हिउँदमा भारतबाट अझै केही वर्ष विद्युत आयात गर्नुपर्ने, ‘ग्रीन हाइड्रोजन उपयुक्त विकल्प’



बिजमाण्डू
२०७९ असोज २४ गते १२:४६ | Oct 10, 2022


हिउँदमा भारतबाट अझै केही वर्ष विद्युत आयात गर्नुपर्ने, ‘ग्रीन हाइड्रोजन उपयुक्त विकल्प’


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले वर्षायाममा उत्पादित विद्युत खेर जाने र हिउँदको समयमा उत्पादन कम भई आयात गर्नुपर्ने अवस्था अझै केही समय रहने बताएकी छन्।

Tata
Global Ime

ग्रीन हाइड्रोजन समिट-२०२२ लाई सोमबार राजधानीमा सम्बोधन गर्दै उनले हिउँदमा आयात गर्नुपर्ने समस्यालाई समाधान गर्न हाइड्रोजन ऊर्जाको उत्पादन उपयुक्त विकल्प भएको बताइन्।

'अहिलेको समयमा हामीले आन्तरिक खपत भएर बढी भएको दैनिक करिब ४०० मेगावाटसम्म विद्युत निर्यात गरिरहेका छौं। दसैंको समयमा आन्तरिक माग कम हुँदा केही विद्युत खेर जाने अवस्थासमेत सिर्जना भयो,' उनले भनिन्, 'हामीले हाइड्रोजन र युरिया मल उत्पादन गर्ने प्लान्टहरु स्थापना गरी तत्कालका लागि वर्षामा खेर जाने विद्युतको खपत गर्न सक्छौं।'

हरित हाइड्रोजनसम्बन्धी यो सम्मेलन हरित हाइड्रोजनसँग मात्र सम्बन्धित भएर यस तहमा गरिएको नेपालको पहिलो सम्मेलन भएको दाबी गरिएको छ। 

हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको छ।

मन्त्री भुसालका अनुसार विभिन्न विकसित मुलुकहरुले यसको उत्पादन र उपयोगको सम्बन्धमा नीति निर्माण गर्ने, प्रविधिको अनुसन्धान र अन्वेषण गर्ने, खपतको क्षेत्र निर्धारण गरी त्यसलाई अन्वेषण र विस्तार गर्ने कार्यमा केन्द्रित भएका छन्। नेपालले पनि यस विषयमा छिट्टै नीति निर्माण गरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार ऊर्जा मन्त्रालयले कार्यदल गठन गरी जलविद्युतको प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्व सम्भाव्यता अध्ययनसमेत गरिसकेको छ। हाइड्रोजन ऊर्जाको विकासको कार्य अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोबल ग्रीन ग्रोथ इन्टिच्युटबीच समझदारी गरिएको छ। 

गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन जलविद्युत आयोजना, प्रसारण एवम् वितरण लाइन तथा सबस्टेसन निर्माणमा विशेष प्राथमिकता दिइएको भुसालको भनाइ छ।

उनका अनुसार जलविद्युतको विकासका लागि सार्वजनिक-निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थित रूपमा आयोजना विकासलाई अघि बढाउने नीति लिइएको छ। हालका वर्षहरुमा नेपालमा जलविद्युत आयोजनाहरुको विकास सन्तोषजनक रुपमा अगाडि बढेको छ।