प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एमालेको समानुपातिक सूचीमा, ‘कांग्रेसबाट रोएर बिदा भए’



बिजमाण्डू
२०७९ असोज २१ गते २०:५७ | Oct 7, 2022


काठमाडौं। प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई एमालेले समानुपातिक सूचीमा जनजाति समूहको पहिलो नम्बरमा सिफारिस गरेको छ।

Tata
Global Ime

कांग्रेसलाई वर्षौदेखि सहयोग गर्दै आएका भट्टचनलाई एमालेले पहिलो नम्बरमा सिफारिस गरेको हो। उनी गत महाधिवेशन अगाडि संगठन विभाग उपप्रमुखमा समेत मनोनयन भएका थिए।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्दै आएका भट्टचनलाई यो पटक पनि पार्टीले प्राथमिकता सूचीमा राख्न नखोजेपछि एमालेसँग नजिकिएका थिए। ‘मैले नेपाली कांग्रेसलाई वर्षौदेखि भ्याएसम्म सहयोग गरेँ। तर कांग्रेसले मलाई प्राथमिकतामा राखेन,’ उनले बिजमाण्डूसँग भने, ‘वर्षौदेखि लागेको पार्टी रोएर बिदा लिएको छु।’

भट्टचन अघिल्लै संघीय चुनावमा समानुपातिकबाट सांसद बन्न चाहेका थिए। त्यो बेलामा समेत उनलाई प्राथमिकता सूचीमा राखिएन। त्यसपछि यो पटकको प्रतिनिधिसभाको निर्वाचनमा बागलुङबाट प्रत्यक्षबाट चुनावमा उठ्ने तयारी थालेका थिए।

व्यवसायिक पृष्ठभूमि भएका भट्टचन राजनीतिमा जाने तीव्र इच्छासहित बागलुङ क्षेत्रमा सामाजिक काममा समेत क्रियाशील थिए। उनी बागलुङ क्षेत्रमा लोकप्रिय समेत छन्। यो सबै पृष्ठभूमिका बाबजुद बागलुङमा प्रत्यक्ष चुनाव लड्ने चाहना समेत गठबन्धनका कारण सम्भव भएन।