
वीरगंज। वीरगंजको सिर्सियामा रहेको सुक्खा बन्दरगाहबाट डस्टी कार्गो पनि ल्याइने भएको छ। सुक्खा बन्दरगाह संचालनको ठेक्का पाएको प्रिस्टिन भ्यालीले डस्टी कार्गोका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव गरेको छ।
प्रिस्टिनका सुक्खा बन्दरगाह शाखा प्रमुख अतुल शर्माका अनुसार अढाई महिना अघिनै मन्त्रालयमा प्रस्ताव गरिएको हो। वाणिज्य सहसचिव डा. नारायण रेग्मी वीरगंज आएका बेला डस्टी कार्गो संचालनका लागि प्रस्ताव पठाएको र औपचारिक रुपमा पनि पत्र पठाइसकेको शर्माले बताए।
‘हामीले प्रस्तावसहितको फाइल वाणिज्य सचिव रेग्मीलाई र नेपाल इन्टर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेललाई स्वीकृतीको लागि पठाइसकेका छौं,’उनले बिजमाण्डूसँग भने,‘सरकारी पक्षबाट जति चाँडो स्वीकृति आउँछ। त्यति नै चाँडै डीपीआर र केही महिनामा पूर्वाधार निर्माण गरी लुज कार्गो ल्याउने तयारी छ।’
लुज कार्गोमार्फत कोइला,जिप्सम,फलाम सलगायत सामानहरु भारतबाट सिधै वीरगंज सम्म आयात गर्न सकिन्छ। सरकारले अनुमति दिएमा तीन महिनामा पूर्वाधारको काम सकेर कार्गो ल्याउन सुरु गर्ने शर्माले बताए।
रेलमार्गबाट लुज कार्गो ल्याउन अनुमति नदिँदा नेपाली आयातकर्ताहरुले चर्को शुल्क तिरेर भारतको सीमावर्ती सहरको रेल्वे यार्डमा ल्याएर राख्नुपरिरहेको छ। त्यहाँबाट विभिन्न ढुवानीका साधानबाट नेपाल ल्याउने गरिन्छ। अहिले महिनामा ६ वटा लुज कार्गोको र्याक रक्सौंल आउने गर्छ। एक र्याकमा २५ सय टन हुन्छ।
रक्सौंलमा लुज कार्गो ल्याउँदा स्थानीयवासीको समेत तीब्र विरोध हुने गरेको छ। तीन वर्ष अघि स्थानीयले लुज कार्गो झार्न रोक्दा नेपाली उद्योगी व्यवसायी समस्यामा परेका थिए। वातावरण प्रदुषण भएको भन्दै क्लिकंर झार्न नदिने भन्दै आन्दोलन गरेपछि वैकल्पिक उपाय खोज्दै भारतकै प्रतापपुरमा पूर्वाधार निर्माण गरिएको थियो।
पूर्वाधार बनाउँदै कम्पनी
सुक्खा बन्दरगामा रेल आउन ६ वटा ट्रयाक छ। ६ नम्बर ट्रयाकबाट फलामजन्य वस्तु आउँथ्यो। यही ट्रयाकमा लुज कार्गो ल्याउने तयारीका लागि पूर्वाधार निर्माण गरिरहेको छ।
पहिलाको पाँच नम्बरलाई परिवर्तन गरेर ४ नम्बर बनाइएको छ। त्यो ४ नम्बरबाट मल, चिनी लगायतका बोराबन्द सामान आउँछ। पुरानो ४ नम्बर ट्रयाकलाई पाँच नम्बर बनाइएको छ, त्यहाँबाट फलामजन्य वस्तु आउँछ।
लुज कार्गो आउने भएपछि ६ नम्बर ट्रयाकको वरपर ९ फिट अग्लो पर्खाल निर्माण गर्न थालिएको छ। त्यही १२ फिट अग्लो धुलो नियन्त्रणका लागि कपडाले छोपिनेछ।
वायु प्रदुषण नहोस् भनेर कम्पनीले यो पूर्वाधार निर्माण गर्न थालेको हो। साथै त्यो क्षेत्रमा पानीको फोहोरा पनि हालिनेछ। प्रिस्टिनका कमर्सियल अफिसर विकास शर्माले धुलोजन्य सामान ल्याउँदा वायु प्रदुषण नहुने जिकिर गरे।