
काठमाडौं। चाडपर्वका कारण यतिबेला बजारमा फलफुलको खपत बढेको छ। बजारमा सबैभन्दा धेरै बिक्री हुने फलफूलमध्ये स्याउ पर्छ। चालु आर्थिक वर्षको दुई महिनामा स्याउको मात्रै एक अर्ब रुपैयाँ भन्दा बढीको आयात भएको छ।
बजारमा स्याउको आयात गत वर्षको भन्दा वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। तथ्यांक अनुसार यसअघि चिनियाँ स्याउको धेरै खपत हुने गरेकोमा यो वर्ष भने भारतबाट ठूलो मात्रामा स्याउको आयात भएको छ।
चिनियाँ नाका लगातार बन्द हुँदा यो वर्ष भारतीय स्याउको आयात वृद्धि भएको व्यवसायीहरुले बताएका छन्। व्यवसायीहरुले चाडपर्व लक्षित गरेर आयात गरेका स्याउ तातोपानी र रसुवा नाकामा रोकिएपछि भारतीय स्याउले बजार पाएको हो।
चिनियाँ फुजी स्याउको आयात घट्दा उपभोक्ताले भारतीय स्याउ सस्तो मूल्यमा खरिद गर्न पाएका छन्। उपभोक्ताहरुलाई गत वर्षदेखि स्याउ निकै महंगो परिरहेको थियो। तर भारतीय स्याउको आयातले बजारलाई राहत दिएको छ।
चिनियाँ स्याउको आयात कम र मूल्य धेरै हुँदा बजारमा प्रतिकेजी २ सय ८० रुपैयाँ देखि ३ सय रुपैयाँको हाराहारीमा बिक्री भइरहेको थियो। हाल भारतीय स्याउ प्रतिकेजी एक सय ५० रुपैयाँ देखि २ सय रुपैयाँसम्म किन्न पाइन्छ।
पछिल्लो समय भारतीय कश्मिरी स्याउको आयात बढी भएको व्यवसायीले बताए। चिनियाँ नाकाको खुल्ने र बन्द हुने टुङ्गो नभएपछि व्यवासयीहरुले दसैको लागि भारतीय स्याउ आयात गरेको कुलेश्वर फलफूल बजारका अध्यक्ष अम्बर बानियाँले जानकारी दिए।
'अघिल्ला वर्षजस्तो चिनियाँ स्याउ कुरेर बस्नु पर्ने अवस्था छैन। कश्मिरी स्याउ सस्तो मूल्यमा सजिलै आयात हुने भएकोले व्यवसायीहरुले यहि मगाउन थालेका छन्,' अध्यक्ष बानियाँले भने।
अन्य समय भन्दा दसैंमा स्याउको खपत बढ्छ। यसका लागि व्यवसायीहरुले ठूलो परिमाणमा स्याउ आयात गरेर राख्छन्। स्याउको आयात दैनिक २ सय टनसम्म हुने गरेको कुलेश्वर बजारले जनाएको छ।
यति बेला स्वदेशी स्याउको उत्पादनको समय भएपनि बाहिरी मुलुकबाट ठूलो परिमाणमा आयात भएको देखिएको छ। चालु आर्थिक वर्षको साउन र भदौं महिनामा करिब एक अर्ब ४० करोड ५७ लाख रुपैयाँको स्याउ आयात भएको तथ्यांकले देखाएको छ। उक्त रकमको करिब एक करोड ९१ लाख केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ।
गत आर्थिक वर्ष सोही अवधिमा एक अर्ब २७ करोड ९७ रुपैयाँ बराबरको एक करोड ६० लाख ७२ हजार केजी स्याउ आयात भएको थियो।
यो वर्ष स्याउ आयात भारतबाट सबैभन्दा धेरै भएको छ।
अघिल्ला वर्ष बजारमा चिनियाँ स्याउको बर्चस्व धेरै हुने गरेको थियो। यति बेला भारतबाट एक करोड ४४ लाख केजी स्याउ आयात भएको छ। जुन ९५ करोड रुपैयाँ भन्दा बढीको हो। चीनबाट ४५ करोड बराबरको ४६ लाख केजी स्याउ आयात भएको छ ।
गत वर्ष चीन, भारत र टर्कीबाट स्याउको आयात भएको थियो। जसमा चीनबाट सबैभन्दा बढी ९७ लाख केजी आयात भएको हो।
भारतबाट ४१ करोड रुपैयाँको ४६ लाख केजी स्याउ आएको थियो। टर्कीबाट १३ लाख ८० हजार रुपैयाँको २० हजार केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ।
यसपटक भने बजारमा भारतीय स्याउकै वर्चश्व छ जसले गर्दा उपभोक्ताले सस्तो स्याउ समेत पाइरहेका छन्।