ असोज १६ गते १३:२९ | Oct 2, 2022


छिमेकी भारतमा उच्च गतिको फाइभजी रोलआउट हुँदा नेपाल भने उपकरणको पर्खाइमा



काठमाडौं। छिमेकी भारतले शनिबारबाट फाइभजीको व्यवसायिक प्रयोग थाल्दा नेपालमा भने परीक्षणकै लागि अझै केही समय पर्खनु पर्ने भएको छ। 

Tata
Global Ime

सरकारले आफ्नो स्वामित्व रहेको नेपाल टेलिकमलाई फाइभजीको परीक्षण गर्न अनुमति दिएपनि उपकरणहरु नेपाल नआइपुग्दा परीक्षणको ठ्याक्कै मिति घोषणा गर्ने पक्षमा अधिकारीहरु छैनन्। 

ठेक्का पाएको कम्पनीले टेलिकमलाई आवश्यक उपकरण चीनबाट ल्याउँदै छ। तर, चाहिने सबै उपकरण आइसकेको छैन। टेलिकमका एक अधिकारीले १५/२० दिनमा सबै सामान आउँछ भन्ने अपेक्षामा आफूहरु बसेको जानकारी दिए। 

‘ठ्याक्कै यही दिन आउँछ भन्ने अवस्था छैन। दसैं बिदा सुरु हुनुअघि ठेक्का पाएको कम्पनीसँग बुझ्दा २० दिनमा सामान आइपुग्दा भन्ने रिपोर्टिङ पाएका छौं। चीनमा पटकपटक कोरोना महामारीलाई देखाएर लकडाउन भइरहेकाले केही समस्या देखिएको छ। तर, ठेक्का पाएको कम्पनीले सम्झौता अनुसार समयमै उपकरण नेपाल झिकाउने हामीसँग भन्दै आएको छ,’ ती अधिकारीले बिजमाण्डूसँग भने, ‘हामी निरन्तर ताकेता गरिरहेका छौं। जतिचाँडो सामान आइपुग्छ, त्यसलाई कमिसनिङ गरेर परीक्षण सुरु गर्ने तयारीमा टेलिकम छ।’

यता दूरसञ्चार क्षेत्रका जानकारीहरु भने सरकारले परीक्षणमा कन्जुस्याईँ गरेको आरोप लगाउँदै आएका छन्। सरकारले आफ्नो स्वामित्वको नेपाल टेलिकमलाई मात्रै फाइभजी परीक्षणको अनुमति दिएकाले  ढिलाइ भइरहेको बताउँदै आएका छन्। निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेललाई पनि सरकारले परीक्षणको अनुमति दिएको भए अझै चाँडो सुरु हुन्थ्यो।

एनसेलले पनि सरकारसँग फाइभजी परीक्षण गर्न पाउनुपर्ने माग गर्दै आइरहेको छ। आफूहरुसँग पनि फाइभजी परीक्षण गर्न आवश्यक पूर्वाधारदेखि संयन्त्र भएको भन्दै परीक्षणको अनुमति माग्दै आएको छ।

एनसेलमा लगानी रहेको आजियाटा समूहले विभिन्न देशहरुमा रहेको आफ्नो टेलिकम कम्पनीहरु मार्फत फाइभजी रोलआउटमा आक्रामक लगानी गरिरहेको छ। तर, सरकारले नेपाल टेलिकमबाहेक अरु कम्पनीहरुलाई फाइभजी परीक्षणको अनुमति दिएको छैन। जसका कारण एनसेलले फाइभजी परीक्षणमा कामै गर्न पाएको छैन। 

सरकारले काठमाडौंसँगै पोखरा, वीरगंज र विराटनगरबाट फाइभजीको परीक्षण गर्ने योजना बनाएको छ। परीक्षण अवधिभर उपभोक्ताहरूलाई नि:शुल्क फाइभजी डेटा दिने तयारी सरकारको छ।

फाइभी सञ्चालनका लागि लो ब्यान्डअन्तर्गतका सात सय, नौ सय, १८ सय, २३ सय, २६ सय मेगाहर्ज, मिड ब्यान्डका ३३ सय, ३४ सय, ३६ सय, ४७ सय मेगाहर्ज र हाइ ब्यान्डको २६ गिगाहर्ज ब्यान्डको फिक्वेन्सी फाइभजीका लागि सिफारिस भएको थियो।  

सेवा प्रदायकहरुलाई न्यून फ्रिक्वेन्सी ब्यान्डहरूमा १० देखि २० मेगाहर्ज, मध्यम ब्यान्डअन्तर्गत एक सय मेगाहर्जसम्म र उच्च ब्यान्डमा एक हजार मेगाहर्जसम्म फ्रिक्वेन्सी दिन फोरमले सिफारिस गरेको छ।

प्राधिकरणले फाइभजी लगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धी कार्यविधि २०७८ साउनमा ल्याएको थियो। सो कार्यविधिले फाइभजीलगायतका नयाँ प्रविधिको परीक्षणका लागि सेवा प्रदायकहरुलाई सहज भएको छ। 

निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेललाई भने सरकारले फाइभजी परीक्षणको अनुमति दिएको छैन। एनसेलले पनि फाइभजी परीक्षण गर्न आफूहरु तयार भएको भन्दै अनुमति दिन आग्रह गर्दै आएको छ।  

भारतमा शनिबारदेखि सुनिल मित्तलको कम्पनी एयरटेलले फाइभजीको व्यवसायिक रोलआउट गरेको छ। अर्बपति मुकेश अम्बानीको रिलायन्स जिओदेखि अरु टेलिकम अपरेटरहरु भने फाइभजी रोलआउट गर्ने तयारीमा छन्। 

अम्बानीले आगामी दिवाली (तिहार तिर) सम्ममा जिओले फाइभजी सेवा सुरु गर्ने बताएका छन्। तिहार भित्र भारतका चार ठूला सहर दिल्ली, मुम्बई, चेन्नई र कोलकतामा फाइभजीको व्यवसायिक रोलआउट गर्ने तयारी रहेको अम्बानीले बताए।  

‘हामी अल्ट्रा हाइ स्पिडको इन्टरनेट कनेक्टिभिटी अर्थात फाइभजीलाई डिसेम्बर २०२३ भित्रमा देशका सबै भागमा पुर्‍याउने गरी काम गर्दैछौं। त्यसअघि तिहार भित्र चार ठूला सहरमा रोलआउट गर्छौं,’ अम्बानीले भारतीय सञ्चारमाध्यमहरुसँग भने। 

यस्तै, आदित्य बिर्लाको कम्पनी भोडाफोन आइडियाले भने अझैसम्म कहिलेबाट फाइभजी सुरु गर्ने एकिन मिति घोषणा गरेको छैन। 

‘हामी छिट्टै नै फाइभजी रोलआउटको तयारीमा छौं। हामी भारतको ग्रामीण क्षेत्रमा फाइभजीलाई आक्रामक रुपमा विस्तार गर्ने रणनीतिमा अघि बढिरहेका छौं। त्यसका लागि हाम्रा व्यवसायिक ग्राहक, टेक पार्टनरहरुसँग निरन्तर काम गरिरहेका छौं,’ बिर्लाले भारतीय सञ्चारमाध्यमहरुसँग भने।