आपूर्ति कम हुँदा हरिया तरकारी महँगियो, दुई दिनमै दोब्बर भयो कालीमाटी तरकारी बजारमा भाउ



२०७९ असोज १७ गते १६:५५ | Oct 3, 2022


काठमाडौं । देशभर दसैंको माहोल चलिरहेको छ । यति बेला चौपायाहरुको मात्र नभई माछा र हरिया तरकारीको खपत पनि उत्तिकै हुने गरेको छ। दसैंमा सबैले माछा मासु मात्रै खान्छन् भन्ने हुँदैन। शाकाहारीहरुले हरिया तरकारी नै खोज्ने गर्छन् भने माछामासु खानेले पनि हरिया सागपात र अन्य तरकारीहरु बढी नै खोज्ने गर्छन्। 

Tata
Global Ime

यसपाली पनि दसैंमा माछामासु मात्र नभइ हरिया तरकारीको मूल्य पनि महंगिएको छ।   यतिबेला उपत्यकामा तरकारीको खपतमा अन्य समयको भन्दा कम हुन्छ ।

दसैंका लागि  धेरै मानिसले काठमाडौं उपत्यका छोड्ने गर्दछन्। सर्वसाधारण गाउँघर जाँदा तरकारीको माग गाउँघरमै बढी हुने गर्छ यसैले बजारमा ठूलो परिमाणमा तरकारी आउँदैन। यस्तै भारतमा पनि अहिले तरकारी बढी खपत हुने समय हो ।जसले गर्दा भारतबाट हुने आयात पनि घट्छ । 

दसैं लागेसँगै कालीमाटी तरकारी बजारमा दैनिक भित्रिने तरकारी परिमाण धेरै घटेको छैन तर मूल्य भने बढेको छ।  अहिले कालीमाटी तरकारी बजारमा हरिया तरकारी भन्दा आलु, प्याज, गोलभेडा  र  लसुन लगायतका आयात धेरै छ। यसले गर्दा आपूर्ति घटेको नदेखिएको हो। 

हाल बजारमा दैनिक रुपमा स्वदेशी र भारतीय तरकारी गरेर ५ लाख केजी भन्दा बढी भित्रिइरहेको छ। बजारमा भित्रिने तरकारीमा सबै भन्दा धेरै सिजनका तरकारी  छन् ।

काउली, काँक्रो, गाजर, गोलभेडा ,घिरौला, च्याउ ,बरेला बोडी , माछा, स्कूस , आलु र प्याज रहेका छन्। हरिया सागपात, मुला, भिण्डि, भेडे खुर्सानी, बन्दा, फर्सी, करेला, गोलभेडा, हरिया खुर्सानी लगायतका तरकारी कम परिमाणमा भित्रिन थालेको छ ।अफसिजनका तरकारीको आपूर्तिमा पनि कमी आएको छ।  

कुन तरकारीमा कति बढ्यो 

दुई दिनमा तरकारीको मूल्य दोब्बर बढेको  कालिमाटी तरकारी बजारले जनाएको छ । १५ गते प्रतिकेजी ६५ रुपैयाँ रहेको लोकल काँक्रो बढेर ८५ रुपैयाँ पुगेको छ । हाइब्रिड काँक्रो बढेर प्रतिकेजी २९ रुपैयाँबाट ५५ रुपैयाँमा पुगेको छ ।

त्यस्तै, कागती प्रतिकेजी २१० रुपैयाँबाट बढेर २२२ रुपैयाँ  छ । अकबरे खुर्सानी ११३ रुपैयाँबाट बढेर १३५ रुपैयाँ भएको छ ।
गाँजर १२६ बाट १३५ रुपैयाँ पुगेको छ ।

डल्ले च्याउ ४२५ बाट बढेर ४५० रुपैयाँ भएको छ।  जिरीको साग किलोको १३५ बाट १६५ रुपैयाँ ,तोरीको साग ४५ रुपैयाँबाट ५५ रुपैयाँ, परवर ४८ रुपैयाँबाट ५५ रुपैयाँ, बन्दा ४० रुपैयाँबाट ४५ रुपैयाँ भएको छ। 

यसैगरी भटमासको कोसा ६६ रुपैयाँबाट ७५ रुपैयाँ ,भिण्डी ५५ बाट ६६ रुपैयाँ, मुला २३ रुपैयाँबाट ३५, हरियो फर्सीमा प्रतिकेजी १० रुपैयाँ बढेर ४६ रुपैयाँ  कायम भएको छ ।

भाउ घटेका तरकारीहरु

यतिबेला सिजनल तरकारीको मूल्य थोरै थोरै घटेको छ । जसमा हरियो धनियाँको मूल्य १३३ रुपैयाँबाट घटेर ११८ रुपैयाँमा आइपुगेको छ।काउलीको मूल्य ११० बाट घटेर ९६ रुपैयाँ, रायो सागमा ३ रुपैयाँ घटेर ११०, ब्रोकाउली ३१० रुपैयाँबाट घटेर २ सय ७५ रुपैयाँ भएको छ ।

न्यूरोको साग ८६ रुपैयाँबाट ७५ रुपैयाँमा झरेको छ । पाते च्याउ २६५ रुपैयाँबाट २४५ रुपैयाँ,  घिरौला ६५ रुपैयाँबाट ५६ रुपैयाँ भएको छ ।

घिउ सिमी ७६ रुपैयाँबाट ६६ रुपैयाँ, राज्मा सिमी २२५ रुपैयाँबाट घटेर २१० रुपैयाँ  र गान्टे मुला ८६ रुपैयाँबाट घटेर  ७५ रुपैयाँ छ।

दसैंमा सिमित पसलहरु खुल्ने भएकोले व्यापारीहरुले मौका छोपेका छन् । कालीमाटी तरकारी बजारमा मूल्य घटेका तरकारी पनि बाहिर बजारमा उपभोक्ताले महंगोमा खरिद गरिरहेका छन् ।