एप्पलले भारतबाट १ अर्ब डलर बराबरको आइफोन निर्यात गर्‍यो, वार्षिक ३० लाख आइफोन तयार हुँदै



बिजमाण्डू
२०७९ असोज १९ गते १५:४३ | Oct 5, 2022


भारतबाट पनि उत्पादन थालेको एप्पलले  गत अप्रिल यता पाँच महिनामै १ अर्ब डलर बराबरको आइफोन निर्यात गरेको छ। हालसम्म विश्वभर चीनमा उत्पादित आइफोनको वर्चश्व रहँदै आएको छ।

Tata
Global Ime

चीनले विश्वमा आइफोन निर्माणको ९८ प्रतिशत बजार हिस्सा ओगटेको छ। भारतबाट भने निकै पछि मात्र आइफोन उत्पादन र निर्यात हुन थालेको हो।

चीनबाट बार्षिक २३ करोड आइफोन तयार भई विश्व बजारमा जान्छ भने भारतमा अहिले वार्षिक ३० लाख आइफोन तयार भैरहेको छ। हालसम्म एप्पलले भारतबाट उत्पादित आइफोन ११,१२ र १३ को निर्यात गरिसकेको छ भने चाँडै आइफोन १४ पनि बजारमा पठाउँदैछ।  एप्पलले आइफोन १४ को उत्पादन भारतमा गत महिनाबाट मात्र थालेको हो। 

भारतमा सरकारले विद्युतीय उत्पादनलाई बढावा दिनका लागि बिभिन्न सुविधाहरु दिने घोषणा गरेको छ। सरकारले परफरमेन्स लिंक्ड इन्सेन्टिभ स्कीम (पीएलआई स्किम) समेत ल्याएको छ।

 यसकारण हाल भारतमा विश्वका विभिन्न ठूला विद्युतीय कम्पनीहरुले आफ्नो म्यानुफ्याक्चरिङ युनिट बनाइरहेका छन्।  हाल भारतबाट विद्युतीय उत्पादनहरुको ठूलो निर्यात समेत भैरहेको देखिन्छ। भारतमा बनेको आइफोन हाल एप्पलले यूरोप र मध्यपूर्वी देशहरुमा बेचिरहेको छ।

सन् २०२२ को अप्रिलदेखि हालसम्म एप्पलले एक अर्ब डलर बरारबको आइफोन भारतबाट निर्यात गरिसकेको छ। यसै रफ्तारमा  एप्पलले भारतमा आइफोनको उत्पादन बढाउने हो भने भारतबाट बनेको आइफोनको यूरोप र मध्यपूर्वी देशहरुमा भैरहेको निर्यात सन् २०२३ को मार्चसम्ममा बढेर साढे दुई अर्ब डलर पुग्ने अनुमान गरिएको छ।

एप्पलले सन् २०२२ को मार्चसम्ममा भारतबाट १ अर्ब ३० करोड डलर बराबरको निर्यात गरेको तथ्यांकले देखाउँछ। चालु आर्थिक वर्षमा भने यो परिमाण बढेर दोब्बर हुन सक्ने बताइएको छ। यसले भारत ग्लोबल इलेक्ट्रोनिक्स म्यानुफ्याक्चरिङ हब बन्न सक्नेतर्फ संकेत गर्छ।

पछिल्लो समयमा अमेरिका र चीनबीच बिग्रिएको सम्बन्ध, कोभिड महामारीका कारण कडाई गरिरहेको चीन तथा सप्लाई चेनमा भएको गडबडीका कारण एप्पलले चुस्त  विकल्प खोजिरहेको बेला भारतले यस अवसरबाट प्रचुर फाइदा लिन सक्ने विश्लेषकहरुको भनाई छ।