बुद्ध एयर २५ वर्षमा: एटीआरबाटै पोखरा-नयाँ दिल्ली उडान गर्ने, दैनिक ५ करोडको कारोबार



बिजमाण्डू
२०७९ असोज २४ गते १५:११ | Oct 10, 2022


बुद्ध एयर २५ वर्षमा: एटीआरबाटै पोखरा-नयाँ दिल्ली उडान गर्ने, दैनिक ५ करोडको कारोबार


काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरले २५ वर्ष पुरा गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै कम्पनीको पोखरा-नयाँ दिल्ली उडान गर्ने योजना रहेको प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताएका छन्।

Tata
Global Ime

'पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यवसायिक उडान सुरु भएसँगै हामी दिल्ली सिधा उडान गर्नेछौं। यसका लागि हामी एटीआर-७२ सिरिजको जहाज नै प्रयोग गर्ने सोचमा छौं। भारतको नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएसँगै नियमित उडान सुरु हुनेछ,' उनले भने।

कम्पनीले यात्रु सुरक्षा, जहाज मर्मत सम्भारसँगै राज्यलाई बुझाउनुपर्ने करमा निरन्तर पारदर्शिता कायममा जोड दिँदै जाने उनले बताए। कम्पनीले आफ्नो स्थापनाकालदेखि हाल सम्म करिब डेढ करोड यात्रुलाई सेवा दिएको जनाएको छ।

कम्पनीले २ लाख ६४ हजार ९ सय १८ वटा उडानमार्फत हालसम्म १ करोड ८० लाख ३२ हजार ४ सय ५८ यात्रुलाई सेवा दिएको जनाएको छ। जसमध्ये १ करोड ५१ लाख ४७ हजार ८ सय ९६ नेपाली, साढे १७ लाख भारतीय र सवा लाख अन्य मुलुकका यात्रुलाई सेवा दिएको छ।

कम्पनीले हाल ११ वटा एटीआर-७२, तीन एटीआर-४२ र दुई बिचक्राफ्ट गरी कुल १६ वटा जहाजमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय गरी १५ गन्तव्यमा नियमित उडान सेवा दिँदै आएको छ।

मुलुकको उड्डयन उद्योगमा ५६ प्रतिशत बजार हिस्सा कायम गर्दै आएको कम्पनीले दैनिक अधिकतम पाँच करोड रुपैयाँको कारोबार गर्दै आएको जनाएको छ। कम्पनी अन्तर्गत विभिन्न विभागमा १५ सय कर्मचारी कार्यरत छन्। जसमध्ये पाइलट १ सय ३० जना छन्।